भुटानले जोड्न खोजेको विश्व, हिमालयको फेदमा तयार पार्दैछ ‘गेलेफु इकोनोमिक हब’

हेम रोकाहा
२०८१ कात्तिक २३ गते ०६:३३ | Nov 8, 2024
भुटानले जोड्न खोजेको विश्व, हिमालयको फेदमा तयार पार्दैछ ‘गेलेफु इकोनोमिक हब’

सन् २०२३ को डिसेम्बरमा ११६औं राष्ट्रिय दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भुटानका राजा जिग्मे खेसर नामग्येल वाङचुकले भनेका थिए, ‘आउनुहोस्, हामी एक लेगेसी निर्माण गरौं जसले भुटानीहरूलाई आगामी ५०० वर्षसम्म फाइदा पुर्‍याउनेछ। के तपाईंहरू म सँग यो जिम्मेवारी लिन तयार हुनुहुन्छ?’

Tata
GBIME
NLIC

त्यहाँ जम्मा भएका करिब ३० हजार भुटानीहरूले एकसाथ भनेका थिए – तयार छौं।

४४ वर्षीय राजा वाङचुकले उक्त कार्यक्रममा गेलेफु माइन्डफुलनेस सिटी बनाउने घोषणा गरेका थियो। उनले हजारौं भुटानी, हाई-प्रोफाइल अन्तर्राष्ट्रिय उद्योगपति र उद्यमीहरूलाई एक ठाउँमा ल्याएर गेलेफुलाई एक इकोनोमिक हब बनाउने योजना सुनाउँदा भुटानीहरू निकै खुसी भएका थिए।

भुटान त्यही देश हो जुन ग्रस नेसनल ह्याप्पिनेस (जीएनएच) को अवधारणा सिर्जना गर्नका लागि प्रख्यात छ। भुटान पहिलो कार्बन नेगेटिभ देशको रूपमा पनि विश्व प्रसिद्ध छ।

के हो गेलेफु इकोनोमिक हब?

गेलेफुको १ हजार वर्ग किलोमिटर अर्थात २ लाख ५० हजार एकर क्षेत्रफलमा विशेष प्रशासनिक क्षेत्र निर्माण गर्ने भुटानका राजाले घोषणा गरेका छन्। गेलेफु माइन्डफुलनेस सिटीले भुटानको कुल क्षेत्रफलको २.५ प्रतिशत ओगट्नेछ।

गेलेफु माइन्डफुलनेस सिटी बनाउने घोषणा गर्दै राजा वाङचुक।

यसलाई दक्षिण र दक्षिण-पूर्वी एसियाको विकासलाई जोड्ने इकोनोमिक करिडोरको रुपमा विकास गरिने राजा वाङचुकको योजना छ। यसबाट भुटानले ठूलो फाइदा लिन सक्ने आकलन गरिएको छ।

विश्व बैंकका अनुसार सन् २००० देखि २०१८ को बीचमा दक्षिण र दक्षिण-पूर्वी एसियाबीचको व्यापार ९ गुणा बढ्दै ३८ अर्ब डलरबाट बढेर साढे ३ खर्ब डलर पुगेको छ। भुटानले गेलेफुमार्फत आसाम र उत्तरपूर्वी भारत हुँदै म्यानमार, थाइल्याण्ड, कम्बोडिया, लाओस, भियतनाम, मलेसिया र सिंगापुरलाई जोडेर ठूलो फाइदा लिन सक्ने सम्भावना देखिएको छ।

गेलेफुलाई ‘एक जीवन्त आर्थिक हब बनाउने’ राजा वाङचुकको योजना छ। त्यसैअनुसार उनले कार्यकारी स्वायत्तता र लगानीमैत्री कानुनीसहितको विशेष प्रशासनिक क्षेत्रको स्थापना गर्ने घोषणा गरेका हुन्। तर गेलेफु अधिकांश विशेष आर्थिक क्षेत्रहरूभन्दा अलग रहनेछ।

‘अन्यत्र कयौँ आर्थिक केन्द्रहरू छन् जसले अनुकूल व्यापारिक वातावरण र आकर्षक प्रोत्साहनहरू प्रदान गरेर विदेशी लगानीलाई आकर्षित गर्छन्। भुटानको आर्थिक हबले ती सबै कुरा त दिन्छ नै त्यसमा थप सुविधाहरू पनि दिनेछ,’ राजाले घोषणा गरे, ‘यो एक छुट्टै किसिमको हुनेछ, जुन जीएनएचको दर्शन र मूल्यहरूमा आधारित हुनेछ। यो बौद्ध आध्यात्मिक सम्पदाबाट प्रेरित, भुटानी पहिचानको विशिष्टताद्वारा प्रतिष्ठित, चेतनशील र दिगो व्यवसायहरू समेट्ने माइन्डफुलनेस सिटी हुनेछ।’

