जुवामा हारेपछि बेटिङ एजेन्ट बनेका युवाविरुद्ध तीन मुद्दा, देखियो २ अर्बको अवैध कारोबार



सविन ढकाल
२०८१ साउन ३० गते २२:०६ | Aug 14, 2024
जुवामा हारेपछि बेटिङ एजेन्ट बनेका युवाविरुद्ध तीन मुद्दा,  देखियो २ अर्बको अवैध कारोबार

काठमाडौं। काभ्रेको मन्डन देउपुर घर भएका अनिल ढुंगाना २०७७ मा गाईवस्तुको दानाको कारोबार गर्थे। त्यो व्यवसायमा उनी लामो समय रहेनन्। बाबुआमाको जिम्मा लगाएर उनी काठमाडौं आए। भक्तपुरमा दिदी र बहिनीसँग बस्न थाले।

Tata
GBIME
Zonsen

उनी छोटो समयमा धेरै पैसा कमाउन चाहन्थे। २१ वर्षको उमेरमै जुवाको लतमा परे। अनलाइनका विभिन्न खेलमा बाजी राख्न थाले। ला लिगा, इङ्लिस प्रिमियर लिगलगायत युरोपियन फुटबलमा वानएक्स बेटिङ एपमा एजेन्ट बनेर बाजी राख्न सुरु गरे।

उनलाई सुरुमा खासै फापेन। पहिलो वर्ष नै उनले १२ लाख रुपैयाँ जुवामा उडाए। तर, डुबेको रकम उठाउन जुवा नै सही माध्यम हुन्छ भन्ने लाग्यो। त्यसपछि झन् हौसिएर लागे।

नेपालमा अनलाइन जुवा अवैध छ। तर, अनिल विभिन्न माध्यमबाट प्रतिबन्धित जुवाको खेलमा लागिरहे। वानएक्स बेटमा पैसा डिपोजिट गर्दा ५ प्रतिशत र प्लेयरले पैसा किन्दा २ प्रतिशत रकम आउने चाल पाए। जसका लागि वानएक्स बेटको ‘मोभक्यासु’ एजेन्ट बन्नुपर्ने थियो। उनले वानएक्स बेटलाई इमेलमार्फत सम्पर्क गरे। जवाफ आएपछि उनी विभिन्न ग्रुप र माध्यममा जोडिएर सक्रिय भए।

‘अनिल एजेन्ट’ नामको ह्वाट्स एप ग्रुप खोलेर वानएक्स बेटका कर्मचारीले रेडी एप डाउन लोड गर्न लगाए। उनले पनि कर्मचारीले भने अनुसार नै काम गर्दै गए। सबै प्रक्रिया पूरा गरेर उनी आफ्नो आइडीमार्फत सक्रिय भए। सुरुमा उनले आफ्नो आइडीमा १०० डलर (१३ हजार २०० रुपैयाँ) जम्मा गरे।

उनी केही समयमै नेपालका लागि वानएक्स बेटको एजेन्ट भए। त्यतिखेर उनी २२ वर्षका थिए। फेसबुक म्यासेन्जर ग्रुप बनाएर खेल्न चाहनेका लागि एजेन्टको रुपमा काम गर्न थाले। उनी वानएक्स बेटको मास्टर एजेन्ट बने। उनीभन्दा तल सब-एजेन्ट र त्यसभन्दा तल खेलाडीहरू हुन्थे।

खेल खेल्नेहरुले अनिलको नेपाली बैंक खातामा रकम जम्मा गरिदिन्थे। उनले त्यो रकम बराबरको ब्यालेन्स ‘मोभक्यास’ एपबाट खेलाडीहरूको वानएक्स बेटको एकाउन्टमा जम्मा गर्दिन्थे।

उनीहरूले जुवामा राखेको रकम जितेमा अनिलको आइडीमा नै रकम पठाउन रिक्वेस्ट आउँथ्यो। त्यो रकम उनले विभिन्न वालेट र बैंक खातामा पठाउँथे। रकम हारेको खण्डमा वानएक्स बेटले नै पैसा काट्थ्यो।

वानएक्स बेटबाट उनलाई महिना दिनमा कमिसन आउने गरेको थियो। जुन रकम अनिलको मोभक्यास एपमा जम्मा हुने गरेको थियो। यसरी कमिसनबापत उनले ८० लाख रुपैयाँ कमाए। त्यसअघि उनले टिकटक र बिङ्गो लाइभमा बसेर गिफ्टमार्फत आएको रकम विभिन्न खातामा ट्रान्सफर गर्ने गरेका थिए।

५६ खातामा २ अर्बको कारोबार

देशमा प्रतिबन्धित एपबाट भइरहेको कारोबारमाथि प्रहरीले निगरानी गरिरहेको थियो। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गत वैशाख ३० गते अनिललाई पक्राउ गर्‍यो। उनलाई प्रतिबन्धित बेटिङ, क्रिप्टोकरेन्सी र सट्टेबाजीमार्फत कारोबार गरेको भन्दै पक्राउ गरिएको हो।  

उनले ५६ वटा खातामा २ अर्ब १ करोड १८ लाख ४४ हजार १०२ रुपैयाँ बराबरको कारोबार गरेको प्रहरीको अनुसन्धानमा देखिएको छ।

विभिन्न व्यक्तिका नाममा रहेको ११ वटा कनेक्ट आइपीएसमा ५५ वटा बैंक खाता लिंक गरेर ४८ करोड ८० लाख, १५ वटा वालेट प्रयोग गरेर ५ करोड र ५६ वटा बैंक खाता प्रयोग गरी ६१ करोड ६४ लाख रुपैयाँ बराबरको कारोबार गरेको देखिएको हो।

ब्यालेन्स एपमार्फत दुई वटा खाता प्रयोग गरेर विभिन्न २४३ प्रकारका क्रिप्टोकरेन्सी १ अर्ब ३४ करोड ५२ लाख ९१ हजार बराबरको कारोबार गरेको पनि देखिएको छ। उनले सामाजिक सञ्जालमा ३६५ नामको फेसबुक पेज खोलेर मानिसलाई जुवामा संलग्न गराउने गरेको पनि प्रहरी अनुसन्धानमा खुलेको छ। उनीसहित १२ जनाविरुद्ध साउन २९ गते जिल्ला अदालत भक्तपुरमा मुद्दा दायर भएको छ।

बेटिङको पैसाले गाडी र घरजग्गा

अनिलले बेटिङबाट आएको कमिसनबाट बा २१ च १८७९ नम्बरको क्रेटा गाडी किने। उनको नाममा २२० सीसीको पल्सर बाइक पनि छ। भक्तपुरको सिपाडोलमा २५ लाख रुपैयाँमा जग्गा जोडे।

तर, गाडीदेखि जग्गासम्मको स्रोत नखुलेपछि उनीविरुद्ध मुद्रा कारोबार र सट्टेबाजीमा मात्र होइन, सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा चलाइएको छ।