इभीमा प्रतिस्पर्धासँगै ग्राहक खोसिने डर, डेलिभरी समय छोट्याउँदै नाडाका बुकिङमा दसैंअघि नै गाडी दिने



शुक्र गिरी
२०८१ भदौ २३ गते ०९:१४ | Sep 8, 2024
इभीमा प्रतिस्पर्धासँगै ग्राहक खोसिने डर, डेलिभरी समय छोट्याउँदै नाडाका बुकिङमा दसैंअघि नै गाडी दिने

काठमाडौं। नाडा अटो शोमा बुकिङ भएका गाडीहरु ग्राहकले दसैं अगाडि नै डेलिभरी पाउने भएका छन्। यही भदौ ११-१६ मा आयोजित सवारी मेला नाडा अटो शो-२०२४ मा बुकिङ भएका ४ हजार सवारीसाधन छिटै दिने तयारी बिक्रेता कम्पनीहरुको छ।

Tata
GBIME
Zonsen

६ दिन चलेको नाडा अटो शोमा ग्राहकले दुईपाङ्ग्रे र चारपाङ्ग्रे गरी ४२ सयभन्दा बढी सवारीसाधन बुकिङ गरेका थिए। गाडी मन पराएर बुकिङ गरेकाहरुले ढिला पाउँदा अरू रोज्ने सम्भावना बढ्छ। त्यसैले छिटै गाडी दिन बिक्रेता कम्पनीहरु हतारिएका छन्। दसैं अगाडि नै गाडी डेलिभरी गर्न व्यवसायीहरु केहीले एलसी खोलिसकेका छन् भने केही खोल्ने तयारीमा छन्।

यसअघिका अटो शो या दसैंको अफर योजनामा बुक भएका गाडीहरु हुन्, ग्राहकहरुलाई डेलिभरी दिन भने धेरै समय लाग्ने गरेको थियो। त्यति बेला केही ब्रान्डहरुले मात्रै प्रभुत्व जमाएका थिए। तर यो पटक भने बजारमा इभीको प्रतिस्पर्धा धेरै नै देखिएको छ। जसका कारण व्यवसायीहरुले नाडामा बुक भएका सवारीसाधन समयमा डेलिभरी दिन सकेनन् भने ग्राहकहरु खोसिने प्रतिस्पर्धा चल्ने छ। किनभने पहिलेको जस्तो ग्राहकहरु ४-५ महिना कुरेर गाडी खरिद गर्ने अवस्था छैनन्। बजारमा विकल्पहरु धेरै आइसकेका छन्।

त्यसैले इभीमा प्रतिस्पर्धा बढेसँगै ग्राहक खोसिने डरले नाडामा बुक भएका सवारीसाधनको डेलिभरी केही व्यवसायीहरुले सुरु गरिसकेका छन्। केहीले असोजबाट गर्ने तयारी गरिरहेका छन्। केहीको आयातित गाडीको लट बाटोमा छन् भने केही बिक्रेता कम्पनी एलसी खोल्ने चटारोमा छन्।

नाडामा भएका गाडीका बुकिङ सबै नै बिजनेसमा कन्भर्ट हुन गाह्रो हुने गरेको छ। त्यसैले व्यवसायीहरुले पनि नाडा बुकिङ भएका कुल गाडीको ६० प्रतिशत मात्रै बिजनेसमा कन्भर्ट हुने आकलन गर्दै त्यहीअनुसार गाडी ल्याएका छन्।

जस्तै नाडामा ७०० गाडी बुकिङ हुनेको बिजनेस भनेको ४०० युनिट मात्रै डेलिभरी आवश्यक हुन्छ। व्यवसायीहरुले पनि त्यही अनुसार गाडी उत्पादक कम्पनीसँग अर्डर गरेका छन्।

अधिकांशको डेलिभरी सुरु

टाटा गाडीको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले दसैं अगाडि नै सबै गाडी डेलिभरी दिने गरी काम सुरु गरेको छ। कम्पनीले नाडा अगाडि नै गाडी डेलिभरी दिन आयात गरेको थियो। कम्पनीले नाडामा पन्च इभी र टियागो इभी प्रदर्शनीमा राखेर बुकिङ लिएको थियो। कम्पनीले नाडामा टाटा पन्च इभी ४७५ युनिट र टियागो इभी १६९ युनिट गरी कुल ६४४ वटा बुकिङ लिएको थियो।

