सय करोड ब्राण्ड लक्ष्यको एनपीएल सुरु, यस्ता छन् त्रिवि क्रिकेट मैदानमा आजका दृश्य (तस्वीरहरु)

प्रवीण रानाभाट, मुकुन्द घिमिरे
२०८१ मंसिर १५ गते १३:४१ | Nov 30, 2024
सय करोड ब्राण्ड लक्ष्यको एनपीएल सुरु, यस्ता छन् त्रिवि क्रिकेट मैदानमा आजका दृश्य (तस्वीरहरु)

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) आजबाट सुरु भएको छ। ८ टोली सहभागी प्रतियोगिताको उद्घाटन खेलमा सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर किंग्स र अनिलकुमार साहको कप्तानीमा रहेको जनकपुर बोल्ट्स मैदानमा छन्।

Tata
GBIME
NLIC

जारी खेलमा टस जितेर जनकपुरले पहिला फिल्डिङ गरिरहेको छ। खेल सवा १२ बजे सुरु हुने तालिका रहेको भए पनि केही ढिलाइ गरी सुरु भएको हो।

जनकपुर बोल्टसको मार्की खेलाडी आशिफ शेख हुन्। यद्यपि, यो टोली अनिलकुमार साहको कप्तानीमा मैदान छ। त्यस्तै विराटनगर किंग्स मार्की खेलाडीसमेत रहेका सन्दीप लामिछानेको कप्तानीमा मैदान उत्रिएको छ।

यो प्रतियोगिता खेल्न विभिन्न देशका हाइ प्रोफाइल खेलाडीहरू नेपाल आइसकेका छन्। नेपाल आउने हाइ प्रोफाइल खेलाडीमा भारतका शिखर धवन, न्युजिल्याण्डमा मार्टिन गुप्टिल, पाकिस्तानका सोहिल तान्विर, न्युजिल्याण्डका जिम्मी निशम, इङ्ग्ल्याण्डका रवि भोपाराजस्ता टेस्ट राष्ट्रका खेलाडी छन्।

त्यस्तै, एसोसिएट राष्ट्रबाट प्रभावशाली प्रदर्शन गर्दै आएका गेर्राड इरास्मस्स, बस डी लिडे, अक्विब इल्यास, जेसन मक्सुदजस्ता प्रभाशाली खेलाडी पनि नेपालमा छन्।

शनिबार बिहानैबाट टीयू मैदानमा समर्थकहरूको बाक्लो उपस्थिति थियो। खेल सुरु हुनुअघि ‘जोन २’ को गेटबाट जबरजस्ती घुस्न खोजेपछि स्थिति तनावपूर्ण बनेको छ। यसक्रममा प्रहरीले लाठ्ठीचार्जसमेत गरेको छ।

एनपीएलका सबै खेलको प्रत्यक्ष प्रसारण स्टार स्पोर्ट्सले गर्नेछ भने नेपालका एक्सन स्पोर्ट्सको युट्युव च्यानलबाट पनि खेल हेर्न सकिनेछ।

क्यानले यो लिगलाई सय करोडको ब्राण्ड बनाउने लक्ष्यका साथ काम गरिरहेको जनाएको छ। यसका लागि नेपालका सञ्चार, निर्माण, बैंकिङ, अटोमोबाइल, दूरसञ्चार, हेल्थ केयरलगायतका विभिन्न क्षेत्रहरु जोडिएका छन्।

एनपीएलको विजेता टोलीले १ करोड ११ रुपैयाँ पाउने भएको छ। त्यस्तै, उपविजेता टोलीले ५० लाख रुपैयाँ हात पार्नेछ। त्यस्तै तेस्रो र चौथो हुने टोलीले क्रमशः ३० लाख र २० लाख हात पार्नेछ। यसरी एनपीएलको शीर्ष चारमा रहने टोलीमै क्यानको २ करोड ११ लाख रुपैयाँ पुरस्कारमा जानेछन्।