रवि लामिछानेलाई चितवनमा सुरक्षा थ्रेट देखेको प्रहरीले किन रातारात पोखरा पुर्‍यायो? आयोग रिपोर्ट कुर्दै

बिजमाण्डू
२०८१ मंसिर २३ गते १५:२७ | Dec 8, 2024
रवि लामिछानेलाई चितवनमा सुरक्षा थ्रेट देखेको प्रहरीले किन रातारात पोखरा पुर्‍यायो? आयोग रिपोर्ट कुर्दै

काठमाडौं। बुधबार अबेरसम्म जिल्ला सरकारी वकिल कार्यालय चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेको बयान चलेको थियो। बयान सकिँदा रात भइसकेकाले उनलाई त्यहाँबाट पोखरा फ्लाइटमा लग्न सम्भव भएन। त्यसपछि बिहीबार बिहान मात्र लग्ने तयारी भयो।

Tata
GBIME
NLIC

चितवन प्रहरी कार्यालयमा पुगेर लामिछानेलाई खाना खुवाएर राखिएको थियो। करिब साढे ९ बजेतिर प्रहरी कार्यालयले एक्कासि डीएसपीको कमान्डमा चितवनबाट पोखरा लैजाने तयारी थाल्यो। डीएसपी भेषराज रिजाललाई पोखरा पुर्‍याउने जिम्मेवारी दियो।

तयारी गर्दा गर्दै केही समय बितिसकेको थियो। दिनभर चितवनमा रास्वपाले गरेको प्रदर्शनमा खटिएका प्रहरी केही खानासमेत खान भ्याएका थिएनन्। तर, ‘माथिको आदेश’ भन्दै तत्काल नै उनलाई पोखरा लैजानुपर्ने भयो। जसका लागि चितवनका प्रहरी प्रमुख (एसपी) गौतम मिश्र चढ्ने गाडी तयार पारियो।

रवि लामिछानेमाथि राज्यले प्रतिशोध साँधेको भन्दै चितवनमा प्रदर्शन भएको थियो। जसमा प्रदर्शनकारी र प्रहरी समेत घाइते भएका थिए। पोखरा, बुटवल र काठमाडौंमा भन्दा चितवनमा प्रदर्शनकारीको दबाब सुरक्षाकर्मीलाई धेरै परेको थियो। लामिछानेको निर्वाचन क्षेत्र भएकाले पनि चितवनमा प्रदर्शन बढ्ने आकलन सुरक्षा निकायको थियो। उनलाई राख्दा प्रदर्शन बढ्ने थ्रेट प्रहरीले महसुस गरेको थियो।

‘हाम्रो बयान सकियो। त्यसपछि जहाँबाट ल्याएको त्यही लगिएको मात्र हो,’ वाग्मती प्रदेशका प्रहरी प्रमुख कृष्णहरि शर्माले भने।

यता रवि लामिछानेका वकिल र  परिवार र नेता समेतले रातारात पोखरा लग्ने सूचना समेत पाएनन्। अर्थात् प्रहरीले भने कहिले पोखरा लग्ने भन्ने जानकारी दिएको थिएन।

त्यसो त रवि लामिछानेलाई कात्तिक २ गते काठमाडौंबाट पोखरा पनि स्थल मार्गबाट गाडीमा नै लगिएको थियो। करिब ३ बजेतिर मात्र उनलाई पोखरा पुर्‍याएको थियो। त्यतिखेर उनीसँगै उनकी श्रीमती निकिता पौडेल, पार्टीका नेता कार्यकर्ता पनि सँगसँगै पोखरा पुगेका थिए। यस पटक भने कसैले मेसो नै पाएनन्। लामिछानेले चितवनमा नै खाना खाएकाले बिच बाटोमा प्रहरीले खाना खुवाएन।

‘दिसापिसाब गर्न मात्र रोकिएको थियो। हामीसँग केही कुरा पनि गर्नु भएको हो। स्वास्थ्यमा खासै त्यतिखेर समस्या देखिएको थिएन,’ लामिछानेसँगै पोखरा पुगेका एक प्रहरीले सुनाए।

एक प्रहरी कार्यालयबाट अर्को प्रहरी कार्यालयमा पुर्‍याएर कसैलाई पनि हस्तान्तरण गर्दा त्यस्तो व्यक्तिको स्वास्थ्य परीक्षण गरिन्छ। राति पोखरा पुर्‍याएका लामिछानेको पनि स्वास्थ्य परीक्षण गरियो। गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गर्दा लामिछानेलाई उच्च रक्तचाप देखियो। यता बिहानैदेखि रास्वपाले भने त्यसरी रातारात पोखरा पुर्‍याएको विषयमा आवाज उठायो।

सुतिसकेको व्यक्तिलाई आफन्त र वकिललाई समेत थाहा नदिई पोखरा पुर्‍याउनुले मानव अधिकार हनन भएको भन्दै रास्वपाले सरकार र प्रहरी प्रशासनको आलोचना गर्‍यो। समातिएको ४५ दिनमा लामिछानेलाई रुपन्देही, कास्की, काठमाडौं, चितवन पुर्‍याइएको थियो। तर, अरु ठाउँमा दिउँसो र विमानको प्रयोग गरिए पनि चितवनबाट पोखरा लग्दा भने रातिको समयमा गाडी नै प्रयोग गरियो।

आइतबार रास्वपाले राष्ट्रिय मानव अधिकार आयोगमा मानव अधिकार हनन भएको भन्दै उजुरी दिएको छ। उजुरीमा लामिछानेको निजी डायरीसमेत हिरासतबाट नै गायब बनाएको उल्लेख गरिएको छ।

त्यस्तो त रविकी श्रीमती निकिताले पनि मानव अधिकार आयोगमा उजुरी दिएकी थिइन्। त्यसपछि गण्डकी प्रदेश कार्यालयबाट पनि मानवअधिकार आयोगको टोली कास्की प्रहरी हिरासतमा पुगेर रवि लामिछानेको स्वास्थ्य अवस्थादेखि अन्य विषयको जानकारी लिएको थियो।

आयोगले कास्कीबाट रिपोर्ट मागेको छ। कास्कीले पठाएको रिपोर्टअनुसार आयोगले थप प्रक्रिया अगाडि बढाउने आयोगका प्रवक्ता टीकाराम पोखरेलले बताए।

‘हामीले कास्कीसँग रिपोर्ट मागेका छौं। त्यसपछि के गर्ने भन्ने विषय अगाडि बढ्ने छ,’ प्रवक्ता पोखरेलले भने।

लामिछानेलाई आइतबार जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ। अदालतले उनलाई थप ४ दिन हिरासतमा राख्न अनुमति दिएको छ। उनीविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा अनुसन्धान भइरहेको छ।