नाडा अटो शो सकिएपछि पन्च इभी पनि ग्राहकहरुलाई डेलिभरी दिन सुरु गरिएको सिप्रदीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजनबाबु श्रेष्ठले बताए। ‘हामीले नाडा अगाडि नै गाडी नेपाल ल्याएका थियौं। नाडामा बुकिङ गर्ने ग्राहकहरुलाई डेलिभरी दिन सुरु भइसकेको छ,’ उनले भने, ‘नाडा अटो शो चल्दा नै गाडीहरु डेलिभरी दिन सुरु गरिएको थियो। दसैं अगाडि सबै गाडी डेलिभरी दिएर सक्ने योजना हाम्रो छ। फेरि दसैं अफरमा बुकिङ हुने गाडीहरु पनि डेलिभरी दिनुपर्ने हुन्छ।’

यसैगरी बीवाइडीले नाडामा बुकिङ भएका गाडीहरु ग्राहकलाई डेलिभरी दिन थालेको छ। आधिकारिक बिक्रेता साइमेक्स इंकले नाडामा ७७० युनिट गाडी बुक भएको जनाएको छ। कम्पनीले एटो थ्रीको नयाँ भेरियन्ट र डल्फिन गाडीको बुकिङ लिएको थियो। उक्त गाडीहरु अहिले बैंकिङ कागजात मिलाएर डेलिभरी अर्डर ल्याएका ७ दिनभित्र दिने काम भइरहेको कम्पनीले जनाएको छ। नाडामा बुकिङ भएका गाडीहरु डेलिभरी दिन कुनै समस्या नरहेको कम्पनीको दाबी छ।

यस्तै एमजी(मोरिस ग्यारेज) को आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले पनि गाडी डेलिभरी दिन थालेको छ। कम्पनीले नाडामा एमजी जेडएस इभीको ५ लाख मूल्य घटाएर बुिकङ लिएको थियो। कम्पनीले नाडाभरी ६ दिनमा १५० युनिट गाडी बुकिङ लिएकोमा अहिले उक्त गाडीहरु डेलिभरी गरिरहेको छ।

पारामाउन्ट मोटर्समा महाप्रबन्धक सचिन अर्यालका अनुसार अहिले गाडी स्टकमा भएकाले डेलिभरी गरिएको छ। ‘नाडामा बुकिङ भएका गाडीहरु डेलिभरी गर्न कुनै समस्या छैन। हामीले स्टकमा गाडी भएकाले त्यही अनुसार अफर योजना ल्याएका हौं,’ उनले भने, ‘हामीलाई गाडी डेलिभरी गरिरहेका छौं। हामीसँग गाडी पर्याप्त छन्।’

उनका अनुसार एमजीको स्पोर्ट्स कार साइबरस्टर पनि ६ वटा बुकिङ भएको छ। त्यसको पनि डेलिभरीका लागि अहिले बैंकिङ तथा अन्य पेपरवर्क भइरहेको छ।

चांगन डीपल गाडी एस०७ र सेडान एल०७ को पनि गाडी डेलिभरी दिन थालिएको छ। डीपलको आधिकारिक बिक्रेता एमएडब्लु वृद्धि अटोकर्पका प्रबन्ध निर्देशक विवेक सिकारियाका अनुसार डीपल गाडी अहिले पनि डेलिभरी भइरहेको छ। डीपलको नाडा अटो शोभरी डिलरसहित कम्पनीले १६५ युनिट गाडी बुकिङ लिएको थियो। उक्त बुकिङ भएका गाडीहरु डेलिभरी भइरहेका सिकारियाले बताए।

यस्तै यही कम्पनीले ल्याएको अर्को गाडी सेरेसको पनि अहिले डेलिभरी भइरहेको छ। कम्पनीले नाडामा बुकिङ भएका २१० युनिट गाडीको ६० प्रतिशत मात्रै बिजनेसमा कन्भर्ट हुने भएकाले त्यही अनुसार गाडी कम्पनीसँग स्टकमा रहेको वृद्धि अटोकर्पका बिजनेस हेड प्रसन्न पन्तले बताए।

‘हामीले नाडामा बुकिङ भएका गाडीको बिजनेसमा कन्भर्ट हुने रेसियोअनुसार योजना बनाएका छौं। हामीसँग नाडामा बुकिङ भएका गाडीहरुको ग्राहकहरुलाई डेलिभरी दिन सक्ने अवस्थामा छौं,’ उनले भने।

