मेलम्चीको भ्रष्टाचारः पूर्वसचिव ठाकुरसहित चार जना दोषी ठहर, भीम उपाध्यायसहित ११ लाई सफाइ



बिजमाण्डू
२०८१ भदौ २४ गते २१:०६ | Sep 9, 2024
मेलम्चीको भ्रष्टाचारः पूर्वसचिव ठाकुरसहित चार जना दोषी ठहर, भीम उपाध्यायसहित ११ लाई सफाइ

काठमाडौं। विशेष अदालतले मेलम्ची खानेपानी आयोजनाको अनियमितता प्रकरणमा मा पूर्वसचिव गजेन्द्र ठाकुरसहित चार जनालाई भ्रष्टाचारी ठहर गरेको छ।

Tata
GBIME
Zonsen

अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले पूर्वसचिव ठाकुर, मेलम्ची खानेपानीका तत्कालीन कार्यकारी निर्देशक सूर्यराज कँडेल, लेखा उत्तरदायी अधिकृत रामचन्द्र देवकोटा र परामर्शदाता शिवकुमार शर्मालाई भ्रष्टाचारी ठहर गरेको हो।

अदालतले परामर्शदाता तथा निर्माण कार्यमा संलग्न चार कम्पनीलाई पनि बिगो अनुसार जरिवानाको फैसला गरेको छ। अदालतले असोज ७ गते सजाय निर्धारण गर्नेछ।

अदालतले ठाकुरलाई १० करोड १० लाख ६१ हजार ७५ रुपैयाँ बिगो कायम भएको छ । यस्तै, कँडेललाई पनि अदालतले १० करोड १० लाख ६१ हजार ७५ रुपैयाँ नै बिगो कायम गरेको छ। देवकोटालाई भने दुई करोड ९५ लाख ६५ हजार ६०३ रुपैयाँ बिगो कायम गरिएको छ।

परामर्शदाता कम्पनीका शर्मालाई दुई करोड ९५ लाख ६५ हजार ६०३ रुपैयाँ नै बिगो कायम भएको छ।

बिइटिएस कम्पनीलाई ६ करोड २१ लाख ९३ हजार ५९६ रुपैयाँ र सिएमसीका लागि २६ करोड ११ लाख ६ हजार ९९१ रुपैयाँ बिगो कायम भएको छ।

कसले पाए सफाइ
अदालतले डा. सञ्जय शर्मा, भीमप्रसाद उपाध्याय, मुकुन्दप्रसाद पौडेल र रुद्रसिंह तामाङलाई सफाइ दिएको छ। शर्मा र उपाध्याय पूर्व सचिव हुन्। तामाङ बहालवाला सहसचिव हुन्। मुद्दाका कारण निलम्बनमा रहेका थिए। सफाइ पाएसँगै अब फुकुवाको प्रक्रिया सुरु हुने छ।

बोर्ड सदस्य चन्द्रबहादुर थापाले पनि सफाइ पाएका छन्। सफाइ पाउनेमा घनश्याम भट्टराई, मणिभद्र न्यौपाने, रामचन्द्र न्यौपाने, बेगनाथ पौडेल, केदारप्रसाद अर्याल र भोजविक्रम थापा छन्।