संघर्षबाट सफलता पछ्याइरहेकी शान्ता चौधरी : राजनीतिसँगै उद्यम, ५ देशमा अचार निर्यात

भावना शर्मा
२०८१ असोज २१ गते ०९:०२ | Oct 7, 2024
संघर्षबाट सफलता पछ्याइरहेकी शान्ता चौधरी : राजनीतिसँगै उद्यम, ५ देशमा अचार निर्यात


केही दिन अघि नख्खु खोलामा बाढी आएर भेल कारखानामा पस्दा शान्ता चौधरी दोस्रो लट अचार अष्ट्रेलिया पठाउनका लागि धमाधम प्याकिङमा व्यस्त थिइन्। अचानक आएको पानीको भेल उनले दुई महिना अघि मात्रै ग्वार्कोमा खोलेको सानो टहरोमा पस्यो। ठ्याक्कै दसैंका लागि तयार पारिएको दुई टन अचार विदेश पठाउन लागेकै बखत परेको विपद्लाई उनले सहयोगीहरुसँग मिलेर पार लगाइन्।

Tata
GBIME
NLIC

अहिले उनको अचारको दोस्रो लट अष्ट्रेलिया उडिसकेको छ। अमेरिका र युरोपबाट आएका अर्डर पुर्‍याउन शान्ता फेरि अचार कर्ममा जुटिसकेकी छन्।

नेपालमा भाटभटेनी स्टोर र छिमेकी मार्टमा ‘शान्ताको अचार’ पाइन्छ। कोशी र सुदूरपश्चिममा डिलरसिप दिएकी शान्ताले चाँडै पोखरामा पनि आफ्नो अचार दिन लागेको बताइन्। बाहिरकै अर्डर पुर्‍याउन हम्मे हम्मे परिरहेको उनको भनाइ छ।

डेढ वर्ष भयो शान्ताले अचार उद्यम थालेको। त्यसअघि उनले ब्युटीपार्लर चलाइन्। ‘नेताले पार्लर चलाउने!’ भन्ने किसिमका प्रतिक्रिया र आफूलाई हेर्ने दृष्टिकोणका कारण उनले फरक उद्यमबारे सोच्नुपरेको हो।

नेपालका बजारहरुमा भन्दा अष्ट्रेलिया, अमेरिका र यूरोपका बजारमा शान्ताको अचारको खोजी बढ्दो छ। चाँडै कतार र भुटान पनि अचार निर्यात गर्न लागेकी शान्ता एक्लो आँट र साहसले अचार उद्यम थालेको बताउँछिन्।

ख्यालख्यालैमा राखेको पोष्टबाट नसोचेको अर्डर आयो। थोरै थोरै परिमाणमा अचार बनाएर बेच्न थालेकी शान्ताले त्यसको ६ महिनापछि कानुनी रुपमै दर्ता गरेर ‘शान्ताको अचार’ ब्राण्डमा उत्पादन थालिन्।

पहिलेदेखि नै गाउँघरमा शान्ताको हातको स्वादको तारिफ हुने। ‘अचार बनाइदेउ न’ भन्नेहरु धेरै थिए। गाउँघरमा अचार मोलिदिन उनै अघि सर्थिन्। पैसा लिएर कतिलाई अचार बनाइदिइन् पनि। एक दिन आफ्नो सीपलाई किन व्यवसायमा नबदल्ने भन्ने शान्तालाई लाग्यो। अनि दगुर्दै पसलबाट एक हजार रुपैयाँको कुखुराको मासु किनेर ल्याइन्।

फेसबुकमा ‘मासुको अचार खाने हो?’ भनेर पोष्ट गरिन्।

ख्यालख्यालैमा राखेको पोष्टबाट नसोचेको अर्डर आयो। थोरै थोरै परिमाणमा अचार बनाएर बेच्न थालेकी उनले त्यसको ६ महिनापछि कानुनी रुपमै दर्ता गरेर ‘शान्ताको अचार’ ब्राण्डमा उत्पादन थालिन्।

‘मेरा उद्योगमा सबै स्टाफले अचार बनाउने तालिम लिएका छन्। तर, मैले आजसम्म कुनै तालिम लिएको छैन। यो मेरो हातको स्वाद हो। गुणस्तर कायम गर्न ल्याब टेस्ट गरेरै यी अचारहरु बेचिन्छ। अहिलेसम्म मेरो अचारको ल्याब टेस्टको नतिजा नराम्रो आएको छैन। मानिसको स्वास्थ्यमा असर पर्ने भएकाले म कुनै जोखिम लिन्न पनि। गुणस्तरीय उत्पादन दिएर नै म निर्यात गर्ने अवस्थामा पुगेको हुँ,’अचार आफैंले मोल्दा मात्र सन्तुष्टि मिल्ने बताउँदै उनले भनिन्।

