
काठमाडौं। यो वर्ष विवाहका लागि मंसिर र माघमा लगन कम भएकाले पार्टी प्यालेस र बैंक्वेट हलको बुकिङ अहिले नै भएको छ।
मंसिरमा १ दिन र माघमा दुई दिन मात्र विवाहको लगन भएका कारण अहिले नै पार्टी प्यालेस र बैंक्वेट हलको बुकिङ गराइएको हो। काठमाडौंका अधिकांश पार्टी प्यालेस र बैंक्वेट हलको बुकिङ भइसकेको व्यवसायीले बताएका छन्।
‘विवाहका लागि यो वर्ष मंसिर र माघमा लगन निकै कम छ,’ प्यालेस तथा क्याटरिङ व्यवसायी संघ काठमाडौंका अध्यक्ष उत्तम प्रकाश शर्माले बिजमाण्डूसँग भने, ‘अरु दिन जति पनि पाइन्छ। लगनको दिनमा बुकिङ पाउनै गाह्रो छ।’
फागुनमा विवाहका लगन तुलनात्मक रुपमा धेरै रहेकाले धेरै बुकिङ भएको छैन। गैरीधारास्थित एलिस रिसेप्सनमा मंसिर र माघमा बिहेको लगनको दिनका लागि अहिले नै बुकिङ भइसकेको छ।
एलिसकी सेल्स एण्ड बैंक्वेट म्यानेजर प्रियंका प्रधानले मंसिरमा लगनको दिन आफूकहाँ अब अरुलाई ठाउँ उपलब्ध नहुने बताइन्।
‘मंसिरको इभेन्टका लागि बुकिङ भइसकेको छ। माघमा पनि केही दिनका लागि बुकिङ आइसकेको अवस्था छ,’ उनले भनिन्।

नयाँ बानेश्वरस्थित आनन्दभूमि इभेन्ट्सका संचालक सकुन्द अर्यालले मंसिरका लागि यतिखेर धमाधम इन्क्वाइरी आइरहेको जानकारी दिए।
‘लगन थोरै छ। त्यसैले धेरैको एकैदिन पर्ने भएकाले ठाउँ नपाउने चिन्तामा अहिले नै बुकिङ गराउन खोजेका हुन्। इभेन्ट बुकिङ भएपनि पहिलाजस्तो ५०० भन्दा माथि संख्यामा पार्टी गर्ने ग्राहक न्यून छन्,’ उनले भने।
पेप्सीकोलास्थित न्यू त्रिशक्ति पार्टी प्यालेसले मंसिरको लगनका दिन आफ्नो हल बुकिङ भइसकेको संचालक शरण भण्डारीले जानकारी दिएको छ।
‘मंसिरका लागि बुकिङ भइसकेको छ। माघका लागि धमाधम इन्क्वाइरी आइरहेको छ,’ पार्टी प्यालेस संचालकले भने, ‘रिसेप्सन पार्टीका लागि केही बुकिङ आइसकेको छ। तर प्याक्स निकै कम छ।’
पार्टी प्यालेसले जनही न्यूनतम ११ सय देखि करिब ३ हजार रुपैयाँसम्मका दरले आफ्नो प्याकेज बेचिरहेका छन्।