
काठमाडौं। केही अघि नै हो अनुष्काले मामाघरकी हजुरआमाको दराज खोतलेको। घरकी हजुरआमा ‘खै त यसपालि अनुष्काले दराज नै खोलेन!’ भनेर निराश छिन्। अनुष्काका घर र मामाघर दुवैपट्टिका हजुरआमाहरु दसैंको छेकोमा नातिनी कहिले दराज खोतल्न आउलिन् भनेर कुरिरहन्छन्।
घरकी हजुरआमाको दराज खोल्न नभ्याएकी अनुष्का श्रेष्ठ भने दसैंका लागि विशेष उपहार प्याकेट बनाउन व्यस्त छिन्। उनी माकुस्से ब्राण्डमा परम्परागत नेपाली मिठाई प्रवर्धन गरिरहेकी छन्।
दस वर्षजति भयो अनुष्काले नियमित रुपमा घर र मामाघरका हजुरआमाहरुको पुरानो सारीकै लुगा बनाएर लगाउन थालेको। दसैं नजिकिँदा नातिनीले कहिले दराज खोलेर सारी छान्छिन् भन्ने दिनको प्रतीक्षा हजुरआमाहरुले पनि गर्न थालिसकेका छन्। खासमा यो कुनै चलन भने होइन।
पढ्नका लागि अष्ट्रेलिया जाने बेलादेखि नै अनुष्काले ठूलाबडाको आशीर्वाद यसरी पनि लिन सकिन्छ भन्ने सोचले अब चैं बानीको रुप लिइसक्यो। टिका थाप्दा हजुरआमाहरुको पुरानो सारीकै लुगा बनाएर लगाउने यो बानी अनुष्काले आफ्नी दुवै हजुरआमाहरुप्रति दर्शाएको आत्मीयता हो।

‘एउटा सारीबाट दुई वटा कुर्ता बन्छ। एउटा मलाई एउटा बैनीलाई। हामी टिका थाप्दा त्यही लगाउँछौं,’ अनुष्का दंग पर्दै सुनाउँछिन्। बानी परिसक्यो हजुरआमाहरुलाई नातिनीले सारी छानेर लाने समयको।
अनि यो सारीलाई डिजाइन गरी दसैंको नयाँ नाना चैं कसले बनाइदिन्छ त?
‘हामीले लगाउने सबै लुगा मामुकै डिजाइनमा बन्छ,’ अनुष्काको यो जवाफमा हाँस्दै फेसन डिजाइनर आमा मुक्ताले भनिन्, ‘सिकर्मीको भ्याङ जहिल्यै पुरानो भनेजस्तै हो। पहिले अरुको लुगा टाइममा रेडी गर्ने कुरामा ध्यान दिनुपर्यो। अन्तिममा मात्र घरकाले लगाउने लुगाको पालो आउँछ।’
अनुष्काकी आमा मुक्ता नेपाली परम्परागत ढाकाको प्रयोगबाट डिजाइन गर्ने लुगाका लागि चिनिन्छिन्। कुपन्डोलमा रहेको उनको मुकु बुटिकमा अहिले ढाका प्याटर्नबाहेक ‘फेस्टिभ कलर’का लुगाहरु बनिरहेको छ।
अनुष्का माक्कुसेका मिठाईको दसैं प्याकेजमा भिडिरहेकी छन् भने मुक्ता नयाँ कलेक्सनहरु ल्याउन व्यस्त छिन्।

दसैंलाई खाना र नानाको चाड भनिन्छ। छोरी अनुष्का र आमा मुक्ता दुवै खाना र नानाको उद्यममा छन्। चाडबाडमा उनीहरु दुवै अरु बेलाभन्दा बढी व्यस्त हुन्छन्। अनुष्का माक्कुसेका मिठाईको दसैं प्याकेजमा भिडिरहेकी छन् भने मुक्ता नयाँ कलेक्सनहरु ल्याउन व्यस्त छिन्।
मुक्ताले सुरुवातदेखि नै परम्परागत ढाकालाई आफ्नो पहिचान बनाइन्। तर बुटिक भन्नासाथ महंगा लुगाहरु भन्ने भ्रमले चाडबाडमा रेडिमेड लुगाहरुको बिक्री बढी हुन्छ।



