बुद्ध एयरले बिदा गरेको एटीआर-४२ जहाज जसले १६ वर्षमा दियो १८ लाख यात्रुलाई सेवा

बिजमाण्डू
२०८१ भदौ २५ गते १२:५१ | Sep 10, 2024
बुद्ध एयरले बिदा गरेको एटीआर-४२ जहाज जसले १६ वर्षमा दियो १८ लाख यात्रुलाई सेवा


काठमाडौं। १८ लाख यात्रुलाई सेवा दिएको बुद्ध एयरको एटीआर-४२ सिरिजको जहाजलाई बिदा गरिएको छ। मंगलबार त्रिभुवन विमानस्थलमा एक कार्यक्रम गरी जहाजलाई बिदा गरिएको हो।

Tata
GBIME
NLIC

बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतले एटीआर कम्पनीकै इतिहासमा पहिलोपटक जहाजको ससम्मान बिदा गरिएको बताए।

बुद्ध एयरले यो जहाजमा सन् २००८ सेप्टेम्बर ७ यता ४७ हजार ४७७ उडान गरेको छ।

जहाजले अन्तिम उडान मंगलबार बिहान गर्‍यो। अन्तिम उडानमा हिमालयन बैंकका कर्मचारी थिए। बुद्ध एयरले बैंकका कर्मचारीलाई मंगलबार बिहान यो जहाजमा माउन्टेन फ्लाइट गराएको हो। यो नै बुद्धको पहिलो एटीआर जहाज हो।

कम्पनीसँग हाल १८ वटा जहाज छन्। बुद्धका दुईवटा एटीआर ४२-३२० सिरिजको जहाजको पनि फ्लाइङ साइकल घट्दै छ। दुई वर्षभित्र ती दुई जहाज पनि फेजआउट हुने चरणमा छन्।

अध्यक्ष बस्नेतले जहाजले पूरै फ्लाइङ साइकल पूरा गरेको भन्दै कम्पनीका लागि यो सफलता भएको बताए। जहाजमा कुल ७० हजार फ्लाइङ साइकल थियो।

एटीआरका प्रतिनिधि पवन तनवारीले नेपाल जस्तो भौगोलिक अवस्था भएको मुलुकमा जहाजले पूरै फ्लाइङ साइकल पूरा गर्नु एटीआरको ठूलो सफलता भएको बताए। ‘जहाजले पूरै फ्लाइङ साइकल पूरा गर्नु एटीआरको ठूलो सफलता हो। यसको श्रेय बुद्ध एयरलाई जान्छ,’ उनले भने।

कार्यक्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिन्जी शेर्पा, हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणा लगायतले जहाजलाई कुशलतापूर्वक सञ्चालन गरेर बिदाई गरेकामा बुद्ध एयरलाई बधाई दिए।

कम्पनीले यो जहाज विमानस्थल परिसरमै रहने गरी नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)लाई हस्तान्तरण गर्ने भएको छ। जहाजमा भएका उपकरण सदुपयोग गर्ने र बाँकी संरचना ‘बाहिरी आवरण’ फायर फाइटिङ अभ्यासका लागि दिने कम्पनीको तयारी छ।