काठमाडौं। साउन ६ गते विश्वासको मत लिने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्ला कार्यकालझैं संसदमा लामो भाषण गरेनन्। ४५ मिनेटमै आफ्नो वक्तव्य सके।
अनियमितताका विभिन्न प्रकरणमा आफ्नो नाम मुछिएकोमा कडा सुनिए पनि विपक्षीप्रति आक्रोशित भएनन्। ‘कानुनबिना कारोबार हुने गरेको थियो, म प्रधानमन्त्री हुँदा कानुन बन्यो। तर त्यसअनुसार कारोबार भएको छैन,’ गिरीबन्धु टी इस्टेटको जग्गा अपचलनको आरोपबारे ओलीले भनेका थिए।
विपक्षी दलका सांसदले ओली आक्रोशित हुनेगरी त्यो दिन प्रश्न नगरेका भने होइनन्। ‘विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई बोलाएर जंगबहादुरको शैलीमा लाइन जोडियोस् भनेर निर्देशन दिनुभयो। यो सरकार के चाहन्छ? र के उद्देश्यका लागि गठन भएको हो? यसले स्पष्ट पार्छ,’ ओली नेतृत्वको सरकार बिचौलियाले बनाएको भन्दै माओवादी केन्द्रका सांसद माधव सापकोटाले आक्रामक शैलीमा शून्य समयमा आरोप लगाएका थिए। त्यसमा पनि ओली जवाफ दिनेबेला संयमित रुपमा प्रस्तुत भए।
विश्वासको मत प्राप्त गरेको भोलिपल्टै साउन ७ गते प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा पनि ओली त्यति आक्रोशित देखिएनन्। यद्यपि, अघिल्लो दिनको तुलनामा सत्ता र प्रतिपक्षीबीच केही तिक्तता भने देखिएको थियो।
माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले प्रश्नबाहिर गएर टिप्पणी गर्न थालेको भन्दै नियमापत्ति गरेका थिए। झुटो आरोप नलगाउन भन्दै ओलीले ‘कसले गाली गर्यो गाली नगरौं भन्दै छु म’ भन्दै पुनलाई हाँसेर जवाफ फर्काएपछि केहीबेरको असहज परिस्थिति शान्त बनेको थियो।
संसद् बाहिरका सार्वजनिक कार्यक्रममा पनि ओली आक्रामक छैनन्। ‘दुई तिहाइ सांसदले जुन रुपमा संविधान संशोधन गर्छन्, त्यसै आधारमा संशोधन हुने हो। हामी लोकतन्त्रका लागि जेल नेल र सङ्घर्ष गरेर यहाँसम्म आएका छौं। हामीबाट लोकतन्त्र सिध्याउने गरी संविधान संशोधन हुन्छ भनेर कसरी कल्पना गर्न सकिन्छ?,’ संविधान संशोधन गरेर निरंकुश हुन खोजेको आरोपबारे साउन १८ गते नेपाल बार एसोसिएसनका पदाधिकारीसँग ओलीले भने, ‘प्रतिगामी कुराहरुलाई हामी स्वीकार्दैनौं। संविधान संशोधन अग्रगमनका लागि र कार्यान्वयनका क्रममा नमिलेका विषय मिलाउनका लागि गर्ने हो।’
साउन १५ गते सचिवहरुलाई निर्देशन दिने बेलामा पनि ओलीले कांग्रेससँगको सहकार्य अनुसार दुई वर्ष पुग्नु हप्ता दिनअघि आफूले सरकार छाडने जानकारी दिनेबाहेक राजनीतिक विषयमा कडा टिप्पणी गरेनन्।
साउन २२ गते प्रतिनिधि सभा राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरुले राखेका जिज्ञासाप्रति पनि ओली नरम देखिए।
‘म भ्रष्टाचार गर्दिनँ, अरूलाई पनि गर्न दिन्नँ। कसैले लाञ्छना लगाउनु बेग्लै कुरा हो। तर मैले कुनै भ्रष्टाचार गरेको पाइएमा म यस धर्तीको अदालतमा मात्र होइन, चित्रगुप्तसमक्ष पुगेर पनि बयान दिन तयार छु,’ उनले भने।
