
काठमाडौं। गत वर्ष सबैभन्दा धेरै घरजग्गाको किनबेच सुनसरी जिल्लामा भयो। सुनसरी जिल्लामा दुईवटा मालपोत कार्यालय छन्। इनरुवा र धरानमध्ये इनरुवा मालपोतले देशभर अरु जम्मै मालपोतलाई पछि पार्दै सर्वाधिक घरजग्गा कारोबार गरेको हो।
गत वर्ष २०८०/८१ मा इनरुवा मालपोतले २३ हजारभन्दा बढी लिखत पारित गरेको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकले देखाउँछ। गत वर्षको जेठमा इनरुवा मालपोतले सर्वाधिक लिखत पारित गरेको थियो। विभागका अनुसार जेठमा इनरुवा मालपोतबाट २ हजार ३७६ लिखत पारित भएको थियो। सबैभन्दा कम भने कात्तिकमा १ हजार १ सय ८२ लिखत पारित भएको थियो।
सुनसरीमै रहेको धरान मालपोत भने कारोबारमा निकै पछि छ। धरान मालपोतमा महिनामा २०० हाराहारी मात्रै लिखत पारित हुने गरेको तथ्यांक छ।
इनरुवा मालपोतबाट गत वर्ष साउनमा २ हजार २५७ लिखत पारित भएको थियो। त्यसपछि भदौमा १ हजार ८७१, असोजमा १ हजार ९४१, मंसिरमा १ हजार ५७५, पुसमा १ हजार ९३७, माघमा २ हजार ३२, फागुनमा २ हजार ६, चैतमा २ हजार ८२, वैशाखमा २ हजार ११ र असारमा २ हजार १ लिखत पारित भएको थियो।
गत वर्ष सुनसरीको इनरुवा मालपोत १० महिना सर्वाधिक किनबेच हुने ‘स्पट’ बन्यो। मंसिर र माघमा धनुषाको जनकपुरधामले दुईपटक मात्रै लिखत पारितको आँकडा इनरुवाबाट उछिनेको थियो।
कारोबार सबैभन्दा बढी हुने सुनसरीका मालपोतले राजस्वमा भने काठमाडौंका मालपोतहरुलाई पछि पार्न सकेको छैन। लिखत पारित काठमाडौं उपत्यकाका मालपोतहरुमा धेरै नभएपनि सरकारी राजस्वमा भने उनीहरुले शीर्ष स्थानमा रहँदै आएका छन्। जग्गाको मूल्य देशका अन्य क्षेत्रभन्दा काठमाडौंमा सर्वाधित हुने भएकाले मूल्यांकन बढी भएर राजस्व बढी उठ्ने गर्छ।

सुनसरीको इनरुवा मालपोत औसतमा सबैभन्दा बढी राजस्व उठाउने शीर्ष १० मालपोतभित्र भने पर्छ। गत वर्ष इनरुवा मालपोतले सबैभन्दा बढी गत वैशाखमा १४ करोड ६७ लाख रुपैयाँ राजस्व उठाएको थियो। सबैभन्दा कम भने कात्तिकमा ६ करोड ५७ लाख रुपैयाँ मात्रै उठाएको थियो।
चालू आर्थिक वर्ष २०८१/८२ को सुरुवाती दुई महिनामा पनि सुनसरीकै इनरुवा मालपोतबाट सर्वाधिक घरजग्गा कारोबार भएको छ। साउनमा १ हजार ९४ र भदौमा १ हजार ६५१ लिखत पारित भएका छन्।
किन सुनसरीमै हुन्छ सर्वाधिक घरजग्गाको कारोबार?
इनरुवा मालपोत कार्यालय मातहत झण्डै ११ वटा स्थानीय तह पर्छन्। इनरुवाको क्षेत्राधिकार भित्र इटहरी उपमहानगरपालिका, साविकका खनार गाविस, हाँपोसा, एकम्बा, पकली पर्छन्।
त्यसैगरी, इनरुवा नगरपालिका, दुहबी नगरपालिका, रामधुनी नगरपालिका, बराहक्षेत्र नगरपालिका, बर्जु गाउँपालिका, भोक्राहा नरसिंह गाउँपालिका, देवानगञ्ज गाउँपालिका, गाढी गाउँपालिका, हरिनगर गाउँपालिका र कोशी गाउँपालिका इनरुवा मालपोतको क्षेत्राधिकार भित्रै पर्छन्।
भूमि व्यवस्थापन विभागका निर्देशक रोशनशंकर घिमिरे सुनसरी अक्सर सबैभन्दा बढी घरजग्गा कारोबार हुने जिल्ला रहँदै आएको बताउँछन्। त्यहाँ रहेको इनरुवा मालपोतले सबै अरु मालपोतलाई पछि पार्ने गरेको उनको भनाइ छ।
जनसंख्याको हिसाबमा पनि इनरुवा अत्यधिक आवादी भएको क्षेत्र होइन। अनि किन हुन्छ त सुनसरीमै बढी कारोबार भन्ने प्रश्नमा घिमिरेले सुनसरीको हकमा कार्यक्षेत्र बराबर हुने गरि अन्य जिल्लामा मालपोत कार्यालयहरु फुटाइए पनि सुनसरीमा त्यसो नभएकाले इनरुवा अत्यधिक चाप हुने मालपोत बनेको जानकारी दिए।
‘सुनसरीमा धरान मालपोत भनेर इनरुवाबाट फुटाइयो। धरान मालपोत एकदम सानो कार्यक्षेत्र भएको कार्यालय हो। अन्तका मालपोतहरु कार्यक्षेत्र बराबर हुने गरी फुटाइएको छ। अरु ठाउँमा मालपोत कार्यालय फुट्दा पनि खासै प्रभाव देखिंदैन। तर, धरान मालपोत टुक्र्याउँदा पनि धेरै स्थानीय तह इनरुवा मालपोत मातहत हुँदा त्यहाँ बढी नै लोड परिरहेको छ। जसका कारण धरान साँघुरो बन्न पुग्यो,’ घिमिरेले बिजमाण्डूसँग भने।