‘नख:त्या’ को रमझमबीच उद्यम
परम्परागत नेवारी परिवारमा दसैंले अरुबेला भन्दा बढी धपेडी ल्याउँछ। पूजाआजा र भोज नटुट्ने भएकाले खट्नु बढी नै पर्छ। भान्छामा नख:त्या (भोज) का बनाउनुपर्ने समयबजी र अन्य थरीथरीका परिकार अनि उपहार पोका पार्न पनि उत्तिनै समय लाग्ने। फेरि आमाछोरी नै चाडबाडको समयमा बढी खट्नुपर्ने उद्यममा।
यसपालि अनुष्काले माकुस्सेको विभिन्न थरीका गिफ्ट प्याकेज बनाउँदैछिन्। नाता र सम्बन्ध उल्लेख गरेर लेखिएका पुन्टे पुष्टकारी पोहोर निकै रुचाइएकाले यसपाली पनि त्यस्ता प्याकेटहरु बनिरहेछ।
‘काठमाडौंको कोसेली भनेर पनि प्याकेट तयार पारिएको छ। पोहोर नातागोताको नामै लेखेर पुष्टकारीको क्यान बनाएर बेच्दा निकै राम्रो प्रतिक्रया आयो। हराएको चलन भनेर चंगा, शुभ मानिने कछुवा, दियो जस्ता उपहार सामाग्री पनि राखेर गिफ्ट प्याक बनाएका छौं,’ उनले भनिन्।
अनुष्का उत्पादनदेखि प्याकेजिङ सबैमा नेपाली कच्चापदार्थ र नेपाली श्रम-सीप नै प्रयोग गर्छिन्।

विदेशमा उत्पादन भएका सामाग्रीहरु उपहार दिने चलन घट्दै गएको र नेपाली उत्पादनलाई नै गर्वका साथ आदानप्रदान गर्न थालिएकाले उनी उत्साहित पनि छिन्।


विदेशमा उत्पादन भएका सामाग्रीहरु उपहार दिने चलन घट्दै गएको र नेपाली उत्पादनलाई नै गर्वका साथ आदानप्रदान गर्न थालिएकाले उनी उत्साहित पनि छिन्।
उनी भन्छिन्,’ हाम्रो सबैभन्दा सानो पुन्टे पुष्टकारीको प्याकेट ४५० रुपैयाँदेखि सुरु हुन्छ। दसैंमा ८०० रुपैयाँभन्दा तलका प्याकेटहरु धेरै बिक्छ। तर, कस्टमाइज गरेर ८०० देखि ८ हजार रुपैयाँसम्मका प्याकेजहरु हामी बनाउन सक्छौं। चाडबाडका समयमा कर्पोरेट वृत्तमा हाम्रो सामानको माग उच्च हुन्छ।’
अनुष्का जस्तै मुक्ता पनि बुटिकमा परम्परागत ढाकाको प्रयोगले लुगा सिलाउन चाहनेको संख्या बढ्दै गएकोमा खुशी छन्। उनले सुरुवातदेखि नै परम्परागत ढाकालाई आफ्नो पहिचान बनाइन्। तर बुटिक भन्नासाथ महंगा लुगाहरु भन्ने भ्रमले चाडबाडमा रेडिमेड लुगाहरुको बिक्री बढी हुन्छ।