हाल शान्ताको अचार ब्राण्डमा २२ थरीका अचार उत्पादन हुन्छन्। उनले मांसाहारी र शाकाहारी दुवै किसिमका अचार बनाउँछिन्। उनको ब्राण्डमा गुन्द्रुक, सिन्की, मस्यौरा, तामाजस्ता खाद्य सामग्री पनि पाइन्छ।

शान्ताको अचार एक लटमा २ देखि ३ टन अचार निर्यात हुन्छ। पहिलो लटमा उनले भाटभटेनीलाई २ टन र दोस्रो लटमा ३ टन अचार दिइन्। अष्ट्रेलिया पठाउँदा पनि पहिलोपटक २ टन र दोस्रोपटक उस्तै परिमाणमा पठाइन्। अमेरिका यूरोपसँगै अब कतार र भुटानमा उनले अचार पठाउन तयारी गरिरहेकी छन्।

आफूले पठाएका सामानहरुको चित्तबुझ्दो प्रतिक्रिया आएकाले अन्य देशहरुबाट पनि अर्डर आउनेमा शान्ता ढुक्क छिन्। एक लटमा कम्तीमा ५ देखि ७ लाखको अर्डर आउने गरेको उनले बताइन्।

‘दुई लट मात्रै अर्डर आयो भने कम्तीमा १० लाख, चार लट अर्डर पठाए कम्तीमा २० लाख!,’ कति सरल छ उनको हिसाब।

कोही पारिवारिक रुपमा उद्यमी व्यवसायी बनेका हुन्छन् कोही पछि जोडिन्छन्। हाँस्दै शान्ताले भनिन्, ‘म चाहिँ राजनीति गर्दै व्यवसायमा आएकी उद्यमी। यो मेरो बाध्यताको पेसा हो।’  

+++

दाङमा जमिनदारको घरमा ८ वर्षकै उमेरमा कमलरी बस्न पुगेकी शान्ताको जीवनका आरोह अवरोह हेर्ने हो भने उनको भनाइमा खोट लगाउने ठाँउ नै भेटिदैन। कमलरी मुक्ति आन्दोलन, भूमिहीन आन्दोलन, जंगलमा बनाएको सानो छाप्रोको घर, दुई पटक सभासद, क्यान्सरसँगको लडाइ, अनि पारिवारिक आरोह अवरोहसँगै शान्ताले बनाएको परिचय हो जुझारु राजनीतिज्ञको।

उनको समुदायबाट राष्ट्रिय राजनीतिमा आउनेहरु औंलामा गन्न सकिने छन्। त्यसमाथि पढेलेखेका त झनै कम। उनै शान्ताले पनि पहिलो पटक संविधान सभामा चुनिएर जाँदा ‘औंठाछाप सभासद’ को ट्याग पाएकी थिइन्। विस्तारै त्यसलाई चिर्न उनी स्कुल भर्ना भइन्।

सभासद हुँदा नै एसएलसी पास गरिन्। यतिबेला उनी हिमालय कलेजमा समाजशास्त्र विषयमा स्नातक दोस्रो वर्ष पढिरहेकी छन्। आफ्नो समुदायको आवाज बन्नका लागि राजनीति सधैं पहिलो प्राथमिकता हुने उनले बताइन्।

‘संसारभरका मानिसहरु जो राजनीति गर्छन् कसैले पनि बिना पैसा राजनीति गर्न सक्दैन। पैसा चाहिँदैन भनेर पो के गर्नु, जता दुगुर्न पनि पैसा नै चाहिने रहेछ!’

‘मैले कुनै नाफाघाटा जोडेर राजनीति गरेकी होइन, राजनीति विशुद्ध समाजसेवा हो। काम गर्दा संयोगवश पद पाउनु त्यो अलग कुरा हो तर उद्यममा धेरै नाफा घाटा बारे सोच्नुपर्ने रहेछ किनभने यसमा फरकखाले तनाव हुने रहेछ। म एक्लो मान्छे उद्यममा अनेक आर्थिक पक्षहरु जोडिने भएकाले पनि गाह्रो हुने रहेछ,’ श्रीमानले अर्को घरजम गरेपछि छोराछोरीसँग जीवन अघि बढाएकी शान्ता आफ्नो संघर्षलाई सगर्व सुनाउँछिन्।  

