काठमाडौं। नास आइटी अवार्ड्स २०२४ मा विभिन्न विधामा भाग लिएका कम्पनीहरुमध्ये चारवटा नेपालको प्रतिनिधित्व गर्दै एशिया प्यासिफिक आइसीटी अलायन्स (एपिक्टा) अवार्ड्समा भाग लिन ब्रुनाई जाने भएका छन्।
मंसिर १९ देखि २२ गतेसम्म ब्रुनाईमा आयोजना हुने कार्यक्रममा नेपाली कम्पनीहरुको प्रतिनिधित्वले नेपालको सूचना प्रविधि समुदायलाई विश्वमाझ चिनाउन मद्दत पुग्ने विश्वास गरिएको छ।
एपिक्टा अवार्ड्स एशिया-प्यासिफिक क्षेत्रभरिका प्राविधिक उत्कृष्ट र नवाचारलाई सम्मान गर्ने एक विश्वव्यापी मान्यता प्राप्त मञ्च हो।
यस वर्ष एपिक्टा अवार्ड्समा नेपालसहित अस्ट्रेलिया, बंगलादेश, ब्रुनाई, चीन, ताइपे, हङकङ, इन्डोनेसिया, जापान, मकाओ, मलेसिया, म्यानमार, पाकिस्तान, सिंगापुर, श्रीलंका, थाइल्यान्ड र भियतनामका विभिन्न कम्पनीहरुबीच प्रतिस्पर्धा हुनेछ।
एपिक्टा अवार्ड्समा नेपालका चार कम्पनीहरु आइएमएस पीओएस म्यानेजमेन्ट (आइएमएस सफ्टवेयर प्रालि), इलारा कम्प्लायन्स म्यानेजमेन्ट सिस्टम (त्रिलोक्य टेक्नोलोजी प्रालि), इकागजपत्र (इकागजपत्र प्रालि) र एलएमसी एलर्ट (अलपास टेक्नोलोजी प्रालि) सहभागी हुँदैछन्।