अनुष्का र मुक्ताको व्यवसाय फरक भए पनि यसको मूल मान्यता एउटै हो। दुवैको उद्यम स्वदेशी श्रममा आधारित छ।
तर, ढाका स्पेसलाइज्ड मुकुले कम्तीमा ३ महिना लगाएर एउटा ढाकाको प्याटर्न तयार पार्छ। मुक्ताका अनुसार स्थानीय बजारमा पाइने भन्दा फरक प्याटर्न र रंगहरुसँग खेलेर उनको फेसन स्टुडियोका लागि ढाका तयार हुन्छ। कतिपय प्याटर्न तयार पार्न ६ महिनासम्म लागेको उनले बताइन्।
‘भारत चीनबाट आयातित कपडालाई जति पनि हाल्ने तर ढाकालाई केही बढी पैसा हाल्नुपर्दा चित्त दुखाउने प्रवृत्ति छ,’ मुक्ता पछिल्लो समय मौलिक ढाकाको प्रयोग बढ्दै गएको अनुभव गर्छिन्।
अनुष्का र मुक्ताको व्यवसाय फरक भए पनि यसको मूल मान्यता एउटै हो। दुवैको उद्यम स्वदेशी श्रममा आधारित छ। उनीहरु परम्परागत सामाग्रीहरुकै प्रवर्धन गरिरहेका छन्। मुकुका लागि ढाका बुन्ने धागो बाहिरबाट आउँछ। त्यसलाई डाइ गरेर रंगीन बनाउने र प्याटर्न बुन्ने काममा स्वदेशी श्रम-सीप लाग्छ।
ढाका उत्पादनका लागि जम्मा २ जनाबाट तान बुन्न सुरु भएको मुकु बुटिकमा नियमित १५ वटा तान चलि नै रहन्छ। स्टुडियोमा सिलाइका लागि ७ जना मानिस छन्। कोभिड महामारीका समयमा पनि उनका ढाका बुन्ने कामदारहरुले रोजगारी गुमाउनु परेनछ। यो मुक्ताका लागि ठूलो उपलब्धी हो।

महिलाको सशक्तिकरण भनेको निरन्तर चल्ने प्रक्रिया हो। यसका लागि परिवारभित्रका सबै सदस्यहरुको सहयोग आवश्यक हुन्छ।
अनुष्का श्रेष्ठ
श्रीमानले साथ दिएपछि परिवारको विश्वास आफैं बढ्ने रहेछ। परिवर्तन त्यसरी नै आयो। त्यो समय मलाई निकै गाह्रो थियो। किनभने मैले सपना पूरा गर्न मात्र होइन देख्न पनि संघर्ष नै गर्नुपरेको हो
मुक्ता श्रेष्ठ

उनी भन्छिन्,’मेरो कारण कसैको चुल्हो महामारीको समयमा पनि बलिरह्यो भन्दा गर्व लाग्छ। नेपाली तान बुनेर संस्कृति र मौलिकता पनि जोगाउने र नयाँ फेसन ट्रेन्डसँग यसलाई जोड्ने मेरो सोच हो ।अहिले त तान बुन्नेकै परिवारका छोराछोरी पुस्ताले यो सीप सिक्न थालेका छन्। उनीहरुको उत्साहले पनि मलाई ऊर्जा दिन्छ।’
यस्तै, माकुस्सेमा सुरुवातको ४ जनाको टिम अहिले बढेर २२ जना प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सयभन्दा बढी आबद्ध छन्। सुरुवातमा किचेनमा २ जना राखेर मिठाइ बन्ने गरेकोमा अहिले १२ जनाले नियमित काम गर्छन्। लोक्ताको प्याकेजिङ तयार पार्न १२ जनाको डेडिकेटेड टिम छ।
यसैगरी तामाको चम्चा बनाउन ६ जना कामदार छन्। अर्डर अनुसारको दियो र कछुवाहरु बनाउन थप जनशक्ति लाग्ने अनुष्का बताउँछिन्। नियमित कामदारबाहेक चाडका बेला तेब्बरसम्म कामदारहरु आबद्ध हुने गरेको उनले बताइन्।
कुरा सशक्तिकरणको
अनुष्कालाई केही अघि कसैले सुनाएछ, ‘छोरी चन्द्रमा पुगोस् भन्ने चाहना त सबैको हुन्छ तर घरका सबैलाई चिया पकाएर खुवाएर मात्र जाओस्’।
हाम्रो सामाजिक संरचनाहरुको निर्माण नै त्यसरी भएको छ जसलाई पूर्ण रुपमा भत्काउन लामो समय कुर्नुपर्छ। अनुष्काको बुझाइमा उनको आमाको समय त्यस्तै थियो।
बुवाआमा मुक्ता डाक्टर बनोस् भन्ने चाहन्थे। महेन्द्र भवनबाट आइएस्सी सकेपछि मुक्ताको मन सिलाइ बुनाइमा गयो। उनले दिल्ली गएर फेसन डिजाइनिङको कोर्स गरिन्। फर्केर बीएस्सी र डिजाइनिङको काम दुवै थालिन्। परम्परागत घरमा बुहारी बनेर भित्रिँदा भने फरक परिस्थिति भयो।

