दसैंको बिदामा पनि खुला हुन्छन् यी रेस्टुरेन्ट, जहाँ हुनेछ परिकारसँगै मनोरञ्जन

वसन्तराज उप्रेती
२०८१ असोज २४ गते १४:५५ | Oct 10, 2024
दसैंको बिदामा पनि खुला हुन्छन् यी रेस्टुरेन्ट, जहाँ हुनेछ परिकारसँगै मनोरञ्जन

काठमाडौं। विभिन्‍न पेसा व्यवसाय गर्नेहरूको ठूलो संख्या दसैं मान्‍न काठमाडौं उपत्यकाबाट बाहिरिएको छ। त्यसैले उपत्यकाका विभिन्‍न स्थानका व्यापारिक र व्यावसायिक प्रतिष्ठानहरू बन्द भएका छन्।

Tata
GBIME

तर यो दसैंमा काठमाडौंमै रहेकाहरूलाई घरबाहिर गएर जमघट र खानपिन गर्नका लागि गाह्रो छैन। चाडबाडमा पनि केही रेस्टुरेन्टबाट सेवा पाइने भएको छ।

ठमेल, झम्सीखेल, दरबारमार्ग लगायत स्थानका केही रेस्टुरेन्टहरूले आन्तरिक तथा बाह्य पर्यटकका लागि दसैं बिदाको समयमा पनि सेवा दिने तयारी गरेका छन्।

ठमेलस्थित बगान थकालीले आफ्नो सेवा दसैंमा पनि खुला रहने जनाएको छ। २५ जना जनशक्ति कार्यरत रेस्टुरेन्टले बिदाको अवधिमा १३ जनालाई परिचालन व्यवस्थापन गरेको संचालक अर्जुन शेरचनले बताए।

काठमाडौंको पर्यटकीय क्षेत्र ठमेलमा दसैंमा अधिकांश रेस्टुरेन्ट बन्द हुँदा आन्तरिक र बाह्य पर्यटकलाई गाह्रो पर्छ। त्यसैले सेवालाई निरन्तरता दिन दसैंमा बगान थकाली बन्द नगर्ने उनले बताए।

‘ठमेल पर्यटकीय क्षेत्र हो। यो समयमा धेरैजसो रेस्टुरेन्ट बन्द हुँदा कस्टमरलाई खानपिनको सेवा पाउन अप्ठ्यारो नहोस् भन्‍ने उद्देश्यले हामीले खुलै राख्ने भएका हौं,’ उनले भने, ‘टीकाको दिन हामी दिउँसोबाट सेवा दिने योजनामा छौं।’

कुपण्डोलस्थित पोखरा पिज्जा हाउसले दसैं बिदाभर सेवा संचालन गर्ने तयारी गरेको संचालक विजय गुरुङले बताए।

‘हाम्रो धुम्बाराही आउटलेट बन्द हुन्छ तर कुपण्डोलको भने खुलै राख्छौं, त्यसको तयारी गरेका छौं,’ उनले भने, ‘यो बेला हामी ग्राहकका लागि पोलेको माछा, पिज्जा, पोलेको पाङ्ग्रा लगायत परिकार पस्किने छौं।’

टीकाको दिन ग्राहकको माग आएको अवस्थामा सेवा दिने तयारी रहेको उनले जानकारी दिए।

एलिस रेस्टुरेन्टले दरबारमार्ग आउटलेट दसैंको टीकाको दिन बाहेक सबै दिन संचालन गर्ने तयारी रहेको जनाएको छ। रेस्टुरेन्टका फुड एण्ड बेभरेज म्यानेजर प्रकाश थापाले दसैं बिदाको समयमा पनि ग्राहकले एलिसको सेवा पाउने बताए।

‘दरबारमार्ग आन्तरिक र बाह्य पर्यटकलाई पायक पर्ने ठाउँ भएका कारण हामीले ४ मध्ये यही आउटलेट दसैंको बिदामा संचालनमा ल्याउन लागेका हौं,’ उनले भने, ‘यसका लागि हामीले दसैंमा यहीँ बस्नु हुने सबै आउटलेटमा कार्यरत जनशक्तिलाई दरबारमार्ग आउटलेटमा परिचालन गर्ने तयारी गरिसकेका छौं।’

उनका अनुसार दसैंका लागि रेस्टुरेन्टको विशेष मेनुअन्तर्गत थकाली खाना, च्याङ्ग्राका विभिन्‍न परिकार छन्। साथमा चिनियाँ र कन्टिनेन्टल मेनु समावेश गरिएको छ।

रेस्टुरेन्टअन्तर्गत बखुण्डोल र गैरीधाराको आउटलेट असोज २९ गतेबाट पुनः सुरु गर्ने तयारी रहेको उनले जानकारी दिए।

उनका अनुसार टीकाको दिन बाहेक दरबारमार्ग आउटलेटले बिहान १० देखि राति १० बजेसम्म सेवा दिनेछ।

त्यस्तै, त्रिशाराले पनि आफ्नो सबै आउटलेट खुला गर्ने संचालक शोभनवीर मालाकारले बताए।

यसैगरी, डिल्लीबजारस्थित भोजनगृहले दसैंको अवधिभर सेवा दिनका लागि आवश्यक तयारी गरिसकेको संचालक भरत बस्नेतले बताए।

‘भोजनगृहमा अहिले आन्तरिक र विदेशी पाहुनाको आगमन बराबर रहँदै आएको छ। यो समय प्राय राम्रा रेस्टुरेन्ट बन्द हुने भएका कारण हामीले पाहुनालक्षित सेवालाई निरन्तरता दिएका हौं,’ उनले भने, ‘सांस्कृतिक नृत्य, नाचगानसहितको सेवाका लागि हामी दसैंभरको बिदामा सेवा यथावत राख्नेछौं।’

बाढीपहिरोले बाटो बिगारेकाले बितेका वर्ष जसरी सर्वसाधारणको काठमाडौं बाहिरको यात्रा यस पटक सहज छैन। कतिपय परिवारले कोरोनाकालको जसरी दसैं उपत्यकामै मान्दैछन्। उपत्यकामै रहेर खानपिन र जमघट गर्न रेस्टुरेन्ट जान मन पराउनेहरूले सांगीतिक मनोरञ्जनसहितको सेवा पाउने छन्।

दरबारमार्गस्थित रेगाल फ्लेभर्स रेस्टुरेन्ट पनि दसैंभर खुला रहने छ। प्रबन्ध निर्देशक रेवन्तकुमार क्षेत्रीले दसैंको बिदामा पनि ग्राहकलाई सेवा दिने बताए।