लक्ष्मीपूजामा विद्युत व्यवस्थापन गर्न स्युचाटारको कन्ट्रोल रुममा कूलमान, पिक डिमान्ड १६०२ मेगावाट

प्रवीण रानाभाट
२०८१ कात्तिक १५ गते २०:०२ | Oct 31, 2024
लक्ष्मीपूजामा विद्युत व्यवस्थापन गर्न स्युचाटारको कन्ट्रोल रुममा कूलमान, पिक डिमान्ड १६०२ मेगावाट

काठमाडौं । आज लक्ष्मीपूजा। घरघरमा लक्ष्मीको आह्वान गर्दै दीपावली गरिँदैछ। आजको दिन देशभर झिलिमिलि हुने हुँदा अन्य समयमा भन्दा बढी बिजुली खपत हुन्छ।

Tata
GBIME
NLIC

बढी बिजुली खपत हुने हुँदा आजको दिनलाई लक्षित गरेर नेपाल विद्युत प्राधिरणले बत्तीको आपूर्तिलाई सहज बनाउन ठाउँ ठाउँमा टोली खटाएको छ।

काठमाडौंको स्युचाटारस्थित प्राधिकरणको भारप्रेषण केन्द्रमा आज विद्युतको सहज आपूर्तिको व्यवस्थापन गर्न स्वयम् प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कूलमान घिसिङ त्यहाँ पुगेका छन्।

हरेक वर्ष उनी लक्ष्मी पूजाको दिन उनी सो भारप्रेषण केन्द्र पुगेर विद्युत आपूर्तिको सुनिश्चितता गर्छन्।

त्यो सिलसिला यो वर्ष पनि कायम रह्यो।

यो वर्षको लक्ष्मीपूजाकै लागि प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले बुधबार बिहान कर्मचारीसँग छलफल गरेका थिए। उनले मातहतका सबै निकायलाई लक्ष्मीपूजाको दिन कुनै समस्या नआओस् भनेर ‘अलर्ट’ रहन निर्देशन दिएका थिए।

ठिक आठ वर्ष पहिले अर्थात् २०७३ को लक्ष्मीपूजाकै दिन काठमाडौंमा लोडसेडिङ अन्त्य भएको थियो। कुलमानले प्राधिकरणमा प्रबन्ध निर्देशकको जिम्मेवारी सम्हालेको तीन महिनामै काठमाडौंमा लोडसेडिङ हटाएका हुन्।

कुलमानले लोडसेडिङ हटाउन परीक्षणका रूपमा लक्ष्मीपूजाको दिनलाई छानेका थिए। यही दिन नेपालमा बिजुलीको माग सबैभन्दा धेरै हुने गरेको छ। लोडसेडिङ झेलिरहेका ग्राहक लक्ष्मीपूजाका दिन रातभर बत्ती बाल्न पाएपछि कुलमानको प्रशंसक बनेका थिए।

पढ्नुस आर्काइभ स्टोरी : उज्यालो काठमाडौं: अरुभन्दा किन फरक छन् कुलमान?

प्राधिकरणले गत वर्ष लक्ष्मीपूजाको दिनको तुलनामा यसपालि २०० देखि २५० मेगावाटसम्म बढी पिक डिमान्ड हुने प्रक्षेपण गरेको थियो। गत वर्ष लक्ष्मीपूजाको दिन पिक डिमान्ड १६०० मेगावाट पुगेको थियो। यसपटक पनि सोही हाराहारीमा बिजुलीको माग आएको छ।

आज देशभर बिजुलीको पिक डिमान्ड १ हजार ६०२.२ मेगावाट रहेको प्राधिकरणले जनाएको छ। फाट्टफुट्ट केही स्थानमा बाहेक सबै ठाउँमा विद्युत आपूर्ति सहज भइरहेको प्राधिकरणले जनाएको छ।

यसपटक सिस्टम लोड भने १८५५ मेगावाट रहेको छ।

प्राधिकरणले सोचेकोभन्दा धेरै विद्युतको माग नभएका कारण सहज रुपमा व्यवस्थापन भएको जनाएको छ। हाल उद्योग कलकारखानाहरु बन्द छन्। यस्तै, व्यावसायिक भवनहरूमा पनि धेरै बिजुली खपत हुँदैन। धेरै ठूलो लोड नबढ्ने भएका कारण सहजै व्यवस्थापन गर्न सकिएको प्राधिकरणले जनाएको छ।

हाल प्राधिकरण र उसका सहायक कम्पनी तथा निजी क्षेत्रका आयोजना अहिले पूर्ण क्षमतामा चलिरहेका छन्। प्राधिकरणले तिहारलाई लक्षित गरेर ट्रान्सर्फमर, तार लगायत पूर्वाधारबारे यसअघि नै जाँच गरेको थियो।

* नेश्नल लोडको सट्टा सिस्टम लोडको तथ्यांक पर्न गएकोले सच्याइएको छ।