ओमोडा गाडी पनि अहिले डेलिभरी भइरहेको छ। ओमोडा गाडीको आधिकारिक बिक्रेता शारडा ग्रुप अन्तर्गतको एसपीजी अटोकोबाइल्सले नाडामा ओमोडा, जेको र जिकर गरी ३८० युनिट गाडी बुकिङ लिएको थियो। त्यसमा १७० ओमोडा बुकिङ भएका थिए। जसका लागि कम्पनीसँग अहिले पनि गाडी स्टकमा छ। कम्पनीले नाडा अटो शोभन्दा अगाडि नै नेपाल ल्याएको गाडी अझै छन्। त्यही अनुसार गाडी डेलिभरी दिने तयारीमा रहेको कम्पनीले जनाएको छ।

दुई पाङ्ग्रेमा रोयल इन्फिल्डले पनि आफ्नो नयाँ बाइक हिमालयन ४५० को डेलिभरी सुरु गरिसकेको छ।

अन्य नयाँ ब्रान्डको दसैं अगाडि डेलिभरी तयारी

नाडा अटो शोबाट नेपाली बजारमा इन्ट्री गरेका आधा दर्जन नयाँ ब्रान्डहरुले भने दसैं अगाडिसम्म बुकिङ भएका सबै गाडी डेलिभरी दिने गरी काम भइरहेको व्यवसायीहरुले बताएका छन्। जसमा जिकर, अवतार, जेको, नामी, एक्सपेङ, लिपमोटर, रिडारा जस्ता नयाँ ब्रान्डहरुले नाडाबाट नेपाली बजारमा इन्ट्री गरेका थिए। त्यही अनुसार कम्पनीहरुले बुकिङ पनि लिएका छन्।

नाडामा चलेको अर्को गाडी नामीको पनि दसैं अगाडि आधा गाडी डेलिभरी हुने भएको छ। डङफेङ नामीको आधिकारिक बिक्रेता एमएडब्लु वृद्धि अटोकर्पले नाडामा ७१७ युनिट गाडी बुकिङ लिएको थियो। सिकारियाका अनुसार नामी अबको दुई हप्तापछि डेलिभरी गर्ने तयारी छ।

‘हामीले गाडी ग्राहकहरुलाई दसैं अगाडि डेलिभरी दिनेगरी अर्डर गरेका छौं,’ उनले भने, ‘पहिलो लट गाडी अबको केही दिनमा नेपाल आइपुग्दै छ। त्यसपछि अर्को लट पनि चीनबाट हिडिसकेको छ। दसैंभन्दा अगाडि नाडामा बुकिङ भएका सबै गाडी डेलिभरी दिने योजना अनुसार काम भइरहेको छ।’ उनका अनुसार दसैंअघि २०० देखि २५० युनिट नामी डेलिभरी गर्ने योजना बनेको छ।

यस्तै नाडाबाट नेपाली बजारमा इन्ट्री चेरीको सब ब्रान्डको रुपमा रहेको जेको जे-६ को पनि अबको दुई हप्तापछि गाडी डेलिभरी गर्ने तयारी रहेको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार पहिलो लटमा १०० युनिट गाडी आइरहेको छ। उक्त गाडीहरु दसैंअघि नै ग्राहकका आँगनमा पुग्ने कम्पनीको दाबी छ।

जिकर एक्सको पनि दसैं अगाडि नै डेलिभरी दिने तयारी छ। जिकर गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटोकर्पले उक्त गाडी नेपाली बजारमा भित्र्याएको हो। कम्पनीले नाडामा ३० युनिट बुकिङ भएको जनाएको छ।

एक्सपेङ, अवतार, रिडारा जस्ता गाडीहरु पनि दसैंअघि नै ग्राहकहरुलाई डेलिभरी दिने तयारी रहेको सीजी मोटर्सले जनाएको छ। यी सबै गाडीको आधिकारिक बिक्रेता सीजी मोटर्स हो।

यसैगरी दुई पाङ्ग्रेमा ट्राइम्फ, हिरो, सीएफ मोटो, बजाज, सुजुकीले पनि दसैं अगाडि नै डेलिभरी दिने तयारी रहेको जनाएका छन्। ट्राइम्फको पहिलो लट बाइकहरु छिटै ग्राहकहरुलाई डेलिभरी हुने हंसराज हुलासचंन्द एण्ड कम्पनीले जनाएको छ।