
विराटनगर । कच्चा पदार्थको अभाव र महँगी बढेका कारण देशभरिका २३ वटा निर्यातमूलक प्लाइउड उद्योग बन्द भएका छन्।
नेपाल प्लाइउड उत्पादक संघले नयाँ आर्थिक वर्ष लागेपछि देशभरि चलिरहेका र निर्यात गर्दै आएका ८० मध्ये २३ वटा प्लाइउड उद्योग बन्द भएको जनाएको हो।
संघका अध्यक्ष होमप्रसाद घिमिरेले चालु आर्थिक वर्षमा प्लाइउडको कच्चा पदार्थ भेनियरको निर्यात साढे ७ गुणाले बढेपछि भारत निर्यातमा केन्द्रित प्लाइउड उद्योग बन्द हुने क्रम सुरु भएको बताए।
अध्यक्ष घिमिरेले यही क्रमले कच्चा पदार्थ भेनियरको निर्यात भइरहने हो भने एक वर्षमा प्लाइउडका ४० भन्दा बढी उद्योग बन्द हुने चेतावनी दिए। यसबाट वार्षिक १० अर्बभन्दा बढीको निर्यातमा असर पर्नेछ।
गत आर्थिक वर्ष २०८०/८१ म साढे ७ अर्बको प्लाइउड निर्यात भएको थियो। उद्योगीले गत आर्थिक वर्षमा देशभरिबाट १० अर्बको निर्यात हुने प्रक्षेपण गरेका थिए। तर, भारतीय गुणस्तर चिह्नको समस्याले निर्यातमा ३ महिना अवरोध उत्पन्न भयो। यसका कारण साढे ७ अर्बको निर्यात भएको थियो।
घिमिरेले चालु आर्थिक वर्षमा १० अर्बको निर्यात नाघ्ने लक्ष्य राखिएको भए पनि भेनियरको निर्यातले उद्योग नै बन्द हुन थालेको गुनासो गरे।
उनले संघले भेनियरको निर्यात शुल्कलाई दोब्बर बढाउन माग गरेको जानकारी दिए। निर्यात शुल्क दोब्बर नबढाए देशका सबै प्लाइउड उद्योगमा ताल्चा लगाए हुन्छ भन्ने उनको भनाइ छ।
आर्थिक ऐनले भेनियरको निर्यातमा प्रति किलो ६ रुपैयाँ शुल्क तोकेको छ। तर, भेनियरको निर्यात भने क्युबिक फिटमा गरिन्छ। यही छिद्र पक्रिएर निर्यातकर्ताले निर्यातशुल्क छली गर्न भेनियरको तौल नै कम उल्लेख गर्ने गरेको अन्य उद्योगीको आरोप छ।

भन्सार कार्यालयले पनि निर्यात हुने वस्तु भनेर यसको तौलमा खासै ध्यान दिने गरेका छैनन्। यसका कारण भेनियरका निर्यातकर्ताहरू निर्यातको प्रज्ञापनपत्रमा वास्तविक तौललाई घटाएर लेख्ने गर्दछन् र निर्यात शुल्क छली गरिरहेका छन्। भेनियरको निर्यात गुणात्मक रूपमा वृद्धि हुनुको कारण कम तौल लेखेर पठाउनु पनि हो भन्ने उद्योगीको भनाइ छ।
भन्सार विभागले उपलब्ध गराएको तथ्यांकअनुसार गत आर्थिक वर्षको साउन र भदौ २ महिनामा तुलनामा मूल्यका दृष्टिले चालु आर्थिक वर्षको २ महिनामा प्लाइउडको कच्चा पदार्थ भेनियरको निर्यात ६४१ प्रतिशतले वृद्धि हुँदा तयारी वस्तु प्लाइउडको निर्यात २३ प्रतिशतले मात्र बढेको छ।
जसअनुसार गत आर्थिक वर्षको पहिलो २ महिनामा २ करोड ७२ लाखको भेनियर निर्यात हुँदा चालु आवको सोही अवधिमा २० करोड १५ लाख रुपैयाँको निर्यात भइसकेको छ।
