टिकटकका संस्थापक जाङ यिमिङ बने चीनको सबैभन्दा धनी व्यक्ति, ४३ प्रतिशतले बढ्यो सम्पत्ति

बिजमाण्डू
२०८१ कात्तिक १४ गते ०९:५० | Oct 30, 2024
टिकटकका संस्थापक जाङ यिमिङ बने चीनको सबैभन्दा धनी व्यक्ति, ४३ प्रतिशतले बढ्यो सम्पत्ति
Photo: AFP

टिकटकको माउ कम्पनी बाइटडान्सका संस्थापक जाङ यिमिङ चीनको सबैभन्दा धनी व्यक्ति बनेका छन्। टिकटक विश्वव्यापी रुपमा प्रख्यात हुँदाको फलस्वरुप यिमिङ चीनको धनी व्यक्ति बनेका हुन्

Tata
GBIME
NLIC

हुरुन रिसर्च इन्स्टिच्युटका अनुसार उनको नेटवर्थ ३९ अर्ब ३० करोड अमेरिकी डलर पुगेको छ। उनको सम्पत्ति सन् २०२३ को तुलनामा ४३ प्रतिशतले बढेको हो।

४१ वर्षीय यिमिङले सन् २०२१ मा कम्पनीको प्रमुखको भूमिकाबाट राजीनामा दिएका थिए। यद्यपि, कम्पनीमा उनको लगभग २० प्रतिशत स्वामित्वमा रहेको बताइएको छ।

चिनियाँ सरकारसँगको सम्बन्धप्रति केही देशहरूमा शंका गरिरहँदा टिकटक विश्वको सबैभन्दा लोकप्रिय सोसल मिडिया एपमध्येको एक बनेको छ। यद्यपि, दुवै कम्पनीले चिनियाँ सरकारबाट आफूहरू स्वतन्त्र रहेको बताएका छन्।

बाइटडान्सले टिकटक बिक्री नगरे सन् २०२५ को जनवरीसम्ममा अमेरिकाले यसमाथि प्रतिबन्ध लगाउने चेतावनी दिएको छ। अमेरिकाको यस्तो दबाबका बीच गत वर्ष बाइटडान्सको विश्वव्यापी आम्दानी ६० प्रतिशतले बढेको थियो। यसले पनि यिमिङको व्यक्तिगत सम्पत्ति बढ्नमा मद्यत पुर्‍याएको छ।