सहरमा बन्ने एक संरचनाको गुरुयोजना।

गेलेफु अन्य विशेष आर्थिक क्षेत्रहरूभन्दा यसकारण पनि फरक हुनेछ किनकी यसले भुटानी जीवन शैली, दिगो र समतामूलक विकास र सार्वभौमसत्तालाई व्यवसायहरूले गर्ने सम्मानका आधारमा उनीहरूलाई आमन्त्रित गर्नेछ। द भुटानीज पत्रिकाका अनुसार कम्पनीहरूले गेलेफु विशेष प्रशासनिक क्षेत्रमा बायोसाइन्स, डाटा सेन्टर, शिक्षा र ऊर्जासम्बन्धी प्रयासहरूका लागि चासो देखाएका छन्।

भुटानी संस्कृति र मूल्यमान्यताहरूको संरक्षण सुनिश्चित गर्न गेलेफुमा आउने कम्पनी तथा व्यक्तिहरूले कठोर ‘स्क्रिनिङ’ प्रक्रिया पार गर्नु पर्नेछ। निमन्त्रणा पाएका निश्चित व्यावसायहरूमात्रै आउने भएकाले भुटानलाई देशको हित र मूल्यमान्यताहरूसँग मिल्ने व्यवसायहरू छनोट गर्न सहज हुनेछ।

कार्बन-न्युट्रल सहरको रूपमा स्थापित हुने गेलेफुले प्रदूषण नगर्ने उद्योगहरू (मुख्यतया आईटी, शिक्षा, होटल र अस्पताल क्षेत्रहरू)लाई मात्र समावेश गर्नेछ। यसलाई लगानीको गन्तव्य तथा हेल्थ एन्ड वेलनेस सेन्टरको रूपमा प्रवर्धन गरिनेछ।

त्यस अर्थमा पनि यो साउदी अरेबियाको निओम र इन्डोनेसियाको नुसान्तारा जस्ता योजनाबद्ध सहरहरू तथा दुबई, हङकङ र सिङ्गापुर जस्ता सिसाका गगनचुम्बी भवनहरू भएका वित्तीय केन्द्रहरू जस्तै नयाँ विश्वव्यापी सहर बन्नेछ। यो म्यानमारसँग कनेक्टिभिटीका लागि भारतको ‘एक्ट ईस्ट’ योजनाहरू र दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको संघ र इन्डो-प्यासिफिक क्षेत्रका साथै भारतको बंगालको खाडी हुँदै हिन्द महासागरसम्मको उत्तर-पूर्वी राज्यहरूबीचको नयाँ भारत-जापान कनेक्टिभिटी योजनाहरूको क्रसरोडमै अवस्थित रहनेछ।

सडक, पुल र विमानस्थल जस्ता सार्वजनिक पूर्वाधारमा महत्त्वपूर्ण लगानी आवश्यक पर्ने गरी यो परियोजनाले सम्पूर्ण देशलाई नै पर्याप्त लाभ पुर्‍याउने अपेक्षा गरिएको छ।

आर्थिक गतिविधिको वृद्धिले वस्तु र सेवाहरूको माग सिर्जना गर्दै निजी क्षेत्रका लागि अवसरहरू निर्माण हुने अनुमान गरिएको छ। विदेशी प्रत्यक्ष लगानी (एफडीआई)ले अन्तर्राष्ट्रियस्तरको तलब स्केल र उन्नत प्रविधि तथा सीपहरूमा पहुँच प्रदान गर्दै युवाहरूका लागि थप रोजगारीका अवसरहरू सिर्जना गर्ने अपेक्षा गरिएको छ।

गेलेफु परियोजनामार्फत ऊर्जा, कनेक्टिभिटी र सीप गरी तीनवटा प्रमुख क्षेत्रहरूमा एकीकृत विकास हुनेछ। जलविद्युतले प्रतिस्पर्धात्मक क्षेत्रीय मूल्य निर्धारण प्रणालीमार्फत लगानी आकर्षित गर्नेछ। वायु, थर्मल र सौर्य जस्ता अन्य ऊर्जा स्रोतहरूको पनि उपयोग गरिनेछ। डिजिटल पूर्वाधार विकास र गेलेफुमा अन्तर्राष्ट्रिय विमानस्थलले कनेक्टिभिटीमा सुधार गर्नेछ। यस परियोजनाले भुटानीहरूको सीप वृद्धि गर्नेछ भने विदेशी दक्ष कामदार भित्र्याउनेछ।