कोही पारिवारिक रुपमा उद्यमी व्यवसायी बनेका हुन्छन् कोही पछि जोडिन्छन्। हाँस्दै शान्ताले भनिन्, ‘म चाहिँ राजनीति गर्दै व्यवासायमा आएकी उद्यमी। यो मेरो बाध्यताको पेसा हो।’  

शान्ताका अनुसार राजनीति गर्ने मानिसहरुको पृष्ठभूमि तीन प्रकारको छ। एकथरी जो सबै चीजले भरिपूर्ण भएर राजनीतिमा आएका छन्। उनीहरुसँग प्रशस्तै पैसा छ। राजनीतिमा लागेर उनीहरुले केवल पदप्रतिष्ठा कमाउनु छ।

दोस्रोथरी जोसँग कुनै आर्थिक समस्या छैन। पुर्ख्यौली सम्पत्ति छ। ठिकठिकै पारिवारिक अवस्था छ।

अनि तेस्रोथरी शान्ताकै भनाइमा ‘उनी जस्तै’ जोसँग केही पनि थिएन।

‘म संविधानसभामा आउँदा सामुदायिक वनमा घर थियो। सम्पतिको नाममा केही थिएन। जमिनदारको घरबाट मुक्त भएर राजनीतिमा लागेको मान्छे। तर राजनीतिमा टिक्न आम्दानी पनि चाहिन्छ। संसारभरका मानिसहरु जो राजनीति गर्छन् कसैले पनि बिना पैसा राजनीति गर्न सक्दैन,’ शान्ताले आफ्नै अनुभव बोलिन्, ‘पैसा चाहिँदैन भनेर पो के गर्नु, जता दुगुर्न पनि पैसा नै चाहिने रहेछ!’  

शान्ताले आफ्नो समुदायको आवाज बोल्नकै लागि राजनीतिमा निरन्तर र सक्रिय भूमिकामा रहन आम्दानीको स्रोत खोज्न थालिन्। यसै क्रममा अचार उद्यमसँग जोडिएकी शान्ताले छोटो समयमै आफ्नो अचारको स्वादलाई स्थापित गर्न सकेको बताउँछिन्।  

‘हुन त कम्युनिष्ट कार्यकर्ता भएर यसो भन्न त नसुहाउने होला। तर, म भन्छु जसको कोही हुन्न उसको भगवान हुन्छ!,’ शान्ताले आफ्नो संघर्षपूर्ण जीवनमा निरन्तरको सक्रियता र सफलतालाई ईश्वरको आशीर्वादका रुपमा लिएकी छन्।

डेढ वर्षको छोटो समयमै शान्ताले नेपालमा उद्यम गर्दा के कस्ता व्यवधानहरुको सामना गर्नुपर्छ भनेर बुझिसकिन्। कहिलेकाहीँ त उनलाई झर्को पनि लाग्दो रहेछ। जहाँ पनि आफैं पुग्नुपर्ने, अनुनय विनय गर्नुपर्ने!

+++

दाङको आफ्नै घरबाट सुरु भएको उद्यम अब काठमाडौंमा शाखा खोलेर विस्तार भइसकेको छ। काठमाडौंबाटै विदेश निर्यात पनि हुन थालिसकेको छ अचार।

अहिले त शान्ताले दाङमा रहेको आफ्नै जग्गामा अचार उद्योगका लागि छुट्टै घर बनाउँदैछिन्। कामले आज काठमाडौं भोलि दाङ पुग्ने उनको हुटहुटी राजनीति र उद्यम दुवैमा उस्तै छ। तथापि, राजनीति र उद्यम फरक विषय भएको अनुभव उनले गरिरहेकी छन्।

डटेर लाग्दा नहुने पनि केही रहेनछ भन्ने पनि उनले बुझिरहेकी छन्। एक्लै छु भन्ने लागिरहे पनि अचार उद्यममा शान्तासँग हाल १९ जना प्रत्यक्ष सहयोगीहरु छन्। काम गर्ने अधिकांश महिलाहरु नै छन्। छोराछोरीले सघाउने उमेर भइ नसकेको र श्रीमानले अर्को घरजम गरेर बस्दा उनकै शब्दमा ‘ब्याक सपोर्ट’ नभएको दर्द बेला बेला उनको बोलीमा झल्किन्छ।

‘आफूले सानैदेखि दु:ख पाएर होला मलाई कोही दिदीबहिनी काम नपाएर बस्नुभएको छ भने मकहाँ आइदिए हुन्थ्यो जस्तो लाग्छ। अचार बनाउने तालिममा पनि पठाउँथे। यही रोजगारी पनि दिन्थेँ,’ उनले भनिन्। सानैदेखि बिना ज्याला अर्काको घरमा श्रम गरेको तीतो अनुभवले होला शान्तामा श्रमको मूल्य दिएर आत्मनिर्भर बनाउनुपर्छ भन्ने छाप गहिरो गरि बसेको!

