सिंहदरबार पुगेका पूर्वराजाका ज्वाइँ राजबहादुरले सुनाए सम्पत्ति बेचेर सहकारीको बचत फिर्ता गरेको कथा



बिजमाण्डू
२०८१ साउन २८ गते १५:४८ | Aug 12, 2024
सिंहदरबार पुगेका पूर्वराजाका ज्वाइँ राजबहादुरले सुनाए  सम्पत्ति बेचेर सहकारीको बचत फिर्ता गरेको कथा

काठमाडौं। सहकारी ठगी र अनुसन्धानको लागि गठित संसदीय छानबिन विशेष समितिले सोमबार सुमेरु बचत तथा ऋण सहकारी संस्थाका सदस्य राजबहादुर सिंहसँग छलफल गरेको छ।

Tata
GBIME
Zonsen

पुल्चोकमा रहेको सो सहकारीमा बचतकर्ताको रकम जोखिममा पारेको थियो। तर, पछि बचतकर्ताको रकम फिर्ता गर्ने भएपछि सहकारी ठगीको घटना सामसुम भएको थियो। समितिले यस बारेमा बुझ्नको लागि राजबहादुर सिंहलाई बोलाएको थियो।

बैठकमा सिंहले आफूले बचतकर्ताको विश्वास जितेर रकम फिर्ता गरेको बताएका थिए। तरलता अभाव भएको सहकारीमा आफूले निजी सम्पत्ति बेचेर रकम फिर्ता गर्ने सकारात्मक वातावरण बनाएको उनले भनेका थिए।

त्यस्तै, विश्वासको वातावरण बनेपछि सहकारी पुनः सञ्चालन गर्ने योजनाका साथ नयाँ सञ्चालक समूह आएको पनि उनले जानकारी गराएका थिए।

सिंह पूर्वराजा ज्ञानेन्द्र शाहका ज्वाइँ हुन्।

आइतबार समितिको ३५ औं बैठकमा सुमेरु बचत तथा ऋण सहकारी संस्थाका पूर्व अध्यक्ष हेमराज दाहाल, कानुनी रूपमा हाल अध्यक्ष कृष्णप्रसाद कँडेल र गत असार ३ को साधारण सभाबाट प्रस्तावित अध्यक्ष वीरेन्द्र महर्जनसँग पनि समितिले सोधपुछ गरेको थियो।

सहकारीका पूर्व अध्यक्ष भरत महर्जन भने आफ्ना परिवार सहित विदेश पलायन भएका छन्। समितिले गृहमन्त्री रमेश लेखकलाई सहकारी ठगीमा संलग्न विदेशमा फरार रहेका २१ जनाको नाम दिएको छ। जसमा सुमेरु सहकारी ललितपुरका भरत महर्जन, राजमाया महर्जन, सचिन महर्जन र सरला महर्जनको नाम छ।

समितिले सहकारी ठगीमा हिरासतमा रहेका सहकारी सञ्चालकसँग पनि सोधपुछ गरिरहेको छ। शनिबार समितिले शिवशिखर सहकारीका अध्यक्ष केदारनाथ शर्मा, उनकी श्रीमती गीता शर्मा, कान्तिपुर को-अपरेटिभका अध्यक्ष सीबी लामा लगायतसँग बयान लिएको थियो।

समितिको अनुसन्धान पूर्व गृहमन्त्री रवि लामिछाने जोडिएको सुदर्शन सहकारी र त्यसैसँग जोडिएको ग्यालेक्सी मिडियासम्म पुग्नेछ।