टिकटक लगायत कम्पनीलाई नेपालमा लगानी गर्न गुरुङको आह्वान, सञ्जाल दर्ता गर्न पुन: ताकेता

बिजमाण्डू
२०८१ मंसिर १८ गते १३:१८ | Dec 3, 2024
टिकटक लगायत कम्पनीलाई नेपालमा लगानी गर्न गुरुङको आह्वान, सञ्जाल दर्ता गर्न पुन: ताकेता

काठमाडौं। सरकारले टिकटकलगायतका अन्तर्राष्ट्रिय तथा बहुराष्ट्रिय कम्पनीहरूलाई नेपालमा लगानीका लागि आह्वान गरेको छ। लगानीका लागि नेपाल पूर्ण सुरक्षित गन्तव्य भएको सन्देश सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले दिएका हुन्।

Tata
GBIME
NLIC

टिकटकले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँगको समन्वयमा आयोजना गरेको डिजिटल सेफ्टी समिटमा बोल्दै सञ्चारमन्त्री गुरुङले नेपाल सरकारले आवश्यक नीतिगत तथा कानुनी सुधारमार्फत लगानीको वातावरणमा सुधार गर्दै लगेकाले वैदेशिक लगानी वृद्धि हुने दाबी गरेका छन्।

सामाजिक सञ्जाल व्यवस्थापन निर्देशिकअनुसार नेपालमा सूचीकरण भएपछि टिकटकले सरकारसँग मिलेर डिजिटल सुरक्षासम्बन्धी सम्मेलन गरेको हो।

‘नेपालमा धेरै सामाजिक सञ्‍जालहरू सञ्‍चालनमा छन्। नेपाल सरकार यस्ता प्लाटफर्महरूको सुरक्षित सञ्‍चालनको लागि सधैं सकारात्मक छ। तथापि नेपालको ऐन, कानुन र कार्यविधि बाहिर गएर सञ्‍चालन हुन नदिने विषयमा समेत सरकार सचेत छ। म सबै सामाजिक सञ्‍जालहरूलाई नेपालमा दर्ता भै सञ्‍चालन गर्न पुन: अवगत गराउन चाहन्छु,’ गुरुङले भने, ‘सरकार निजी क्षेत्र तथा बहुराष्ट्रिय कम्पनीहरूको सुरक्षित, नियमित र प्रभावकारी सञ्‍चालनमा पूर्ण प्रतिबद्ध छ। तपाईंहरूले यो क्षेत्रमा गर्ने लगानीको प्रतिफलको सुनिश्‍चितता सरकारले गर्छ।’

सञ्चार मन्त्रालयले टिकटकले दर्ता हुन दिएको निवेदन तिहाअघि नै नेपालमा दर्ता भएको थियो।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्याल काठमाडौंमा मन्त्रालय र टिकटकद्वारा संयुक्त रुपमा आयोजित ‘डिजिटल सेफ्टी समिट नेपाल’ कार्यक्रममा मन्तव्य राख्दै । तस्बिरः किरणराज विष्ट/रासस

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको तत्कालीन सरकारले सामाजिक सद्भाव बिथोलेको भन्दै २०८० कात्तिक २७ गतेदेखि चिनियाँ भिडियो सेयरिङ प्लाटफर्म टिकटकमा लगाएको प्रतिबन्ध मन्त्रिपरिषद्‍ले गत भदौ ६ गते हटाउने निर्णय गरेको थियो। सर्त मान्न तयार भएपछि टिकटक भदौ २० गतेदेखि चल्न थालेको थियो। सर्तअनुसार नै टिकटकले सरकारसँग मिलेर डिजिटल सुरक्षासम्बन्धी कार्यक्रम आयोजना गरेको बुझिएको छ।

यसअघि नेपालमा भाइबर र ह्वीटक दर्ता भइसकेका छन्। सञ्चार मन्त्रालयले फेसबुकको माउ कम्पनी मेटा, एक्स, टेलिग्रामलगायत सामाजिक सञ्जालहरुलाई दर्ता प्रक्रिया अघि बढाउन पत्राचार गरिसकेको भएपनि अझै दर्ता भइसकेका छैनन्।