प्रकिया सुधार हुने कहिले हो कहिले! बरु उनी आफैं विस्तारै यसमा अभ्यस्त हुँदैछिन् किनभने उनलाई जसरी पनि उद्यममा स्थापित हुनु छ।  

डेढ वर्षको छोटो समयमै शान्ताले नेपालमा उद्यम गर्दा के कस्ता व्यवधानहरुको सामना गर्नुपर्छ भनेर बुझिसकिन्। कहिलेकाहीँ त उनलाई झर्को पनि लाग्दो रहेछ। जहाँ पनि आफैं पुग्नुपर्ने। अनुनय विनय गर्नुपर्ने!

‘उद्यमीहरुलाई कानुनी प्रक्रिया नै झण्झटिलो रहेछ। एउटै कामलाई भोलि आउनुस् पर्सि आउनुस् भनेर झुलाइदिने। सारै झ्याउ हुने रहेछ,’ शान्ताले धेरै पटक यस्ता प्रक्रियागत झण्झट भोगिसकिन्।

प्रकिया सुधार हुने कहिले हो कहिले! बरु उनी आफैं विस्तारै यसमा अभ्यस्त हुँदैछिन् किनभने उनलाई जसरी पनि उद्यममा स्थापित हुनु छ।  

‘मलाई शान्ताको अचार भनेर आफ्नै नामको ब्राण्ड बनाउनु छ। यही उद्यमबाट मसँग जोडिएर काम गर्ने १९ जना साथीहरुको मेरा कारणले घरमा चुलो बल्छ। मैले पैसा दिएको दिन उनीहरुले सुनाउने योजना र खुशी देख्दा मलाइ त्यसमै सन्तुष्टि लाग्छ। म त सानैदेखि सित्तैमा कमलरी बनेर अर्काको घरमा काम गरेको मान्छे। मलाई कसले ज्याला दिन्थ्यो र!,’ एकैसाथ भावुकता र गर्व मिसिएको स्वरमा शान्ताले भनिन्।

मुक्त कमैया भनिए पनि ठूलो समूह अहिले पनि कठिनाई झेलिरहेका छन्। मुक्त त भइयो तर पनि कमैया कमलरी अझै बेरोजगार छन्। उनीहरुको गाँसबासको राम्रो व्यवस्था हुन सकेको छैन। त्यही समुदायको आवाज बन्न राजनीतिमा आएको बताउने शान्ता अचार उद्यमबाट पनि आफ्नै समुदायलाई आर्थिक उपार्जनको अवसर दिलाउन चाहन्छिन्।

उनलाई आफ्नो उद्योगमा मुक्त कमैया र कमलरीहरुलाई नै जोड्नु छ। उनीहरुलाई उत्पादनमा जोडेर व्यावसायिक बनाउनु शान्ताको लक्ष्य हो। अब शान्ताले देखेको एकमात्र सपना हो आफ्नो उद्योगमा एक हजारलाई रोजगारी दिने गरि ‘फुल फ्लेज’मा संचालन गर्ने।

‘एक हजारलाई रोजगारी अर्थात कम्तीमा ५ हजार जना पालिन्छन् नि त!,’ उनले हिसाब लगाउँदै भनिन्।

मुक्त कमैया भनिए पनि ठूलो समूह अहिले पनि कठिनाई झेलिरहेका छन्। मुक्त त भइयो तर पनि कमैया कमलरी अझै बेरोजगार छन्। उनीहरुको गाँसबासको राम्रो व्यवस्था हुन सकेको छैन। त्यही समुदायको आवाज बन्न राजनीतिमा आएको बताउने शान्ता अचार उद्यमबाट पनि आफ्नै समुदायलाई आर्थिक उपार्जनको अवसर दिलाउन चाहन्छिन्।

‘मलाई त हिजो अर्काको घरमा भाँडा माझेर खाँदा पनि पुगेकै थियो। यतिको अवस्थामा आइपुग्दा जति कमाएको छु त्यसैमा गर्व गर्छु। अब मेरा कारण आफ्नो समुदायका दिदीबहिनीको पनि जीविकोपार्जनको वातावरण बनोस् भन्ने लाग्छ। कमाएर त विनोद चौधरीलाई पनि कहाँ पुगेको छ र!,’ उनी आशावादी सुनिन्छन्।