सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा ४ जनाको आवेदन स्वीकृत, प्रतिस्पर्धामा को-को?

बिजमाण्डू
२०८१ मंसिर १४ गते १७:०७ | Nov 29, 2024
सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा ४ जनाको आवेदन स्वीकृत, प्रतिस्पर्धामा को-को?

काठमाडौं। सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदमा ४ जनाको आवेदन स्वीकृत भएको छ। सिफारिस समितिले योग्यता पुगेका र कार्यविधिमा तोकिएको सर्त पूरा गरेका ४ जनाको आवेदन स्वीकृत गरेको हो।

Tata
GBIME
NLIC

धनुषाका अनुप बाँस्कोटा, काठमाडौंको टोखाका डा. दामोदर रेग्मी, मोरङका देवराज ढुंगाना र भक्तपुरका सुरेशकुमार कार्कीको आवेदन स्वीकृत गरेको समितिले जनाएको छ। रेग्मी पूर्वसचिव तथा कार्की रेडियो नेपालका पूर्वकार्यकारी निर्देशक हुन्।

समितिले मंसिर ३ गते आवेदन मागेको थियो। आवेदन बुझाउन १२ गतेसम्मको समय थियो।

केन्द्रको कार्यकारी निर्देशक पदका लागि कम्तीमा ३० वर्ष उमेर पूरा भएको तथा मान्यताप्राप्त विश्वविद्यालयबाट कम्प्युटर इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ, इलेक्ट्रोनिक्स इन्जिनियरिङ, मेकानिकल इन्जिनियरिङ, सूचना प्रविधि वा व्यवस्थापन विषयमा स्नातकोत्तर उपाधि हासिल गरेको हुनुपर्ने शैक्षिक योग्यता तोकिएको छ।

सरकारी सेवामा सहसचिव वा सो सरह वा सोभन्दा माथि वा सार्वजनिक संगठित संस्था वा निकायमा दशौं तह वा सोभन्दा माथि वा कानुन बमोजिम दर्ता भएको वा कम्पनी/संस्थामा कार्यकारी निर्देशक वा प्रबन्ध निर्देशक वा सोभन्दा माथिको कार्यकारी पदमा रही कम्तीमा पाँच वर्ष काम गरेको हुनुपर्ने अनुभव तोकिएको थियो।

समितिले अब व्यावसायिक कार्ययोजना, प्रस्तुतीकरण र अन्तर्वार्ताको मूल्यांकनका आधारमा नियुक्तिका लागि सिफारिस गर्नेछ। तर, त्यसको मिति तोकिएको छैन।