त्यस्तै, गत आर्थिक वर्षको भदौ सम्ममा १ अर्ब २२ करोड ४६ लाख मूल्यको प्लाइउड निर्यात हुँदा चालु आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ५१ करोड ६ लाख मूल्यको भएको छ।
अध्यक्ष घिमिरेले २ महिनामा २० करोड बराबरको भेनियरको निर्यात हुनु भनेको १६० करोडको प्लाइउडको उत्पादन र निर्यातमा असर पुग्नु हो भन्ने हिसाब दिए।
‘नेपालमा प्लाइका मुख्य ३ उत्पादन छन्– प्लाइउड, प्लाइबोर्ड र प्लाईका ढोकाहरू,’ घिमिरेले भने, ‘तीन वटै उत्पादनमा ७० देखि ८० प्रतिशतसम्मको मूल्य अभिवृद्धि हुन्छ। तर यी तीन वटै वस्तुको मुख्य कच्चा पदार्थ भेनियर उत्पादन गर्दा बढीमा १५ प्रतिशतको मात्र मूल्य अभिवृद्धि छ।’

भेनियरको प्रशोधन गरेर प्लाईका सामानको उत्पादन गर्दा बिजुली र श्रमको प्रयोग पनि उल्लेखनीय हुने उनको भनाइ छ। तर भेनियरकै निर्यातमा गुणात्मक वृद्धि भएपछि उद्योगले कच्चा पदार्थको अभाव भोग्न थालेका छन्।
गोलिया काठबाट निकालिएको १.६५ देखि २.३५ एमएम सम्मको सिट (पाता)लाई भेनियर भनिन्छ। यसको प्रशोधनबाट उत्पादन हुने प्लाइउड न्यूनतम ५ देखि १९ एमएम सम्मको हुन्छ।
संघका कोशी प्रदेश अध्यक्ष एवम् ओम उडका सञ्चालक सीताराम अग्रवालले सरकारको त्रुटिपूर्ण नीतिका कारणले प्लाइउडको मुख्य कच्चा पदार्थ नै सस्तोमा निर्यात भइरहेको आरोप लगाए।
अध्यक्ष अग्रवालले भने, ‘सरकारले भेनियरको निर्यातमा प्रति किलो ६ रुपैयाँ शुल्क लगाएको छ। यो निर्यात शुल्क अत्यन्त सस्तो छ। एक वर्षदेखि संघले प्रधानमन्त्री, उद्योग र अर्थमन्त्री लगायत मन्त्रालयका सचिवलाई समेत भेटेर निर्यात शुल्कमा वृद्धि गर्न माग गरिरहेको छ। तर कतैबाट सुनुवाइ भइरहेको छैन। यसका कारण देशभरिका प्लाइउड उद्योगमा संकटको बादल मडारिएको हो।’
विराटनगरको सेन्चुरी प्लाईका सञ्चालक विकास अग्रवालले हरेक देशले कच्चा पदार्थको भन्दा तयारी वस्तुको निर्यातलाई प्रोत्साहन गर्ने गरेको तर नेपालले कच्चा पदार्थको निर्यातलाई बढावा दिएको आरोप लगाए।
उद्योगी अग्रवालका अनुसार भारतका उद्योगले २ वर्ष अघिसम्म स्पन्ज आइरनको कच्चा पदार्थ आइरन ओरको निर्यात ठुलो परिमाणमा गरिरहेका थिए। यसका कारण स्पन्ज आइरन र तयारी स्टिल दुवैको निर्यातमा असर पुग्यो। यसपछि स्पन्ज आइरन र तयारी स्टिलका उद्योगीले आइरन ओरको निर्यातलाई निरूत्साहित गर्न लबिइङ सुरु गरे। उद्योगीका तर्क र आग्रह सुनेर भारत सरकारले आइरन ओरको निर्यातमा शुल्क बढायो। यसका कारण मूल्य अभिवृद्धि धेरै भएको तयारी स्टिल र अर्धतयारी स्पन्ज आइरनको निर्यातमा वृद्धि भएको छ।
यसैगरी नेपालले पनि भेनियरको निर्यात शुल्कमा वृद्धि गर्नुपर्ने अग्रवालको भनाइ छ।