काममा खटेर घर आइपुग्दा ‘किन ढिला आयौ?’ भन्ने प्रवृत्ति अझै छ। यस्तोमा परिवारभित्रका महिला र पुरुष दुवैले आफ्नो भूमिका र तरिका बदल्न सके कामकाजी महिलाको आँट र आत्मविश्वास बढ्छ
बेलुकी ८ बजे घर फर्किँदा मध्यरातमा फर्किएजस्तो हुने। तर श्रीमानले छोरी बोकेर रातको १२ बजेसम्म पनि श्रीमतीसँगै बसेर उनको कामलाई साथ दिए। श्रीमानसँगै घर फर्किएपछि कसैले प्रश्न गर्ने ठाउँ रहेन।
‘श्रीमानले साथ दिएपछि परिवारको विश्वास आफैं बढ्ने रहेछ। परिवर्तन त्यसरी नै आयो। त्यो समय मलाई निकै गाह्रो थियो। किनभने मैले सपना पूरा गर्न मात्र होइन देख्न पनि संघर्ष नै गर्नुपरेको हो,’ हाँस्दै मुक्ताले सुनाइन्।
तर, अनुष्काका लागि समय फेरिइसकेको छ। उनलाई कामपछि घर आउँदा ढिला किन भनेर सोध्ने कोही छैन। बरु थाकेर आयौ कि भनेर मायाले सुम्सुम्याउने बुवाआमा छन्। वर्किङ प्यारेन्ट हुँदाका कठिनाइ र भोगेका अनुभवहरुले अनुष्काका बुवाआमाले छोरीहरुका लागि सजिलो बाटो बनाउन तल्लिन रहे। सधैं सहयोगी भूमिकामा बसे। त्यसले अनुष्कालाई छोटो समयमै स्थापित उद्यमी बनायो। उनीहरु परिवारमा सबै सदस्य मिलेर काम गर्छन्। महिलाहरुमा प्राकृतिक रुपमै परिवार ब्यालेन्स गर्ने शक्ति हुन्छ। घर भित्र र बाहिरको काममा पनि शतप्रतिशत दिन त्यतिबेला सकिन्छ जतिबेला घरका मानिसले साथ दिन्छन्।
अनुष्का भन्छिन्, ‘महिलाको सशक्तिकरण भनेको निरन्तर चल्ने प्रक्रिया हो। यसका लागि परिवारभित्रका सबै सदस्यहरुको सहयोग आवश्यक हुन्छ। काममा खटेर घर आइपुग्दा ‘किन ढिला आयौ?’ भन्ने प्रवृत्ति अझै छ। यस्तोमा परिवारभित्रका महिला र पुरुष दुवैले आफ्नो भूमिका र तरिका बदल्न सके कामकाजी महिलाको आँट र आत्मविश्वास बढ्छ।’
‘आत्मनिर्भरता सहजै आउँदैन‘
अनुष्काले थाहा पाएदेखि नै दसैंको पूजाआजामा उनीहरुको लागि सप्तमीको दिन विशेष छ। सप्तमीको दिन मन्दिर दर्शन गर्ने उनीहरुको पुरानो रुट छ। बिहानै खाली पेट निस्केर उनीहरु नक्साल भगवती दर्शन गर्छन्। त्यसपछि मैतीदेवी अनि शोभा भगवती। गुह्येश्वरी कालीकास्थान अनि भुवनेश्वरी दर्शन गर्ने चलन छ। यो सँगै रमाइलो के भने नक्साल भगवती बाहिरको पसलमा जुस, अनि मैतीदेवी मन्दिरबाहिर सेल च्या खाने चलन पनि बदलिएको छैन।

