इभीप्रतिको क्रेजले उपत्यकामा पेट्रोलको व्यापारमा गिरावट, ठूला पम्पको बिक्री साढे २६% सम्म घट्यो

शुक्र गिरी
२०८१ कात्तिक २७ गते १३:११ | Nov 12, 2024
इभीप्रतिको क्रेजले उपत्यकामा पेट्रोलको व्यापारमा गिरावट, ठूला पम्पको बिक्री साढे २६% सम्म घट्यो

काठमाडौं। विद्युतीय सवारीसाधन (इभी)प्रति आकर्षण बढेसँगै पेट्रोलियम पदार्थको व्यापारमा गिरावट आएको छ। काठमाडौं उपत्यकामा पेट्रोलको खपत ८.२५ प्रतिशत घटेको छ।

Tata
GBIME
NLIC

थानकोट डिपोको बिक्रीका आधारमा उपत्यकाका पम्पहरुमा पेट्रोलको व्यापार घटेको हो। काठमाडौं उपत्यकाका पम्पमा थानकोट डिपोबाट पेट्रोल बिक्री हुन्छ।

भन्सार विभागको तथ्यांक अनुसार चालु आवको तीन महिनामा गत वर्षको सोही अवधिको तुलनामा पेट्रोलको आयात १२ प्रतिशतले बढ्दा उपत्यकामा भने खपत भने घटेको हो।

चालु आवको तीन महिनामा काठमाडौं उपत्यकामा ५१ हजार ५९० किलोलिटर पेट्रोल खपत भएको छ। जुन गत वर्षको तुलनामा ८.२५ प्रतिशतसम्मले खपत घटेको छ। गत वर्ष पहिलो तीन महिनामा उपत्यकामा ५६ हजार २३१ किलोलिटर पेट्रोल खपत भएको थियो।

काठमाडौं उपत्यकामा पेट्रोलको खपत घटेको पोहोरदेखि नै हो। आर्थिक वर्ष २०७९/८० मा उपत्यकामा २ लाख २६ हजार ४७० किलोलिटर पेट्रोल खपत भएकामा गत आर्थिक वर्ष २ लाख २३ हजार ५१४ किलोलिटर बिक्री भएको थियो।

यस्तो छ उपत्यकाका पम्पहरुको व्यापार

काठमाडौं उपत्यका रहेका प्राय: सबै पम्पमा पेट्रोलको व्यापार घटेको छ। उपत्यकामा रिपु मर्दिनी पेट्रोल स्टेसन, साझा सेवा सहकारी संस्था, भक्तपुर फ्युल सेन्टर, प्रहरी कल्यान कोष पेट्रोल पम्प, खड्का आयल सप्लायर्स र महालक्ष्मी फ्युल सेन्टर सामाखुसीले धेरै पेट्रोलियम पदार्थ बिक्री गर्ने गरेकोमा सबैजसोको बिक्री घटेको छ।

नेपाली सेनाले काठमाडौंको भद्रकालीमा सञ्चालन गरिरहेको रिपुमर्दिनी पेट्रोल स्टेसनको खपत २६.४४ प्रतिशतले घटेको छ। यो पम्पले चालु आव साउनदेखि असोजसम्म १४ लाख २८३ लिटर पेट्रोल बिक्री गरेको छ। जबकि पोहोर पहिलो तीन महिनामा पम्पले १९ लाख ३ हजार ८१८ लिटर पेट्रोल बेचेको थियो।

यसैगरी साझा सेवा सहकारी संस्थाको पम्पमा पनि पेट्रोलको बिक्री घटेको छ। संस्थाको पम्पले पोहोर तीन महिनामा १६ लाख ४४ हजार २२७ लिटर पेट्रोल बिक्री गरेकामा यो वर्ष सोही अवधिमा १६ लाख २२ हजार ४४ लिटर बेचेको छ।

इभीको हिस्सा बढ्दा घट्यो पेट्रोलको खपत

नेपाली अटो बजारमा अहिले इभीको हिस्सा बढ्दै गइरहेको छ। पोहोरदेखि इभीको आयात उल्लेख्य बढेको छ। वार्षिक १० हजारभन्दा बढी इभी आयात हुन थालेका छन्। विद्युतीय कारमध्ये ६० प्रतिशतभन्दा धेरै उपत्यकामा नै बिक्री हुने गरेका कारण यहाँ पेट्रोलको खपत घटेको हो।

पेट्रोलियम व्यवसायीहरु पनि इभीकै कारण उपत्यकामा पेट्रोलको खपत घटेको बताउँछन्। नेपाल पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष नारद भण्डारी उपत्यकामा पेट्रोलको खपत घट्नुको मुख्य कारण इभीको प्रयोग बढ्नुलाई मान्छन्।

‘हामीले यो वर्षदेखि पेट्रोलको खपतलाई नजिकबाट हेरिरहेका छौं। विद्युतीय गाडीको आयात बढेसँगै पेट्रोलको खपत घट्न थालेको छ,’ भण्डारीले भने, ‘पेट्रोल डिजल जस्तो औद्योगिक क्षेत्रमा प्रयोग हुने होइन। इन्धन प्यासेन्जर सवारीको हिस्सा घटिरहेको छ। इन्धन सवारीको रिप्लेसमा नयाँ इभी आएका छन्। त्यसैले त पेट्रोलको खपत घटेको हो नि।’

गत वर्ष करिब ११ हजार इभी नेपाली बजारमा भित्रिएकामा १० हजार युनिट प्यासेन्जर निजी सवारी थिए। यो वर्ष तीन महिनामा २५ सयभन्दा धेरै विद्युतीय कार, जीप र भ्यान आयात भएका छन्। पेट्रोल इन्जिन भएका सवारी साधनलाई इभीले विस्तारै विस्थापित गरिरहेका छन्।

बागमती पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष अचुत खड्का पनि उपत्यकामा इभीको प्रयोग बढेकाले पेट्रोललको खपत घटेको बताउँछन्।

‘हाम्रोमा इभीको प्रयोग राम्रैसँग बढेको पाइन्छ। त्यसले पेट्रोलियम सवारी साधनलाई विस्तारै विस्तापित गर्दै गइरहेको छ। त्यसैले अहिलेभन्दा पनि आगामी दिनमा झन पेट्रोलको खपत घट्दै जानेछ,’ उनले भने।

नेपाल आयल निगमका प्रवक्ता पूर्णप्रसाद रिजाल भने पेट्रोलको खपत घट्नुमा इभी मात्र कारण नभएको बताउँछन्। ‘केही हदसम्म इभीले पेट्रोलको खपत घटाएको हो। तर प्रमुख कारण इभी होइन। आर्थिक शिथिलता मुख्य कारण हो,’ उनले भने।