काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद गीता बस्नेत यतिखेर प्रहरीको खोजी सूचीमा छिन्। सहकारी ठगीमा सरकारी वकिल कार्यालय रुपन्देहीले सांसद बस्नेतलाई फरार प्रतिवादी बनाएर अदालतमा ठगी मुद्दा दर्ता गरेको छ।
सांसद बस्नेतविरुद्ध सहकारी ऐन २०७४ को दफा १२२ को (त) बमोजिम कसुर गरेको अभियोगमा मुद्दा चलाइएको छ। यस दफामा भनिएको छ, ‘सहकारी सस्थालाई हानिनोक्सानी पुऱ्याउने उद्देश्यले कसैले कुनै काम गराउन वा नगराउन, मोलाहिजा गर्न वा गराउन, कुनै किसिमको रकम लिन वा दिन, बिना मूल्य वा कम मूल्यमा कुनै माल, वस्तु वा सेवा लिन वा दिन, दान, दातव्य, उपहार वा चन्दा लिन वा दिन, गलत लिखत तयार गर्न वा गराउन, अनुवाद गर्न वा गराउन वा गैरकानूनी लाभ वा हानि पुर्याउने बदनियतले कुनै कार्य गरे वा गराएमा।’
बस्नेत छिपछिपे सहकारी ठगीमा प्रत्यक्ष जोडिएकी पात्र भने होइनन्। उनले सहकारी ठगीबाट आएको रकम आफ्नो कम्पनीमार्फत खर्च गरेको देखिन्छ। उनको कम्पनीसम्म पैसा भने ज्वाइँ नगेन्द्रबहादुर रिमालले ल्याएका हुन्।
एमाले सांसद सूर्य थापाको नेतृत्वको छानबिन समितिले सोमबार प्रतिनिधि सभामा बुझाएको प्रतिवेदनमा पनि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सहकारी ठगीमा प्रत्यक्ष संलग्न नभएको देखाइए पनि कारबाहीको सिफारिस गरिएको छ। सहकारीबाट निकालिएको रकम रवि प्रबन्ध निर्देशक रहँदा टीभीमा खर्च गरेको देखिएको भन्दै समितिले कारबाहिको सिफारिस गरेको हो।
गोरखा मिडिया नेटवर्कमा सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था पोखरा, सुप्रिम बचत तथा ऋण सहकारी संस्था बुटवल, स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था काठमाडौं, सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था चितवन र सानोपाइला बचत तथा ऋण सहकारी संस्था वीरगंजमा बचतकर्ताले राखेको रकम प्रवाह भएको थियो। ६५ करोड रुपैयाँ यी सहकारीबाट प्रवाह भएको देखिन्छ। गोरखा मिडिया नेटवर्कले ग्यालेक्सी टीभी चलाएको थियो।
बस्नेतले पनि ९६ लाख रुपैयाँ दुई सहकारीबाट आफ्नो कम्पनीमा ल्याएको देखिएको हो। २०७५ वैशाख २६ गते कृष्णसार रिसोर्ट प्रालिको नाममा रहेको बैंक खातामा १० लाख रुपैयाँ दाखिला गरेको देखिएको छ। त्यसपछि पनि पटक पटक रकम दाखिला भएको छ। आफ्नो उपस्थिति नजनाई आएको रकम उनले कृष्णसार रिसोर्टको जग्गा जमिन र डेकोरेसनमा खर्च गरेकी थिइन्।
त्यस्तै अर्का ज्वाइँ अध्यक्ष रहेको सनराइज सहकारीबाट पनि त्यसरी नै रकम आएको देखिन्छ। यस्तो रकम व्यवसायमा मात्र नभएर चुनाव खर्चमा समेत प्रयोग गरेको अनुसन्धानमा देखिएको थियो।
रवि जोडिएको घटनामा पनि सहकारीबाट बचतकर्ताको ६५ करोड रुपैयाँ गोर्खा मिडियामा गएको छानबिनका क्रममा देखिएको छ। गोर्खा मिडियाले १० करोड मात्र आम्दानी गरेको देखिन्छ। सहकारीको रकम गोरखा मिडिया नेटवर्कका अध्यक्ष जीबी राईले ल्याएको देखिन्छ। राई सूर्यदर्शन सहकारीका पूर्व अध्यक्ष समेत हुन्। बस्नेत जस्तै रवि सहकारीका सदस्य र सञ्चालक होइनन्।
बस्नेत झैं सहकारीको बचत गोरखा मिडिया नेटवर्कमा प्रवाह गर्नमा रविको भूमिका देखिंदैन। तर, सहकारीबाट गोरखा मिडियामा आएको रकम परिचालनमा भने रवि सहभागी थिए। गोर्खा मिडिया नेटवर्कको चेकमा रविको हस्ताक्षर चल्थ्यो। यही आधारमा समितिले रविलाई कारबाहीको सिफारिस गरेको हो। त्यसैले बस्नेत प्रकरणको नजिरमा टेकेर पनि रविमाथि थप अनुसन्धान र कारबाही गर्ने बाटो देखिन्छ।
सरकारले समितिको सिफारिसका आधारमा नै मुद्दा चलाउन सक्दैन। त्यसका लागि सरकारी निकायले अनुसन्धान गर्नुपर्ने हुन्छ।