इन्डोनेसियाको पर्यटन प्रवर्धन गर्न काठमाडौंमा आयोजना गरियो ‘सेल्स मिसन’

बिजमाण्डू
२०८१ भदौ ३१ गते १९:०९ | Sep 16, 2024
इन्डोनेसियाको पर्यटन प्रवर्धन गर्न काठमाडौंमा आयोजना गरियो ‘सेल्स मिसन’


काठमाडौं । इन्डोनेसियाको पर्यटन तथा क्रिएटिभ-इकोनोमी सम्बद्ध मन्त्रालय तथा अन्य पर्यटन सम्बद्ध एजेन्सीले काठमाडौंमा ‘सेल्स मिसन’ आयोजना गरेको छ। इन्डोनेसियामा नेपाली पर्यटकको संख्या बढिरहँदा यो सेल्स मिसन आयोजना गरिएको हो।

Tata
GBIME
NLIC

सेल्स मिसनमा मन्त्रालय, बंगलादेश र नेपालस्थित इन्डोनेसियाली दूतावास सहित ३० भन्दा बढी पर्यटन उद्योग तथा कम्पनीहरुको सहकार्य थियो।

सो अवसरमा इन्डोनेसियाको पर्यटन उपमन्त्री नी माडे आयु मार्थिनी नि माडेले इन्डोनेसिया भ्रमण गर्ने नेपाली पर्यटकको बढ्दो संख्याले आफूहरु उत्साहित रहेको बताएकी थिइन्। पर्यटकको संख्या बढाउन ‘सेल्स मिसन’ र सचेतना अभियान जस्ता प्रवर्धनात्मक कार्यक्रमलाई नियमित रुपमा संचालन गर्ने उनले बताएकी थिइन्।

सेल्स मिसनमा सहभागीहरुले नेपाली पर्यटकलाई इन्डोनेसिया आउन अझै पनि कनेक्टिभिटी र भिसाको चुनौती रहेको बताएका थिए।

नेपाली पर्यटकहरुले भिसाको लागि बढी रकम तिर्नुपर्ने गुनासो आएपछि मार्थिनीले भने इन्डोनेसियाको भ्रमण प्याकेज अन्य देशको तुलनामा उचित मूल्यको भएकाले भिसा शुल्कले भार नपर्ने बताएकी थिइन्।

काठमाडौंमा भएको ‘वन्डरफुल इन्डोनेसिया सेल्स मिसन’मा बालीसँगै अन्य पाँचवटा नयाँ गन्तव्यहरुबारे प्रस्तुतिकरण दिइएको थियो। जसमा लेक टोबा, बोरोबुदुर मन्दिर, मण्डलिका, लाबुआन बाजो र लिकुपाङका ५ मुख्य गन्तव्य समावेश थिए।