किंग्स भर्सेस बोल्ट्स : पहिलो इनिङमा गप्टिलको अर्धशतक, ललितले लिए ३ विकेट (तस्वीरहरू)

प्रवीण रानाभाट
२०८१ मंसिर १५ गते १४:३६ | Nov 30, 2024
किंग्स भर्सेस बोल्ट्स : पहिलो इनिङमा गप्टिलको अर्धशतक, ललितले लिए ३ विकेट (तस्वीरहरू)

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)को उद्घाटन खेलमा विराटनगर किंग्सले जनकपुर बोल्ट्स सामू १ सय २८ रनको सामान्य लक्ष्य प्रस्तुत गर्‍यो। टस हारेर ब्याटिङमा उत्रिएको विराटनगरले अन्तिम ओभर बाँकी छँदै १२७ रन बनाएर अलआउट भयो।

Tata
GBIME
NLIC

कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको विराटनगरको सुरुवात बलियो रहेन।

१.१ ओभरमा ५ रन बनाएका ओपनर लोकेश बम ललित नारायण राजवंशीको बलमा बोल्डआउट भए। अर्का ओपनर मार्टिन गप्टिलले इनिङ्स माथि लैजान भरपुर प्रयत्न गरिरहँदा अर्को इण्डबाट उनलाई बलियो साथ मिलेन।

तेस्रो नम्बरमा आएका अक्विब इल्यास ८.२ ओभरमा मोहम्मद मोसिनको बलमा एलबीडब्लु आउट भए। ओमन राष्ट्रिय टोलीका कप्तानसमेत रहेका इल्यासले १८ बलमा १५ रन बनाए।

त्यस्तै निकोलस किर्टनले पनि विराटनगरको इनिङ्स अघि बढाउन गप्टिलसँग साझेदारी गर्न सकेनन्। उनी १३ बलमा ९ रन बनाएर हर्ष थाकरको बलमा बोल्डआउट भए।

एनपीएलमा पहिलो अर्धशतक बनाएका गप्टिल १३.६ ओभरमा आउट भए। उनी हर्ष ठाकरको बलमा अनिलकुमार साहबाट क्याचआउट हुनु अघि ४३ बलमा ७ चौका र १ छक्काको सहायतामा ५५ रन बनाए।

उनीपछि आएका ब्याटरहरूको उल्लेखनीय प्रदर्शन रहेन। राजेश पुलामी एक रन बनाएर रन आउट हुँदा प्रतिश जिसी २ रन बनाएर ललितको बलमा बोल्डआउट भए। त्यस्तै, ७ रन बनाएका बसीर अहमद १६.३ ओभरमा ललितको बलमा अनिलकुमार साहबाट क्याचआउट भए।

विराटनगरका कप्तान सन्दीप लामिछानेले पनि ब्याटिङमा योगदान दिन सकेनन्। ३ बलमा ७ रन बनाउँदै उनी १७.३ ओभरमा किशोर महतोको बलमा अरनिको यादवबाट क्याचआउट भए। लगत्तै अर्को बलमा जितेन्द्र मुखिया बोल्डआउट भए।

बलिङतर्फ जनकपुरका ललित राजवंशीले सर्वाधिक ३ विकेट लिँदा किशोर महतो र हर्ष ठाकरले समान २ तथा बेन माइक र मोहम्मद मोइसिनले समान १ विकेट लिए।