काठमाडौं। दसैं आउन एक महिना अगाडिदेखि नै देशका विभिन्न गन्तव्यको हवाई टिकट बुकिङ हुन थालेको छ। यात्रुहरुले दसैंका बेला अभाव हुन सक्ने भन्दै अहिलेबाट नै टिकट बुकिङ गर्न थालेका हुन्।
दसैंका लागि देशका पश्चिमी क्षेत्रका गन्तव्यको टिकट बुकिङ गर्ने क्रम बढेको वायुसेवा प्रदायक कम्पनीहरुले जनाएका छन्। खासगरी पश्चिमी गन्तव्यमा सडकको अवस्था निकै खराब रहेका कारण यात्रुहरुले हवाई टिकट बुकिङ गर्न थालेका हुन्।
भत्काएर छोडिएका कारण नारायणगढ-बुटवल सडकको यात्रा निकै कष्टपूर्ण छ। निर्माण कम्पनीले कालोपत्रे गर्नुको साटो भत्काएर अलपत्र छोडेकाले यो सडक पार गर्न सामान्य अवस्थाको भन्दा निकै समय लाग्छ। सडकको दुरावस्था सम्झेर पश्चिम क्षेत्रका वासिन्दाले अहिलेदेखि नै हवाई टिकट बुकिङ गर्न थालेका हुन्।
श्री एयरलाइन्सका प्रवक्ता अनिल मानन्धरले खासगरी भैरहवा, नेपालगंज, सुर्खेत र धनगढीको टिकट बुकिङ भइरहेको बताए। ‘सडक खराब भएकाले हुनसक्छ पश्चिमी गन्तव्यतर्फ दसैंका लागि अहिलेदेखि नै टिकट बुकिङ हुन थालेको छ,’ उनले भने।
त्यसो त पूर्वतर्फ तुम्लिङटार जान टिकट नै नपाउने अवस्था आइसकेको छ। यो गन्तव्यमा बुद्ध एयरले एटीआर-७२ मार्फत दैनिक एउटा उडान गर्दै आएकामा दसैंका लागि टिकट बुकिङ भइसकेको कम्पनीका सूचना अधिकारी दीपेन्द्र कुमार कर्णले जानकारी दिए।
‘दसैंका लागि तुम्लिङटारको लागि टिकट बुकिङ भइसकेको छ,’ कर्णले भने, ‘अन्य गन्तव्यमा भने बल्ल बुकिङ सुरु भएको छ। धेरैजसो गन्तव्यमा जहाज र उडान धेरै रहेकाले टिकट पाउन मुस्किल हुने देखिंदैन।’
दसैंमा हवाई टिकटको माग हुन्छ। दसैं रहेको समयमा यसपालि पर्यटकीय सिजन परेको छ। त्यही कारण वायुसेवा प्रदायक कम्पनीहरु यात्रुको चाप हेरेर माग धेरै हुने गन्तव्यमा उडान बढाउने तयारीमा छन्।
‘सेप्टेम्बरसम्मका लागि उडान बढाउनु पर्दैन। अक्टोबर लागेपछि आवश्यक परे उडान बढाउन सकिन्छ। उडान कहाँ कति बढाउने भन्ने टिकटको माग अनुसार हुन्छ,’ कर्णले भने।
विगतका दसैंमा सुर्खेतमा हुने उडानको टिकट अभाव हुने गरेकामा यसपालि यात्रुहरुले सहजै पाउने वायुसेवा प्रदायक कम्पनीहरुले बताएका छन्। सुर्खेतमा ठूला जहाजमार्फत बुद्ध एयरले ३ र श्री एयरलाइन्सले २ वटा उडान गर्दै आएका छन्।
टिकटको माग हेरेर भाडा बढाउने वायुसेवा प्रदायक कम्पनीहरुको तयारी छ। ‘दसैंको समयमा एकतर्फी अकुपेन्सी मात्र हुने भएका कारण भाडादर औसतभन्दा बढी नै हुन्छ,’ कर्णले भने।
यती एयरलाइन्सले पर्यटकीय सिजनकै समयमा दसैं परेकाले खासगरी विकट गन्तव्यतर्फ माग धान्न गाह्रो हुने आकलन गरेको छ। ‘बझाङ, सिमकोट, जोमसोम लगायत गन्तव्यमा उडान गर्ने जहाज कम भएका कारण टिकट पाउन गाह्रो हुन सक्छ,’ कम्पनीका उडान सुरक्षा प्रमुख एवं प्रवक्ता सुदर्शन बर्तौलाले भने।
उनका अनुसार दसैंका लागि टिकट बुकिङ गर्नेको संख्या अहिलेसम्म न्यून छ। ‘अन्तिम घडीमा आएर टिकट काट्ने प्रवृत्ति छ। अहिलेसम्म दसैं आसपासका दिनका लागि टिकट धेरै गएको छैन,’ उनले भने।
घटस्थापनाको दिनका लागि कुन गन्तव्यको भाडादर कति?
उडान गन्तव्य | अधिकतम | सुरुवाती भाडादर |
काठमाडौं-धनगढी | १७,०१०/- | १०,८००/- |
काठमाडौं-राजविराज | ८,५१३/- | ५,९२२/- |
काठमाडौं-भैरहवा | ८,५६४/- | ५,२००/- |
काठमाडौं-भरतपुर | ४,६९३/- | ४,६९३/- |
काठमाडौं-भद्रपुर | १,२२६०/- | ७,०००/- |
काठमाडौं-विराटनगर | ९,९०३/- | ६,०००/- |
काठमाडौं-सिमरा | ४,०२७/- | ४,०२०/- |
काठमाडौं-सुर्खेत | १,४०२७/- | ९,५००/- |
काठमाडौं-पोखरा | ६,७१५/- | ४,४००/- |
काठमाडौं-नेपालगंज | १३,२६४/- | ६,६००/- |