बीमा कम्पनीलाई आर्थिक शिथिलताले रोकेन नाफा बढाउन, कसको खुद नाफा कति ?



आकाश बोगटी
२०८१ साउन ३० गते १८:१० | Aug 14, 2024
बीमा कम्पनीलाई आर्थिक शिथिलताले रोकेन नाफा बढाउन, कसको खुद नाफा कति ?

काठमाडौं। आर्थिक शिथिलताले धेरैको कारोबार प्रभावित भएका बेला बीमा कम्पनीहरू भने राम्रो मुनाफा कमाउन सफल भएका छन्। गत आर्थिक वर्ष २०८०/०८१ मा निर्जीवन बीमा कम्पनीहरूले ५०.२१ प्रतिशत र जीवन बीमा कम्पनीहरूले १३.५३ प्रतिशतले खुद नाफा बढाएका हुन्।

Tata
GBIME
Zonsen

संचालनमा रहेका २८ मध्ये २७ कम्पनीहरूले वित्तीय विवरण सार्वजनिक गर्दा २२ कम्पनी नाफा बढाउन सफल भएका छन्। पाँच कम्पनीको नाफा भने खुम्चिएको छ।

२०८०/०८१ मा १३ वटा जीवन बीमा कम्पनीहरूले ५ अर्ब ५७ कराेड रुपैयाँ नाफा कमाएका छन्। याे नाफा अघिल्लाे वर्षको तुलनामा १३.५३ प्रतिशतले बढी हाे। अघिल्लाे वर्ष जीवन कम्पनीले ४ अर्ब ९१ कराेड रुपैयाँ नाफा कमाएका थिए।

निर्जीवन बीमा कम्पनीहरूको गत वर्ष ७ अर्ब ६९ करोड रुपैयाँ नाफा गरेका छन्। अघिल्लाे वर्ष उनीहरूको खुद नाफा ५ अर्ब १२ करोड रुपैयाँ थियो।

जीवन बीमा कम्पनीतर्फ सिटिजन लाइफले सबैभन्दा धेरै २१६.५६ प्रतिशतले नाफा बढाएको छ। यस्तै सूर्यज्योति १४६.०३ र आइएमई १४५.०४ प्रतिशतले नाफा बढाउन सफल भएका छन्।

सबैभन्दा धेरै नाफा कमाउने कम्पनी चाहिँ हिमालयन लाइफ इन्स्योरेन्स हो। उसले गत वर्ष ६३ करोड ३८ लाख कमाएको छ। उसलाई सन नेपालले पछ्याएको छ। सन नेपालले ५७ करोड ४९ लाख रुपैयाँ खुद नाफा गरेको छ।

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीइओ) शिवनाथ पाण्डे ब्याज आम्दानी र अन्य क्षेत्रमा गरेको लगानीबाट प्राप्त आम्दानीका कारण नाफा बढेको बताउँछन्। उनका अनुसार संचालन खर्च घटाएका कारण पनि नाफा बढेको हो।

लाइफ इन्स्योरेन्स कर्पोरेसन, सन नेपाल र मेट लाइफको भने खुद नाफा खुम्चिएको छ। लाइफ इन्स्योरेन्स कर्पोरेसनको नाफा सबैभन्दा धेरै ६८.३४ प्रतिशतले घटेको हो।

गत वर्ष निर्जीवन बीमा कम्पनीतर्फ शिखर इन्स्योरेन्सको नाफा सबैभन्दा धेरै १२६.८८ प्रतिशतले वद्धि भएको छ। यस्तै, प्रभु इन्स्योरेन्सले ११८.१३ प्रतिशतले नाफा बढाएको छ। सबैभन्दा कम नाफा बढाउने निर्जीवन बीमा कम्पनी सानिमा जीआईसी हो। यसको खुद नाफा २०.९२ प्रतिशले वृद्धि भएको छ।

राष्ट्रिय बीमा कम्पनी र नेकाे इन्स्योरेन्सको नाफा भने खुम्चिएको छ। नेकाे इन्स्योरेन्सको नाफा २.७४ र राष्ट्रिय बीमा कम्पनीको नाफा १८.८० प्रतिशतले खुम्चिएको हो।

धेरै नाफा कमाउनेको पहिलो नम्बरमा भने सगरमाथा लुम्बिनी इन्स्योरेन्स छ। यो कम्पनीले ८६ करोड ९८ लाख रुपैयाँ नाफा गरेको छ।

नेपाल बिमक संघका अध्यक्ष तथा सगरमाथा लुम्बिनी इन्स्योरेन्सका सीइओ चंकी क्षत्री मर्जरमा गएका कम्पनीहरूको संयुक्त रिपोर्टले नाफामा धेरै वृद्धि देखिएको बताउँछन्।

‘मर्जरमा गएका कम्पनीहरूको नाफा ग्राेथ धेरै बढेको देखिन्छ। तर अन्य कम्पनीहरूको नाफा बढेपनि ग्राेथ देखिंदैन,’ उनले भने, ‘गत वर्ष नाफा बढ्नुमा मुद्दती निक्षेपको आम्दानी पनि कारण हाे।’

गत वर्ष इन्स्योरेन्स कम्पनीहरूले बैंकमा पैसा राख्दा मुद्दती निक्षेपको ब्याजदर उच्च थियाे। त्यसले कम्पनीहरूको आम्दानीलाई सपाेर्ट पुगेको क्षत्रीले बताए।