काठमाडौं। हायर पर्चेज कर्जाको ब्याजदर ३२ महिनायताकै न्यून विन्दुमा झरेको छ। २०७८ पुसमा १०.०३ प्रतिशत रहेको यस्तो कर्जाको ब्याजदर बढेर २०७९ फागुनमा १३.७१ प्रतिशतसम्म पुगेकामा अहिले १०.०९ प्रतिशतमा झरेको हो।
ब्याजदर साढे ३ प्रतिशत विन्दुले घट्दा पनि यस क्षेत्रमा जाने कर्जा खासै बढ्न सकेको छैन।
पोहोर साउनसम्म बैंकहरुले यस क्षेत्रमा १ खर्ब ११ अर्ब ७३ करोड रुपैयाँ कर्जा प्रवाह गरेकामा २०८१ भदौमा आइपुग्दा १ खर्ब ७ अर्ब ९९ करोडमा खुम्चिएको छ। पछिल्लो एक वर्षमा यस क्षेत्रमा जाने कर्जा ३ अर्ब ७४ करोड रुपैयाँले खुम्चिएकामा चालु वर्षको दुई महिनामा भने १ अर्ब १४ करोडले बढेको छ।
नेपाल राष्ट्र बैंकले लिएको लचिलो नीति र बैंकहरुले ल्याएको सस्तो ब्याजदरको स्किमका कारण कर्जा बढ्न थालेपनि अपेक्षाजनक नदेखिएको बैंकरहरु बताउँछन्।
२०८१ जेठमा राष्ट्र बैंकले हायर पर्चेज कर्जाको जोखिम भार १२५ बाट १०० प्रतिशतमा झारेको थियो। केन्द्रीय बैंकले लचिलो नीति लिएपछि बैंक तथा वित्तीय संस्थाहरुले एकल अंकको स्थिर ब्याजदरको स्किम ल्याएपनि खासै उत्साह नदेखिएको बैंकरहरुको भनाइ छ।
नेपाल बैंकका सीइओ तिलकराज पाण्डे सस्तो ब्याजदरको स्किमले कर्जा केही बढेपनि अपेक्षाजनक नरहेको बताउँछन्। ‘बैंकहरुमा पर्याप्त तरलता छ। त्यही कारण ब्याजदर घटिरहेको छ हायर पर्चेज कर्जा जुन रुपमा जाने सोचेका थियौं त्यो अनुसार गएको छैन,’ उनले भने।
नेपाल बैंकले ७ वर्ष अवधिको अटो कर्जा ७.७८ प्रतिशत ब्याजदर दिइरहेको छ। एनएमबि बैंकले अटो कर्जा ८.८९ र कुमारी बैंकले ८.९९ प्रतिशतमा अटो कर्जा दिंदै आएका छन्।
चालु आवको पछिल्लो दुई महिनामा बैंकहरुबाट ५४ अर्ब ७५ करोड रुपैयाँ कर्जा प्रवाह हुँदा हायर पर्चेजमा जम्मा १ अर्ब १४ करोड रुपैयाँ गएको हो।