भ्रष्टचार निवारणसम्बन्धी विधेयकमा कसुर जानकारीमा आएको मितिले पाँच वर्षभित्र मुद्दा दायर गर्नुपर्ने गरी प्रस्तावित हदम्यादको व्यवस्थाबारे सत्तारुढ दल कांग्रेसकै सांसदले उठाएको सवालबारे ओली त्यसदिन मौन रहे।
आफूसँगको समीकरणलाई तोडेर कांग्रेससँग गठबन्धन गरेको भन्दै ओलीप्रति नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आक्रामक छन्। प्रचण्ड असार २८ गते विश्वासको मत माग्ने क्रममा ओलीप्रति आक्रोसित थिए। तर, ओलीले प्रचण्डप्रति टिप्पणी गर्न आवश्यक देखेनन्।
नयाँ समीकरण बनेपछि लामो समयसम्म एउटै मञ्चमा नदेखिएका ओली-प्रचण्ड साउन २३ गते कांग्रेस सभापति शेरबहादुर देउवासहित सिंहदरबारमा जम्मा भए। त्यसदिन पनि ओलीले प्रतिपक्षी नेताबारे कुनै टिप्पणी गरेनन्।
बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा गठित कार्यदलले तीन दलका शीर्ष नेतालाई प्रतिवेदन बुझाउने क्रममा ओलीले भने, ‘हामीले थालेको शान्ति प्रक्रिया र त्यसको अन्तिम किस्ताका रुपमा रहेका यी कार्यहरुलाई सम्पन्न गर्न कानुनलाई संशोधन गर्नुपर्ने अवस्थामा पीडितमैत्री विषयलाई ध्यान दिएर सहमति भएको छ।’
साउन २७ गते लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसहित उनको मन्त्रिपरिषद्मा सहभागी मन्त्रीसँगको भेटमा पनि विपक्षीदलबारे ओलीले टिप्पणी गरेनन्।
अरु नेताभन्दा पनि आफ्नै पूर्वसहयात्री प्रचण्ड, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालप्रति बढी आक्रोश पोख्ने गरेका ओलीले यसपटक उनीहरुबारे टिप्पणी गरेका छैनन्।
संसदीय अंकगणित र राजनीतिक हिसाबले सहज अवस्थामा रहेकाले ओलीले अरु नेताको आलोचना गर्नतर्फ ध्यान नदिएको उनी निकट नेताहरुको भनाइ छ।
‘यसपटक अत्यन्तै सरल रुपमा प्रधानमन्त्रीज्यूले विषयवस्तु राखिराख्नुभएको छ। कसरी काम गरेर देखाउन सकिन्छ भन्नेमा प्रधानमन्त्रीको जोड भएकाले आरोप/प्रत्यारोप भन्दा पनि बोल्नेपर्ने विषयमा मात्रै बोलिरहनुभएको छ,’ एमालेका मुख्य सचेतक महेश बर्तौलाले भने।
प्रचण्डसँगको समीकरण टुटाएर कांग्रेससँग गठबन्धन गर्ने पक्कापक्की भएसँगै ओली नरम रुपमा प्रस्तुत हुन थालिसकेका थिए। १७ गते राति कांग्रेससँग गठबन्धन गर्ने पक्का हुनुअघि दिउँसो संसद्बाट बाहिरिने क्रममा ओलीले ठट्यौली शैलीमा पत्रकारलाई जवाफ फर्काएका थिए।
‘तपाइँ प्रधानमन्त्री बन्ने चर्चा छ नि, शपथ कहिले?’ पत्रकारको प्रश्नमा ओलीले ‘यो वर्ष प्रधानमन्त्री बन्ने अवस्था छैन’ भनेका थिए। अरुबेला ओली पत्रकारले सोधेका प्रश्नमा अक्सर झर्किने गरेका थिए।
पछिल्लो समय ओलीले भाषणको शैली नै बदलिएको बुझाइ छ कांग्रेस निकट राजनीतिक विश्लेषक पुरञ्जन आचार्यको। ‘पहिलाको भन्दा अहिले उहाँले भाषण कम गर्नुभएको छ। सायद आफ्नो अघिल्लो कार्यकाललाई ख्याल गरेरै होला। त्यतिबेला के भयो भन्नेबारे उहाँले विश्लेषण पनि गर्नुभएको होला,’ आचार्यले भने।
किन नरम?
