संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई अन्तर्राष्ट्रिय समुदायले स्वागत गर्ने देउवाको विश्वास



बिजमाण्डू
२०८१ साउन ३० गते १४:४० | Aug 14, 2024
संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई अन्तर्राष्ट्रिय समुदायले स्वागत गर्ने देउवाको विश्वास
शेरबहादुर देउवा

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई अन्तर्राष्ट्रिय समुदाय र सरोकारवाला पक्षले स्वागत गर्ने विश्वास व्यक्त गरेका छन्।

Tata
GBIME
Zonsen

उनले बुधबार प्रतिनिधि सभामा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलमा भाग लिंदै अन्तर्राष्ट्रिय समुदाय र सरोकारवाला पक्षले स्वागत गर्ने विश्वास व्यक्त गरेका हुन्। उनले विधेयकले संक्रमणकालीन न्यायका सबै आधारभूत मान्यतालाई बोकेको बताए।

‘संसद्‍मा प्रस्तुत यो विधेयकले संक्रमणकालीन न्यायको सबै आधारभूत मान्यता बोकेको छ। सत्यको अन्वेषण गर्ने, न्याय गर्ने र पीडितलाई परिपूरण गर्ने र द्वन्द्वको पुनरावृत्ति नहुने अवस्थालाई सुनिश्चित गर्ने व्यवस्था गरेको छ। यो विधेयक संक्रमणकालीन न्यायको मूल्य मान्यता, सर्वोच्च अदालतको फैसला र अन्तर्राष्ट्रिय मूल्य र मान्यता अनुसार छ,’ देउवाले भने।

उनले विधेयक अगाडि बढ्नुलाई ऐतिहासिक उपलब्धि भनेका छन्।

‘मुलुकलाई अप्ठ्यारो पर्दा राजनीतिक दलहरू एक ठाउँमा उभिने गरेका छन्। यसपटक पनि सबै एक ठाउँमा उभिएका छौं,’ उनले भने, ‘नेपालीहरू आफ्नो काम आफैं गर्न सक्छन् भन्‍ने यो सहमतिले सिद्ध गरेको छ। यो विश्वका लागि पनि उदाहरणीय र अनुकरणीय छ।’

प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रले तीन सदस्यीय कार्यदल गठन गरेर विधेयकमा सहमति जुटाएका थिए। विधेयक २०७९ फागुन २५ गते संसद्‍मा पुगेको थियो।