
काठमाडौं । आज धनतेरस। आजको दिन धातुका भाडासँगै सुन चाँदी खरिद गर्ने चलन छ।
धनत्रयोदशीमा द्रव्य जोड्नु राम्रो हुने जनविश्वास छ। धनकी देवि लक्ष्मीलाई प्रसन्न पार्न धनतेरस (धातुका भाँडा) चढाउँदा १३ गुणा बढी धन लाभ हुने विश्वास गरिन्छ। यही जनविश्वासका कारण सुनचाँदीको कारोबार व्यापक हुन्छ।



आज न्यूरोड क्षेत्रमा सुनका गरगहना खरिद गर्नेको घुइँचो लागेको छ। पसलहरुमा बिहानैदेखि मानिसको भिड छ।
धनतेरसको दिन सुनको भाउ बढेर हालसम्मकै उच्च भएको छ। अघिल्लो दिनको तुलनामा सुन तोलामा १५ सय रुपैयाँ बढेको छ।

मंगलबार सुनको कारोबार मूल्य तोलाको एक लाख ६८ हजार ५ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सोमबार सुन तोलामा ४ सय रुपैयाँ घटेर प्रति तोला एक लाख ६७ हजार रुपैयाँमा कारोबार भएको थियो। सुनको भाउ उच्च हुँदा पनि बजारमा सुन खरिद गर्न चाहनेको संख्यामा कमी भने देखिँदैन।