ओलीको अघिल्लो प्रधानमन्त्रीकालमा प्रेस सल्लाहकार रहेका एमाले सांसद सूर्य थापा ओलीले त्यतिबेलाको परिस्थिति अनुसार भाषणमा अरु नेताहरुको कडा शैलीमा आलोचना गर्ने गरेको बताए। अहिले सरकार र पार्टी सञ्चालनमा त्यतिबेलाको जस्तो परिस्थिति नभएकोले ओली नरम भएको उनले बताए। ‘त्यतिबेलाको परिस्थिति सबैसामु जगजाहेरै छ। कुन हिसाबले उहाँलाई अप्ठेरोमा पारिएको थियो भन्ने। अहिले एक त उहाँ भर्खरै प्रधानमन्त्री हुनुभएको हो। त्यसरी बोल्नेबेला पनि भइसकेको छैन,’ थापाले भने।
एमाले नेताहरु ओलीले रणनीतिक रुपमा नरम शैलीमा भाषण गरिरहेको बताउँछन्। कांग्रेससँगको सहकार्यबारेको संवेदनशीलतालाई ओलीले बुझेरै नरम शैली अपनाइरहेको एमाले स्थायी कमिटी सदस्य राजन भट्टराईले बताए। ‘जसबेला जे आवश्यक पर्छ त्यो परिस्थितिको मूल्यांकन गरेर बोल्नुहुन्छ, उहाँ परिस्थितिको मूल्यांकन गर्नसक्ने नेता हो। अहिलेको गठबन्धन अनि सरकार सञ्चालनबारे मूल्यांकन गरेरै उहाँले बोलिरहनुभएको हो,’ भट्टराईले भने।
अघिल्लो कार्यकालमा ओलीलाई पार्टीभित्रका विपक्षी खेमाका नेताहरुले आक्रोशित बनाइदिएका कारण आक्रामक शैली अपनाएको तर अहिले पार्टीभित्र कुनै समस्या नभएकाले ओली नरम देखिएको ठम्याइ छ बर्तौलाको।
‘अघिल्लो पटक उहाँलाई हटाउन पार्टीकै अर्को पक्ष लाग्यो। कहिलेकाहीं वातावरणले पनि त्यस्तो पर्न गएको हुन्छ। त्यतिबेला कतिले उहाँको त्यस्तो आक्रोश रुचाउनु पनि भएको थिएन होला। तर अहिले त्यस्तो छैन,’ बर्तौलाले भने।
एमाले पोलिटब्यूरो सदस्य विशाल भट्टराई पनि बर्तौलासँग सहमत छन्। यसअघि पार्टीको आन्तरिक किचलोको असर ओली आक्रामक शैलीमा प्रस्तुत भए पनि अहिले पार्टीमा त्यो परिस्थिति नरहेकाले कडा अभिव्यक्ति आवश्यक नै नपरेको भट्टराईले बताए।
अहिलेको गठबन्धनलाई बाँकी कार्यकाल टिकाउनुपर्ने बाध्यता भएका कारण पनि ओली नरम बनेको उनको भनाइ छ। ‘अनेक विकृति देखिए। चुनाव जितेर पनि विपक्षमा बस्नुपर्ने र हारेको पार्टी सरकारमा जाने खालका दृश्य देखिए। अब यसलाई सुधार्नुपर्छ र त्यसका लागि अहिलेको गठबन्धन जसरी पनि टिकाउनुपर्छ भनेर उहाँ सबै कुरामा ख्याल गरेरै प्रस्तुत हुनुभएको हो,’ भट्टराईले भने।
‘कुरा भन्दा काम गर्न’ देउवाको जोड
कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले आफ्ना सभापति शेरबहादुर देउवाले धेरै बोलेको नरुचाउने भएकाले ओली संयमित भएको हुन सक्ने अनुमान लगाए।
‘स्वभावले नै हाम्रो सभापतिले धेरै बोलेको, लामो लामो भाषण गरेको, अरुको आलोचना मात्रै गरेको रुचाउनुहुन्न। कुराभन्दा काम गर्नुपर्छ भन्ने हामीले पनि बुझेका छौं। दुई नेताबीचको कुराकानीमा पनि बोल्नेभन्दा काम गर्ने कुरालाई महत्व दिनुपर्छ भन्ने भएकोले यो सबै कुरा ख्याल गरेर प्रधानमन्त्रीले आफूलाई अलि संयमित राख्नुभएको होला,’ महतले भने।
ओलीलाई यसपाली देउवाले प्रधानमन्त्री बनाएका हुन्। संसद्मा अहिले एमालेभन्दा कांग्रेस ठूलो दल हो। कांग्रेस बिच्किएको अवस्थामा ओलीको पद धरापमा पर्छ।
कांग्रेसँग सहकार्य गर्दा जति सहज परिस्थिति हुन्छ, त्यति नै कांग्रेस चिढिएको अवस्थामा असहज हुन सक्नेबारे ओली चनाखो देखिन्छन्। कांग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले अनियमितता प्रकरणमा प्रधानमन्त्री पनि प्रश्न बाहिर हुन नहुने बताइरहे पनि ओलीले महामन्त्रीद्वयको आलोचना गरेका छैनन्।
आफ्नो भन्दा ठूलो पार्टीसँग समीकरणमा रहेकाले संवेदनशीलता अपनाउनुपरेका कारण ओलीले शैली बदलेको विश्लेषक आचार्यको बुझाइ छ।
‘अहिले उहाँ आफ्नो पार्टीभन्दा ठूलो पार्टीको समर्थनमा प्रधानमन्त्री बन्नु भएको हो। यसअघिको परिस्थिति त्यो होइन। साना दलहरुलाई साथमा लिएर बन्नुभएको थियो। ठूला दलसँगको सहकार्य दायाँबायाँ हुन सक्ने भयले पनि प्रधानमन्त्रीको शैली नरम भएको होला,’ आचार्यले भने।