नेपाल फाइनान्सका लगानीकर्ताले दुई सातामै गुमाए प्रति कित्ता १ हजार १११ रुपैयाँ



बिजमाण्डू
२०८१ भदौ २० गते १८:३६ | Sep 5, 2024
नेपाल फाइनान्सका लगानीकर्ताले दुई सातामै गुमाए प्रति कित्ता १ हजार १११ रुपैयाँ

काठमाडौं। नेप्से निरन्तर उकालो लाग्दा अस्वाभाविक उछाल आएको नेपाल फाइनान्सको सेयर भाउ निरन्तर ओरालो लाग्न थालेको छ। यो कम्पनीका लगानीकर्ताले दुई सातामै प्रति कित्ता १ हजार १११ रुपैयाँ गुमाएका छन्।

Tata
GBIME
Zonsen

कम्पनीको सेयर मूल्य बिहीबार सर्वाधिक ८.९१ प्रतिशतले घटेर १५०३ रुपैयाँमा झरेको छ। ९ अर्ब ६५ करोड रुपैयाँको सेयर किनबेच हुँदा सर्वाधिक कारोबार हुने कम्पनीको सूचीमा नेपाल फाइनान्स छ। कम्पनीको ४० करोड ५० लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।

सेलिङ प्रेसरका कारण कम्पनीको उच्च कारोबार भएको हो। साउन २९ गते इन्ट्राडेमा पुगेको २ हजार ६१४ रुपैयाँ सेयर मूल्यलाई आधार मान्ने हो भने १४ कारोबार दिनमै लगानीकर्ताले प्रति कित्ता १ हजार १११ रुपैयाँ गुमाएका छन्।

गत असार मध्यदेखि उकालो लागेको सेयर बजार साउन ३१ यता घट्न थालेको छ। बुलिस ट्रेन्डमा कम्पनीको सेयर मूल्य उचालेर बढाइएको थियो।

कम्पनीको सेयर मूल्य बढाउन केही समूह क्लबहाउस लगायत सामाजिक सञ्जालमा ग्रुप बनाएरै लागेका थिए। वित्तीय सूचकमा कुनै सुधार नआई सेयर मूल्य उचालिएका कारण कम्पनीका लगानीकर्ताले अहिले गुमाउन थालेका हुन्।

कम्पनीको प्रति सेयर आम्दानी २.४८ रुपैयाँ छ। प्रति सेयर नेटवर्थ १३७.५२ रुपैयाँ रहेको कम्पनीले पोहोर १ करोड ८१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।