एनएलजी इन्स्योरेन्सको सेयरमा लगातार दोस्रो सर्किट र कारोबारमा उछाल कति स्वाभाविक?



बिजमाण्डू
२०८१ भदौ १८ गते १९:२२ | Sep 3, 2024
एनएलजी इन्स्योरेन्सको सेयरमा लगातार दोस्रो सर्किट र कारोबारमा उछाल कति स्वाभाविक?

काठमाडौं। नेप्से परिसूचक मंगलबार सामान्य अंकले बढ्दा १२ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो। नेप्से ६.९४ अंकले उकालो लागेर २८३०.२० विन्दुमा पुग्यो।

Tata
GBIME
Zonsen

सर्वाधिक कारोबार हुने कम्पनीको पहिलो सूचीमा रह्यो एनएलजी इन्स्योरेन्स। मंगलबार कम्पनीको ३४ करोड ७२ लाख रुपैयाँको २ लाख ७९ हजार ५४३ कित्ता सेयर किनबेच भयो।

त्यस्तै, एनएलजीको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो। यो कम्पनीको सेयर मूल्यमा लगातार दोस्रो दिन पोजेटिभ सर्किट लागेको हो।

सोमबार र मंगलबार कम्पनीको सेयर कारोबार रकममा पनि अस्वाभाविक उछाल देखिएको छ। दुई दिनको उछाललाई कम्पनीको गत आवको चौथो त्रैमासको कारोबारले स्वाभाविक भन्दैन।

कम्पनीले नेपाल स्टक एक्सचेञ्जमा गत साउन २९ गते बुझाएको चौथो त्रैमासको रिपोर्ट अनुसार वैशाखदेखि असार मसान्तसम्म ६१ कारोबार दिनमा ४१ करोड ४६ लाख रुपैयाँ बराबरको ५ लाख ३६ हजार २२७ कित्ता मात्रै सेयर किनबेच भएको थियो।

तर, मंगलबार एकैदिन त्यसको आधाभन्दा बढी २ लाख ७९ हजार कित्ता सेयर किनबेच भयो। एक वर्षअघि कम्पनीको न्यूनतम सेयर मूल्य ६६१ रुपैयाँसम्म झरेकामा अहिले १२७० रुपैयाँ पुगेको छ।

मंगलबार कम्पनीको सर्वाधिक सेयर ब्रोकर नम्बर ५५ बाट खरिद भएको छ।

इन्स्योरेन्सको चुक्ता पुँजी हाल १ अर्ब ५३ करोड रुपैयाँ छ। वित्तीय विवरण हेर्दा कम्पनी लगानीकर्तालाई ठूलो रकम लाभांश वितरण गर्न सक्ने अवस्थामा देखिंदैन।

कम्पनीको प्रति सेयर आम्दानी १६.४६ रुपैयाँ र प्रति सेयर नेटवर्थ २१२.३८ रुपैयाँ छ। इन्स्योरेन्सले पोहोर २५ करोड ३३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। अघिल्लो वर्ष यही अवधिमा कम्पनीको खुद नाफा २० करोड ८० लाख रुपैयाँ थियो।

तैपनि तीन महिनासम्म लगानीकर्ताको रोजाइमा नपरेको कम्पनीको सेयर मूल्य र कारोबार भोलुममा कसरी एकाएक उलटफेरि आयो त? बजारका जानकारहरु कम्पनीको सेयर मूल्य चलखेल गरेर बढाउने काम भएको हुनसक्ने बताउँछन्।

‘बजारमा थौरै सेयर भोलुम भएका कम्पनीको मूल्यमा चलाख लगानीकर्ताले चलखेल गर्छन्। कुनै कम्पनीमा इन्टेन्सनल रुपमै खेल्ने गरेको देखिन्छ,’ एक विश्लेषकले भने, ‘एनएलजीको सेयर कारोबारमा पनि त्यही भएको हो। कारोबार मुभमेन्ट हेर्दा लगानीकर्ता अहिले इन्स्योरेन्सतिर गएको देखिन्छ।’

केही समयअघि फाइनान्स कम्पनीको सेयर मूल्य अस्वाभाविक रुपमा उचालिएको थियो। वित्तीय विवरणसँग तालमेल नै नहुने गरी मूल्य उचालिएका फाइनान्सका लगानीकर्ताले अहिले गुमाउन थालेका छन्।