काठमाडौं। जीवन बीमा बजारमा पछिल्लो केही वर्षयता चर्चित नाम हो अन्जन भण्डारी। त्यसको कारण एउटै कारण हो, भण्डारीले बीमा कम्पनीको अभिकर्ता सुरु गरेको छोटो समयमै सबैलाई चकित पार्नेगरी गरेको व्यापार।
लाइफ इन्स्योरेन्स कर्पोरेसन(एलआईसी)मा अभिकर्ता(एजेन्ट)रहेका उनले अर्बौ रुपैयाँको प्रिमियम उठाउन पोलिसी बिक्री गरे। त्यसबापत करोडौं रुपैयाँ कमिसन पाए।
उनै भण्डारीलाई एलआइसीले पटकपटक सर्वोत्कृष्ट अभिकर्ताको रुपमा पुरस्कृत मात्रै गरेन, विश्वमै सबैभन्दा बढी बीमा गराउने अभिकर्ता घोषणा समेत गरिदियो।
भण्डारीले एलआईसीमा सन् २००८ देखि २०२३ सम्म बीमा अभिकर्ताको रुपमा संकलन गरेको प्रिमियमबापत ६४ करोड ८ लाख ७० हजार १९४ रुपैयाँ कमिसन कमाएको बिजमाण्डूलाई प्राप्त तथ्यबाट खुल्छ। यसबाट उनले सरकारलाई ९ करोड ६१ लाख ३० हजार ५२९ रुपैयाँ कर तिरेको देखिन्छ।
कमिसन प्राप्तिका लागि उनले कम्पनीलाई २ अर्ब १६ करोड ६१ लाख २० हजार ८९० रुपैयाँ प्रिमियम संकलन गरिदिए। उनले पोहोर चैतसम्म १ हजार ८ सय ९९ बीमा लेख बिक्री गरेको खुलेको छ।
दुई तीन वर्षअघि केही जीवन बीमा कम्पनीले एक वर्षमा गर्ने व्यवसायभन्दा भण्डारीले उठाएको प्रिमियम रकम धेरै हो।
एकै वर्ष करोडौं रकम प्रिमियम उठाउन थालेपछि उनले आफू एक्लैले बीमा कम्पनीको व्यवसायलाई जित्ने अभिव्यक्ति समेत दिए। नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार बीमा कम्पनीहरुमा २ लाख ७७ हजारभन्दा बढी अभिकर्ता छन्।
यी सबै अभिकर्तालाई पछि पार्दै भण्डारी सन् २०१८ ताका सर्वाधिक पोलिसी बिक्री गर्ने अभिकर्ताको सूचीमा आए।
न्यून बीमा साक्षरता र कमजोर आर्थिक स्थितिका कारण पोलिसी सरेन्डरदर उच्च रहेको बीमा प्राधिकरणकै अधिकारीहरु बताउँछन्। तर, व्यापारीसँगको सम्बन्ध र बीमा कम्पनीका उच्च अधिकारीसँगको मिलेमतोमा भण्डारीले अस्वाभाविक प्रिमियम संकलन देखाएको हुनसक्ने आशंका गरिएको छ।
एक व्यक्तिले स्वच्छ रुपमा काम गर्दा कम्पनीकोभन्दा धेरै व्यवसाय कसरी बढाउन सक्छ भन्ने शंका हुनु स्वाभाविक नै हो। तर, नियामक नेपाल बीमा प्राधिकरण अभिकर्ता र कम्पनीले पटकपटक शंकास्पद कारोबार गर्दा समेत बेखबर जस्तै रह्यो।
कम्पनीलाई नै पोलिसी बिक्री गर्न सकस परिरहेका बेला उनको अस्वाभाविक व्यवसाय विस्तारको विषय सम्पत्ति शुद्धीकरण, अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायत निकायहरुसम्म पुग्यो।
सिन्धुपाल्चोकको ग्रामिण क्षेत्रमा जन्मिएको बताउने भण्डारीले यति छोटो समयमै कहाँ र कसरी पोलिसी बेचेर प्रिमियम आर्जन गरे र ६४ करोड कमिसनबापत कमाए भन्ने विषयले झनै शंका उब्जाएको छ।
स्रोतका अनुसार उनले न्यूरोडका ठूला व्यापारीहरुको बीमा गराएको जवाफ दिने गरेका छन्। ‘उनको कारोबार पहिलेदेखि नै सम्पत्ति शुद्धीकरण र अख्तियारको शंकामा थियो। उनले न्यूरोडका व्यापारीको बीमा गरेर प्रिमियम संकलन गरेको बताउँदै आएका छन्,’ स्रोतले भन्यो।
प्राधिकरणका एक निर्देशकले बीमा गराउने र पोलिसी त्याग्न लगाउने भण्डारीको आम्दानी अस्वाभाविक देखिएकाले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले यस विषयमा अनुसन्धान गरिरहेको बताए। ‘भण्डारीले बीमा गराउने र त्याग्न लगाउने गरेको देखियो,’ उनले भने, ‘अस्वाभाविक कारोबार र आम्दानी देखिएकोले सम्पत्ति शुद्धीकरणले हेरिरहेको छ।’
भण्डारीले भने आफूले ६४ करोड ८ लाख कमिसन नपाएको दाबी गरेका छन्। उनले कम्पनीबाट ऋण लिएको रकम समेत त्रुटिवश् कमिसनमा जोडिएकाले धेरै देखिएको बताए।
‘मेरो सारा सम्पत्ति जोडे पनि यत्ति पैसा पुग्दैन। मैले कम्पनीबाट केही रकम ऋण लिएको थिएँ। त्यो रकम तिर्दा पनि त्रुटिवश् बाँकी नै देखियो,’ उनले भने, ‘सम्पत्ति शुद्धीकरण विभागले ममाथि अहिलेसम्म अनुसन्धान गरेको छैन। कम्पनीलाई केही कुरा सोधेको हुन सक्छ।’
उनले सम्पत्ति शुद्धिकरणको अनुसन्धानमा तानिएको कुरा अस्वीकार गरेपनि उनले आर्जन गरेको कमिसन लगायत विषयमा कम्पनीले विभागलाई आवश्यक विवरण उपलब्ध गराएको देखिन्छ।
स्रोत नहेरी र नखुलाई बीमा गर्दा अन्य हिसाबले पनि घातक हुने प्राधिकरणका पूर्वअध्यक्ष चिरञ्जीवि चापागाईं बताउँछन्। ‘स्रोत नहेरी बीमा गरियो भने त्यो घातक हुन्छ। किनभने बीमा रकमकै लागि आफ्नै परिवारका सदस्यको हत्या भएका कैयौं घटना छन्,’ उनले भने।
भण्डारीले जस्तै बीमा गर्ने प्रवृति बढ्दै गएपछि प्राधिकरणले प्रत्येक त्रैमासको अन्तिम दिन नयाँ पोलिसी बिक्री गर्न प्रतिबन्ध लगाएको छ।
‘जीवन बीमा कम्पनीहरुमा कमिसनका लागि एजेन्टले बीमितको अवस्था नहेरेर पोलिसी बिक्री गरेको पाइएपछि अभिकर्तालाई दिने इन्सेन्टिभ लगायत सुविधाको पोलिसी बिक्री नगर्न प्राधिकरणले निर्देशन दिएको हो,’ प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदीले भने।