सबैतिर दर्शन गरिसकेपछि बाहिरै भेज खाना खाएर उनीहरु घर फर्किन्छन्। सानोबेलादेखिको त्यो नियम अहिले जति नै व्यस्त भएपनि नटुटेको अनुष्काले सुनाइन्।
टिकाको दिन घरको टिका, मामाघरको टिका। सानोमा अनुष्कालाई दक्षिणाहरुको खाम पाउँदा रमाइलो लाग्थ्यो। चंगा तास अनि नयाँ लुगा र घुमघाममा मात्र दसैं सीमित थियो। तर उद्यमी भएपछिको चटारो बेग्लै हुने रहेछ। आएका अर्डरहरुलाई समयमै पठाउनका लागि उनी खटिएकी छन्। ठूला व्यावसायिक घरानाहरुको अर्डरदेखि ससाना पुन्टे प्याकेटसम्म डेलिभरी दिनुपर्ने छ।
घरमा टिका लगाउन आउनेहरुलाई दिन मिल्ने गरी यसपाली उनले जमरा, दक्षिणा, रातो धागो, फूल, रोटी अनि पुष्टकारी राखेको आशिर्वाद प्याक पनि बनाएकी छन्।
उनी भन्छिन्, ‘हाम्रो घरमा टिका आउने ले पनि यस्तै प्याक पाउँछन्। कतै टिका लगाउन जाँदा कसैले मलाई माकुस्सेकै उपहार प्याकेट दियो भने त्यो रोमाञ्चक अनुभव हुनेछ।’
अनुष्काले अरु जुनसुकै उद्यममा हात हाल्न सक्थिन्। तर उनले मिठाइ नै रोजिन्। ‘हजुरआमा भन्नुहुन्छ पहिले पहिले नरदेवी छिर्दासाथ गुदपाक पुष्टकारीको बास्ना हरर आउँथ्यो । अहिले मरी पसलहरुमा पनि पुरानै पुस्ताले पकाइरहनुभएको देखिन्छ। कुरा गर्दा नयाँ पुस्ता यो काम भन्दा अरुमा रमाउन थालेको भान हुन्छ। बेकरीहरुमा केक बनाउन सिकाइन्छ तर पुष्टकारी वा गुदपाक बनाउन सिकाउने ठाउँ खोइ?’- उनले मासिँदै गएको परम्परागत मिठाईलाई जगेर्ना गर्दै उद्यम गर्ने सोचेर माकुस्सेको स्थापना गरेकी हुन्।


आत्मनिर्भरता सहजै आउँदैन। यसका लागि नियमित आम्दानी र उद्यमप्रति विश्वास हुनुपर्छ। तपाईहरुले किन्नु हुने स-साना पुष्टकारीका प्याकेटहरुले पनि यो बनाउन जोडिनुभएका धेरै परिवारमा दसैंको रौनक आउँछ।

स्थानीय कच्चा पदार्थ र श्रमको प्रयोगले जन्मेको उद्यमले गाउँ गाउँसम्म धेरैलाई आत्मनिर्भर बनाइरहेकोमा अनुष्का दंग छिन्। उनी माटे गाउँको दूग्ध किसानहरुसँग जोडिएकी छन्। लोक्ता उत्पादकहरुसँग मिलेर काम गर्छिन्। तामाको काम गर्ने कालीगढहरुसँग पनि उनको उद्यम मिसिएको छ। यो चक्र पूर्ण र नियमित भएमा मात्र आर्थिक रुपमा चलायमान रहिरहने उनको मिहीन विश्लेषण छ।
उनी भन्छिन्, ‘आत्मनिर्भरता सहजै आउँदैन। यसका लागि नियमित आम्दानी र उद्यमप्रति विश्वास हुनुपर्छ। तपाईहरुले किन्नु हुने स-साना पुष्टकारीका प्याकेटहरुले पनि यो बनाउन जोडिनुभएका धेरै परिवारमा दसैंको रौनक आउँछ। आर्थिक आत्मनिर्भरताको चक्र यसैगरी बढ्ने हो।’