काठमाडौं। त्रिभुवन विश्वविद्यालयले आधा दर्जनको संख्यामा सहपरीक्षा नियन्त्रकको पदपूर्ति गर्ने भएको छ। परीक्षा नियन्त्रण कार्यालय बल्खुमा २, क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयहरु विराटनगर,पोखरा, नेपालगञ्ज, मधेश प्रदेशका लागि एक/एक जना नियुक्त गर्ने भएको हो। यसका लागि दरखास्त खुलाएको छ।
त्रिवि विनियम २०७३ परिच्छेद २ को ३ (२) साथै त्रिभुवन विश्वविद्यालय सावधिक पदमा नियुक्तिका आधार र मापदण्डसम्बन्धी विनियम, २०८१ को परिच्छेद १६ मा उल्लेख भए बमोजिम सहपरीक्षा नियन्त्रक पदमा योग्य उम्मेदवारलाई दरखास्त खुला भएको सूचना सोमबार प्रकाशित गरेको हो।
सूचना प्रकाशित भएको मितिले सात दिन भित्रमा विनियमको ३२ को (२) मा उल्लेखित आवश्यक कागजातहरुका साथै आशयपत्र [email protected] मा इमेल गर्न सकिने सूचनामा उल्लेख छ।
त्रिवि मापदण्ड विनियममा त्रिविमा कम्तीमा ५ वर्ष स्थायी सेवा गरेका शिक्षकमध्येबाट रजिष्ट्रारको सिफारिसमा उपकुलपतिले सहपरीक्षा नियन्त्रक नियुक्त गर्नसक्ने व्यवस्था छ। सिफारिस मापदण्डमा परीक्षा तथा मूल्यांकनको क्षेत्रमा विशेषज्ञता हासिल गरेका वा अनुभवसहितका परीक्षा तथा मूल्यांकनको प्रशासनिक तथा व्यवस्थापकीय नेतृत्व गर्न सक्ने, कार्य क्षमता प्रदर्शन गर्ने दक्षता र अनुभवका पमाणित आधारहरुलाई बनाइने विनियममा छ।
सहपरीक्षा नियन्त्रकमा नियुक्त हुन चाहने उम्मेदवार सूचना प्रविधि र सञ्चारसम्बन्धी विषयमा विशेष अनुभवप्राप्त हुनुपर्ने उल्लेख छ। विश्वविद्यालयसँग सम्बन्धित अध्ययन संस्थान वा संकायसँग स्वार्थ बाझिनेगरी निजी शैक्षिक संस्थामा लगानी नगरेको व्यक्ति हुनुपर्ने पनि विनियममा छ।
यस्तै छनोट तथा सिफारिसका लागि १०० पूर्णांकमा मूल्यांकनको व्यवस्था छ। शैक्षिक, प्रशासनिक अनुभव १०, प्राज्ञिक अनुभव २०, विद्यावारिधि ८, अनुसन्धानसम्बन्धी अनुभव १०, परीक्षासम्बन्धी नीति नियम, सूचना प्रविधि तथा सञ्चारसम्बन्धी दक्षता १०, सूचना प्रविधिसम्बन्धी तालिम ५, परीक्षासम्बन्धी राष्ट्रिय अन्तर्राष्ट्रिय सभा, सम्मेलनमा सहभागिता तथा कार्यपत्र प्रस्तुति १०, विश्वविद्यालयको रणनीतिक योजना कार्यान्वयनसम्बन्धी कार्ययोजना लागु गर्ने प्रतिबद्धता १२ र अन्तर्वार्ता १५ पूर्णांकको हुने व्यवस्था छ।
आठ संकायका लागि डीन, १२ क्याम्पस प्रमुख र एक कार्यकारी निर्देशक माग
त्रिविको क्याम्पस प्रमुख छनोट समिति र त्रिवि सभा तथा कार्यकारी परिषद्को कार्यालयले छुट्टाछुट्टै सूचना जारी गर्दै १२ वटा क्याम्पसमा प्रमुख, ८ संकायमा डीन र एक जना कार्यकारी निर्देशक माग गरेको छ।
छनोट समितिले वनविज्ञान अध्ययन संस्थानअन्तर्गत पोखराका लागि क्याम्पस प्रमुखको दरखास्त खुलाइएको छ।
यस्तै सिरहाको सूर्यनारायण सत्यनारायण मोरवैता यादव क्याम्पस, काठमाडौंका विश्वभाषा, रत्नराज्य, ललितपुरको पाटन क्याम्पस, पोखराको पृथवीनारायण, जनकपुरको रामस्वरुप रामसागर, बुटवलको बुटवल बहुमुखी, पाल्पाको त्रिभुवन बहुमुखी, डोटीको डोटी बहुमुखी, सुर्खेतको सुर्खेत क्याम्पसमा शिक्षातर्फ र जुम्लाको जुम्ला क्याम्पसमा क्याम्पस प्रमुख माग गरिएको छ।
डीनका लागि दरखास्त माग गरिएका अध्ययन संस्थानहरुमा चिकित्सा, इन्जिनियरिङ, कृषि र पशुविज्ञान, वनविज्ञान, विज्ञान तथा प्रविधि, व्यवस्थापन, मानविकी तथा सामाजिकशास्त्र र शिक्षाशास्त्र छन्।
यस्तै त्रिविले शिक्षा विकास तथा अनुसन्धान केन्द्र (सेरिङ) का लागि कार्यकारी निर्देशक मागेको छ।