यो माइन्डफुलनेस सिटी दक्षिणी हिमालयको फेदमा बन्नेछ। परिकल्पित यातायात पूर्वाधार निर्माण पूरा भएपछि हजार वर्ग किलोमिटरमा फैलिएको विशाल समतल भूमि गेलेफु थप पहुँचयोग्य हुनेछ। यस्तोमा भारत सरकारले सीमावर्ती सहरहरूलाई रेलमार्गले जोड्ने र भुटान जाने प्रमुख सडकहरूको विकास र सुधार गर्ने प्रतिबद्धता जनाएको छ।

ड्यामको गुरूयोजना।

डेनमार्कका शिर्ष सस्टेनेबिलिटी आर्किटेक्ट ब्यार्क इन्गल्सले बेलायती कम्पनी अरुप र अस्ट्रेलियाको कम्पनी सिस्ट्रीसँगको सहकार्यमा माइन्डफुलनेस सिटीको गुरूयोजना डिजाइन गरेका हुन्। गुरूयोजनाले भूटानी संस्कृतिलाई वास्तुकलामा भरेको छ भने उर्भर भूमि, वन्यजन्तु आरक्षण र सम्पदाको संरक्षणलाई पनि समेटेको छ। वातावरणमैत्री सहरमा संरचनाहरू रुखभन्दा अग्लो हुने छैनन्। आरक्षण तथा उर्भर भूमि नजिक न्यून संख्यामा प्रायः आवासीय संरचनाहरू बन्नेछन्। र धेरैजसो संरचनाहरू केन्द्रहरूमा निर्माण हुनेछन्।

सनकोश नदीमा बन्ने टेम्पल-ड्याम यो गुरूयोजनाको मुख्य विशेषता हो। इन्गल्सले बाँधलाई ‘सहरका आधारभूत मूल्यहरूलाई क्यास्केडिङ ल्यान्डस्केपमा इम्बेड गरिने’ संरचना भनेर वर्णन गरेका छन्। यो एक रन-अफ-रिभर जलविद्युत् परियोजना हुनेछ, जसले न्यूनतम अवरोध र विस्थापन गर्नेछ।

सहरले धार्मिक तथा आध्यात्मिक पर्यटनलाई व्यवस्थित र सुदृढ गर्नेछ। भुटानले अहिलेसम्म आफूलाई सांस्कृतिक र साहसिक गन्तव्यको रूपमा मार्केटिङ गरिरहेको छ।

पर्यटन नीति परिवर्तन गर्नुअघि २०१९ मा ७६ हजार ९८३ पर्यटकमध्ये ६३ हजार जना सांस्कृतिक पर्यटक थिए। तीमध्ये १ हजार जना मात्रै विशेष नृत्य महोत्सवका लागि आएका थिए भने ४०० जनाले ध्यानका लागि भ्रमण गरेका थिए।

यस परियोजनाले अस्ट्रेलिया जस्ता देशहरूमा हजारौंको संख्यामा भइरहेको भुटानीहरूको आप्रवासनलाई घटाउने लक्ष्य राखेको छ। थिम्पु, पारो र फुएन्शोलिङका सहरी केन्द्रहरूमा जनघनत्व चरम विन्दुमा पुगेका छन्। जसकारण त्यहाँको विकास अघि नबढ्दा आशा र सपनाहरू पनि ठप्प भएका छन्।

गेलेफु माइन्डफुलनेस सिटीले भुटानीहरूमा पुनः आशा भर्ने अपेक्षा गरिएको छ। बाह्य अनुदान, जलविद्युत् र पर्यटनप्रतिको परनिर्भरताबाट मुक्त भएको भुटान गत डिसेम्बरमा मध्यम आय भएको देश बन्न सफल भयो। यससँगै नयाँ परिकल्पना गरिएको सहरले दिगो समृद्धि दिने आशा गरिएको छ।

पूर्वराजा जिग्मे सिङ्ग्ये वाङचुकले जनतालाई उपहारको रुपमा अधिकार सुम्पेपछि भुटान प्रजातन्त्रमा परिणत भएको थियो। जुन भुटानी जनताले मागेका भने होइनन्। १६ वर्ष बितिसक्दा पनि भुटानीहरूले सम्भव भए राजतन्त्रकै पक्षमा मत दिने कुरा गर्छन्। प्रधानमन्त्रीले प्रस्तुत गरेकाभन्दा राजाले तोकेका लक्ष्य उनी पछ्याउँछन्। भुटानीहरूले फामा (अभिभावक) भनेर चिनिने राजाहरूलाई आफ्नै परिवारको सदस्यको रूपमा हेर्ने गरेका छन्। त्यसैले राजाले नेतृत्व गरेका सबै परियोजनाहरू सफल हुने गरेका छन्।