काठमाडौं विश्वविद्यालयको बजेट ४ अर्ब ३१ करोड, ओलीले भने- सरकारले थप अनुदान दिन सक्दैन



बिजमाण्डू
२०८१ साउन ३० गते १३:४६ | Aug 14, 2024
काठमाडौं विश्वविद्यालयको बजेट ४ अर्ब ३१ करोड, ओलीले भने- सरकारले थप अनुदान दिन सक्दैन
केपी शर्मा ओली

काठमाडौं। काठमाडौं विश्वविद्यालयले चालु वर्षका लागि ४ अर्ब ३० करोड ९० लाख रुपैयाँको बजेट ल्याएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको विश्वविद्यालयको ९७औं बैठकले बजेट पारित गरेको छ।

Tata
GBIME
Zonsen

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले गत आर्थिक वर्ष अनुमान गरेभन्दा २४ प्रतिशत कम राजस्व उठेकाले चाहेर पनि सरकारले विश्वविद्यालयलाई थप अनुदान दिन नसक्ने बताए।

विश्वविद्यालय र धुलिखेल अस्पतालबीच चिसोपना बढिरहेका बेला उनले सहकार्यलाई आगामी पाँच वर्षसम्म कायम राख्न निर्देशन दिए। उनले कुलपतिका हैसियतले विश्वविद्यालय र अस्पतालबीच देखिएको असमझदारी छलफल गरी समाधान गर्न भने।

पछिल्लो केही समययता विश्वविद्यालय र अस्पतालको सम्बन्ध राम्रो छैन। धुलिखेल अस्पतालले प्रदेश सरकारबाट प्रतिष्ठानको स्वीकृति लिन खोजेको छ भने विश्वविद्यालयले आफ्नै अस्पताल खोल्ने तयारी गरिरहेको छ।

‘विश्वविद्यालयले तत्काल नयाँ अस्पताल खोल्न र त्यसका लागि सरकारले लगानी गर्न नसक्ने भएकाले धुलिखेल अस्पतालसँगको सम्बन्ध र सहकार्यलाई कम्तीमा पाँच वर्ष राखिनुपर्छ,’ ओलीले भने, ‘त्यस अवधिभित्र विश्वविद्यालयले आफ्नै अस्पताल खोल्ने गरी तयारी गर्नेछ। साथै नीतिगत विषयमा आगामी भदौभित्र विश्वविद्यालयको अर्काे बैठक गरेर निर्णय गर्नेछौं।’