सांग्रिला होटल्स ग्रुपका तीनवटा लक्जरी रिसोर्ट सञ्चालनको तयारी, धमाधम कर्मचारी भर्ना गरिंदै

वसन्तराज उप्रेती
२०८१ कात्तिक २० गते १५:१३ | Nov 5, 2024
सांग्रिला होटल्स ग्रुपका तीनवटा लक्जरी रिसोर्ट सञ्चालनको तयारी, धमाधम कर्मचारी भर्ना गरिंदै

काठमाडौं। सांग्रिला होटल्स एण्ड रिसोर्ट्स ग्रुप अन्तर्गत तीनवटा आइकोनिक लक्जरी रिसोर्ट र होटल सञ्चालनको तयारी गरिएको छ। रिसोर्ट सञ्चालनमा ल्याउने तयारीअनुरुप उच्च पदमा कर्मचारी भर्ना प्रक्रिया अगाडि बढाइएको छ।

Tata
GBIME
NLIC

बेलायतको अन्तर्राष्ट्रिय होटल व्यवस्थापन समूह इन्टरकन्टिनेन्टल होटल्स ग्रुप (आईएचजी) ले रिसोर्ट र होटल सञ्चालनमा ल्याउन कर्मचारी मागेको छ।

आईएचजीले पोखरा र चितवनमा तयार हुँदै गरेका दुईवटा रिसोर्ट र एउटा होटल सञ्चालनमा ल्याउन जनरल म्यानेजर, डाइरेक्टर अफ सेल्स एण्ड मार्केटिङ, एक्जिक्युटिभ सेफ, मार्केटिङ म्यानेजर, ह्युमन रिसोर्सेस डाइरेक्टर, फाइनान्स डाइरेक्टर, आइटी डाइरेक्टर, फुड एण्ड बेभरेज डाइरेक्टर, क्वालिटी म्यानेजर, पर्चेज म्यानेजर, सेक्युरिटी म्यानेजर, रिजर्भेसन म्यानेजर, ड्युटी म्यानेजर लगायत करिब २ दर्जन पदका लागि दर्खास्त आह्वान गरेको हो।

सांग्रिला होटल्स एण्ड रिसोर्ट्स ग्रुप अन्तर्गत इन्टरकन्टिनेन्टल पोखरा बेगनास लेक रिसोर्ट, होटल इण्डिगो पोखरा र इन्टरकन्टिनेन्टल चितवन मेघौली रिसोर्ट छन्। यी तीनवटै रिसोर्ट र होटल सञ्चालनका लागि सांग्रिला होटल्स एण्ड रिसोर्ट्स ग्रुपले गत वर्ष आईएचजीसँग सम्झौता गरेको थियो।

प्रवीण बहादुर पाण्डे

ग्रुपका प्रबन्ध निर्देशक प्रवीणबहादुर पाण्डेले रिसोर्ट र होटल सन् २०२५ मा सञ्चालनमा ल्याउने तयारी रहेकाले सुरुमा उच्च पदका लागि कर्मचारी मागेको बताए। उनका अनुसार कर्मचारी छान्ने काम आईएचजीले गर्नेछ।

‘आईएचजीसँग भएको सम्झौता अनुसार होटल र रिसोर्ट सञ्चालनका लागि हामी अगाडि बढेका छौं,’ प्रबन्ध निर्देशक पाण्डेले भने, ‘पोखरा र चितवनमा सन् २०२५ मा सञ्चालनमा ल्याउन लागिएका रिसोर्ट र होटल सञ्चालनका लागि आईएचजीले उच्च पदका कर्मचारी लिन दर्खास्त आह्वान गरिसकेको छ। छनोट पनि उसैले गर्नेछ।’

होटल उद्योगमा आईएचजी प्रसिद्ध ब्राण्ड हो। आईएचजी अन्तर्गत १९ वटा होटल ब्राण्ड छन्। विश्वका १०० भन्दा बढी देशमा करिब साढे ६ हजार होटलको व्यवस्थापन आईएचजीले गर्दै आएको छ।

युरोप, मध्यपूर्व, पूर्वी अफ्रिका र एसियामा आफ्नो दबदबा कायम गर्दै आएको यो कम्पनीले लक्जरी र लाइफस्टाइल क्याटगोरीमा अन्तर्राष्ट्रिय सेवा प्रवाह गर्दै आएको छ। आन्तरिक र बाह्य पर्यटकलाई विश्वस्तरीय सेवा दिने उद्देश्यले आईएचजी अन्तर्गत दुईवटा ब्राण्ड ल्याएको पाण्डेले बताए।

सञ्चालनमा ल्याउने तयारीमा रहेका रिसोर्ट र होटलमा कति लगानी गरिएको छ भन्नेबारे सांग्रिला ग्रुपले बताएको छैन।

इन्टरकन्टिनेन्टल काठमाडौं सञ्चालनमा आउने मिति तय भएको छैन। जसका कारण आईएचजीले यो होटलका लागि भने कर्मचारी मागेको छैन। 

सांग्रिला होटल्स एण्ड रिसोर्ट्स ग्रुपका अध्यक्ष प्रसिद्ध बहादुर पाण्डे र आईएचजीका दक्षिण पश्चिम एसिया प्रबन्ध निर्देशक सुदिप जैन सम्झौता गर्दै

सांग्रिला होटल्स एण्ड रिसोर्ट्स ग्रुप र आईएचजीबीच २०७९ चैतमा इन्टरकन्टिनेन्टल काठमाडौं, पोखराको होटल इण्डिगो, बेगनास ताल छेउको इन्टरकन्टिनेन्टल रिसोर्ट र मेघौलीको इन्टरकन्टिनेन्टल रिसोर्ट व्यवस्थापनका लागि सम्झौता भएको थियो।

आईएचजीले व्यवस्थापन गर्न लागेका प्रोपर्टी यस्ता

होटल इण्डिगो पोखरा १०० कोठा क्षमताको हो। यो होटल मिटिङ, कन्फ्रेन्स र माइस टुरिजम लक्षित हुने कम्पनीले जनाएको छ। होटलमा रिटेल स्टोर, हेल्थ क्लब, स्पा, लाउन्ज, बिजनेस सेन्टर, दुईवटा बलरुम, मिटिङ रुम, लाउन्ज, बार लगायत सुविधा हुनेछन्।

बेगनास ताल नजिकै सञ्चालनमा ल्याउन लागिएको इन्टरकन्टिनेन्टल पोखरा बेगनास रिसोर्ट ८० कोठा क्षमताको हो। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट २० मिनेटको दूरीमा पर्ने रिसोर्टमा रिटेल स्टोर, हेल्थ क्लब, स्पा, क्लब लाउन्ज, स्वीमिङ पुल लगायतको सुविधा हुनेछ।

मेघौलीमा सञ्चालनमा ल्याउन लागिएको इन्टरकन्टिनेन्टल रिसोर्टले पनि अल डे डाइनिङ, लबी लाउन्ज बार, हेल्थ क्लब, स्पा, स्वीमिङ पुल लगायत सुविधा उपलब्ध गराउनेछ। रिसोर्ट ८० कोठा क्षमताको हो।

लाजिम्पाटस्थित सांग्रिला होटललाई इन्टरकन्टिनेन्टल काठमाडौंका रुपमा सञ्चालनमा ल्याउन लागिएको हो। सांग्रिला होटल चार वर्षदेखि बन्द छ। त्यहाँ अहिले पहिलेको संरचना भत्काएर नयाँ बनाउने काम भइरहेको छ। बिजनेस सेन्टरसहितको होटल २२४ कोठा क्षमताको हुनेछ।