घटेको बजारमा लघुवित्तको सेयर मूल्य वृद्धिले लगानीकर्तामा आशाको संचार, के पुरानै अवस्था आउला?



आकाश बोगटी
२०८१ भदौ २३ गते २०:०६ | Sep 8, 2024
घटेको बजारमा लघुवित्तको सेयर मूल्य वृद्धिले लगानीकर्तामा आशाको संचार, के पुरानै अवस्था आउला?

काठमाडौं। नेप्सेमा आइतबार २५.४६ अंकको गिरावट आउँदा लघुवित्त उपसमूह ६३.१० अंकले उकालो लाग्यो। घटेको बजारमा माहुली र सृजनशील लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो।

Tata
GBIME
Zonsen

कारोबारमा आएका ५० मध्ये ४० लघुवित्तको सेयर मूल्य बढ्यो। सम्रग बजार घट्दा लघुवित्त कम्पनीको सेयर मूल्य किन बढ्यो त?

पछिल्लो समय केन्द्रीय बैंकले लिएको लचिलो नीतिका कारण लघुवित्त कम्पनी लगानीकर्ताको छनोटमा परेको जानकारहरु बताउँछन्।

ऋण मिनाहा गर्नुपर्ने आन्दोलनका कारण असुली प्रभावित भइ व्यसाय नै प्रभावित भइरहेको अवस्थामा केन्द्रीय बैंकको लचिलो नीतिले लघुवित्तलाई राहत पुगेसँगै सेयरमा पनि आकर्षण देखिएको उनीहरुको भनाइ छ।  

राष्ट्र बैंकले हालै सर्कुलर जारी गर्दै ५ प्रतिशत कर्जा नोक्सानी छुट्याएर लघुवित्तलाई कर्जा पुनर्संरचना र पुनर्तालिकीकरण गर्न सक्ने सुविधा दिएको छ।

साथै, असल ऋणबापत गर्नुपर्ने नोक्सानी व्यवस्थालाई पनि १.२० प्रतिशतबाट घटाएर १.१० प्रतिशतमा झारिएको छ। यसले लघुवित्त संस्थाहरुको नोक्सानी कम भई नाफा बढाउन सहयोग पुग्नेछ।

सेयर विश्लेषक नवराज बुर्लाकोटी केन्द्रीय बैंकले लिएको लचिलो नीतिले रिर्टनको अपेक्षासहित लगानीकर्ता लघुवित्तमा आकर्षित हुन थालेको बताउँछन्।

‘माइक्रोफाइनान्स उपसमूह केही समयदेखि स्टेबल रहेकामा राष्ट्र बैंकको पोजिटिभ सिग्नल दिएको छ,‘ उनले भने, ‘अधिकांश लाभांश दिन सक्ने क्षमतामा छन। १५ प्रतिशतसम्म बोनस सेयर दिने क्षमता भएका माइक्रोफाइनान्सले रिजर्भमा धेरै ट्रान्सफर गर्नु पर्दैन। यो बुझेर लगानीकर्ताले लघुवित्त रोजेको देखिन्छ।’ 

उनले वित्तीय अवस्था कमजोर भएका फाइनान्स र जलविद्युत कम्पनीको सेयर मूल्यमा भएको अस्वाभाविक वृद्धिलाई लिएर धेरैतिर प्रश्न उठेकाले पनि लगानीकर्ता लघुवित्ततिर लागेको बताए। उनका अनुसार लघुवित्तको पुँजी कम हुनु पनि लगानीकर्ताको रोजाइमा पर्नुको कारण हो।

‘पुँजी कम भएका फाइनान्स भन्दा माइक्रोफाइनान्सको अवस्था निकै मजबुत छ। त्यसैले रिर्टनलाई हेरेर लगानीकर्ता यता मोडिएका हुन्,’ उनले भने, ‘हाम्रो बजारमा नगद लाभांशभन्दा पनि बोनस सेयरलाई प्राथमिकता दिइन्छ। अधिकांश माइक्रोफाइनान्सको वितरणयोग्य नाफा हेर्दा बोनस दिने देखिन्छ। पछिल्लो १००–१८० दिनको औसत मूल्य हेर्दा माइक्रोफाइनान्सको सेयर लिंदा फाइनान्सिङ अलि बढी पाइने अवस्था पनि छ।’

स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालका पूर्वअध्यक्ष सन्तोष मैनाली सप्लाइ बेस ट्रेडिङले गर्दा लघुवित्तको सूचक उकालो लागेको बताउँछन्। ‘राष्ट्र बैंकको नीतिको इम्याक्ट पनि छ। त्योभन्दा पनि सप्लाइ कम भएको कम्पनीहरुको सेयर मूल्य बढेको देखिन्छ,‘ उनले भने।

कुनै समय यस्तो थियो, अधिकांश लगानीकर्ताको रोजाइमा लघुवित्त थिए। तर, राष्ट्र बैंकले लघुवित्तलाई बोनस सेयर वितरणमा कडाइ गर्दा बजारमा कतिपयले लघुवित्तविरोधी आन्दोलन नै गरेपछि मूल्य निरन्तर ओरालो लाग्न पुगेको थियो।