ऋणी फकाउने प्रतिस्पर्धा : जहाँ बैंकहरू एकअर्काका ग्राहक तान्न छन् व्यस्त



आकाश बोगटी
२०८१ भदौ १८ गते ०९:१४ | Sep 3, 2024
ऋणी फकाउने प्रतिस्पर्धा : जहाँ बैंकहरू एकअर्काका ग्राहक तान्न छन् व्यस्त

काठमाडौं। बैंकका कर्पोरेट कार्यालयहरुमा साँझ अबेरसम्म झलमल्ल बत्ती बल्न थालेको छ। लामो समयदेखि फुर्सदिला बनेका बैंकका ऋण विभागका कर्मचारीहरुले आफ्नो डेस्कमा साना-ठूला नम्बरहरु केलाउन थालेका छन्। उनीहरुको व्यस्तता नयाँ व्यापारिक अवसरहरूको खोजीका लागि भने बढेको होइन।

Tata
GBIME
Zonsen

अर्को बैंकको ऋण आफ्नोमा तान्न बनाइएका रणनीतिका कारण कर्मचारीहरु अबेरसम्म कार्यालयमै व्यस्त हुन थालेका हुन्।

बैंकिङ क्षेत्रमा नयाँ रणनीतिको नाम हो- कर्जा स्वाप। महँगोमा उठाएको निक्षेप राष्ट्र बैंकमा ३ प्रतिशत ब्याजमा राख्नु परिरहेको बाध्यताका बीच बैंकहरुले अर्काका ऋणी खोसेर केही बढी मार्जिन उठाउने रणनीति लिएका कारण ‘स्वाप’ बढेको हो।

‘स्वाप’का कारण प्रणालीभित्रको ऋण प्रवाहमा असर गर्दैन तर निश्चित बैंकको पोर्टफोलियो बढ्ने वा घट्ने हुन्छ। यसबाट अर्थतन्त्रलाई प्रत्यक्ष लाभ नभए पनि ऋणीलाई भने हुन्छ।

पछिल्ला ४२ दिनमा वाणिज्य बैंकहरूले १७ अर्ब रुपैयाँ नयाँ ऋण प्रवाह गरेका छन्। यसले वित्तीय क्षेत्रमा देखिएको सुस्तताको स्पष्ट संकेत दिन्छ।

आर्थिक गतिविधि सुस्त हुँदा र नयाँ लगानीका सम्भावना घट्दै जाँदा बैंकहरूले नयाँ व्यावसायिक मोडेलहरू खोज्नुपर्ने बाध्यता आएको छ। तर, नयाँ क्षेत्रहरूमा लगानी गर्नुको साटो उनीहरूले पहिले नै अरू बैंकहरूले दिएका ऋणहरूलाई आफ्नोतिर तान्न ध्यान केन्द्रित गरेका छन्।

प्रणालीमा लगानीयोग्य रकम प्रशस्त भए पनि व्ययमा परिवर्तन हुन नसक्दा बैंकहरूले प्रतिस्पर्धाको नयाँ मैदान रोजेका हुन्।

एकअर्काका ऋणीलाई तान्न ब्याजदर घटाउने प्रतिस्पर्धा त छँदै छ, केही वर्ष नबढ्ने ग्यारेन्टी र सेवा शुल्क लगायतमा भारी छुट दिन थालिएको छ। यसले बैंकहरुबीच ‘अस्वस्थ प्रतिस्पर्धा’ देखिए पनि ग्राहकलाई भने हानि छैन।

बैंकिङ क्षेत्रमा ‘कर्जा स्वाप’ भन्नाले एउटा बैंकले अर्को बैंकका ऋणीलाई सस्तो ब्याजदरको प्रलोभनमा तानेर आफ्नो बैंकमा ल्याउने प्रक्रिया बुझिन्छ।

यो नयाँ रणनीतिले बैंकहरूलाई आफ्नो व्यापार विस्तार गर्न मद्दत पुर्‍याइरहेको छ। तथापि, यो खेल सबैका लागि जोखिममुक्त भने छैन।

नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापा ‘कर्जा स्वाप’लाई व्याख्या गर्दै भन्छन्, ‘यसबाट बैंकिङ क्षेत्रको साखमा गम्भीर असर नपर्न सक्छ तर यसले बैंकहरूको व्यापारिक गतिविधिमा नकारात्मक प्रभाव पार्न सक्छ। यसले बैंकहरूको प्रतिस्पर्धालाई तिखार्छ, तर दीर्घकालीन दृष्टिकोणमा यसले जोखिम बढाउँछ।’

उनले ‘कर्जा स्वाप’ बढ्नुमा कर्जा-निक्षेप अनुपात (सीडी रेसियो)को मुख्य भूमिका भएको बताउँदै भने, ‘सीडी रेसियोमा चाप भएकाले बैंकहरुले कर्जा स्वाप गरी त्यसलाई बेच्छन् भने कम भएकाले किन्छन्।’

‘तर, अहिले सबै बैंकको सीडी रेसियो सहज नै छ। अर्को, पुँजीकोषको सीमा दबाब भएका बैंकहरुले बिक्री गर्ने र सहज भएकाले खरिद गर्ने हुन्छ। कर्जा बिक्री गर्दा नोक्सानी व्यवस्थापन गर्नु परेन,’ उनले भने।

पछिल्लो दुई वर्षदेखि कर्जा लगानी खासै बढ्न सकेको छैन। ब्याजदर निरन्तर घटिरहेको छ। लगानी बढ्न नसकेर ब्याजदर घटेपछि बैंकहरु ‘कर्जा स्वाप’मा जान थालेका हुन्।

‘आधार दर कम भएका बैंकहरुले ऋणीहरुलाई आकर्षित गरेको देखिन्छ,’ थापाले भने।

२०८१ भदौमा वाणिज्य बैंकहरूको औसत आधार दर ७.९० प्रतिशतसम्म झरेको छ। ब्याजदर घट्दा पनि कर्जाको मागमा भने खासै सुधार छैन।

अहिले वाणिज्य बैंकहरुबीच भन्दा पनि विकास बैंक र फाइनान्स कम्पनीको ऋण तान्ने होडबाजी चलेको छ। वाणिज्य बैंकहरुको भन्दा तुलनात्मक रुपमा विकास बैंक र फाइनान्सको ऋण महँगो पर्छ। त्यही कारण ग्राहक पनि वाणिज्य बैंकमा सहजै आकर्षित हुन्छन्।

बैंकहरूले नयाँ ऋण दिन सकिरहेका छैनन् तर पुराना ऋणीहरूलाई आकर्षित गरेर आफ्नो संख्या बढाउन खोजिरहेका छन्।

प्रभु बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत मणिराम पोखरेल नयाँ व्यवसाय बढ्न नसकेको र नयाँ कर्जा स्वीकृति नभएको हुँदा बैंकहरू स्वाप गर्नतिर केन्द्रित भएको बताउँछन्।

ऋणीहरूका लागि ‘कर्जा स्वाप’को रणनीति एक प्रकारको ‘स्किम’ नै हो। महँगो ब्याजदर तिर्नुपर्ने बाध्यता घटाउनका लागि यो अवसर बनिरहेको छ।

जब वाणिज्य बैंकहरूले आफ्नै वर्ग वा विकास बैंक र फाइनान्स कम्पनीहरूको ऋणलाई स्वाप गर्छन्, ऋणीहरूले अपेक्षाकृत सस्तो ब्याजदरमा ऋण प्राप्त गर्न सक्छन्।

बैंकहरूको यो नयाँ खेलले पुराना नियमहरूलाई भने चुनौती दिएको छ। अब कुनै पनि बैंकको सफलताको मापन गर्ने आधार भनेको कति नयाँ व्यवसाय प्राप्त गर्न सकियो भन्ने होइन, बरु कति पुराना ऋणहरूलाई आफ्नोतिर तान्न सकियो भन्ने भएको छ।

बैंकहरूको यो नयाँ रणनीति अहिलेको वित्तीय क्षेत्रको नयाँ वास्तविकता हो। यो वास्तविकता जहाँ पुराना विधिहरूले काम गर्दैनन् र नयाँ खेलका नियमहरूले सारा खेललाई बदलिरहेका छन्।