
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ को उपधारा २ अनुसार नयाँ सरकार गठनको लागि आह्वान गरेका छन्।
संसदमा विश्वासको मत पाउन नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पदमुक्त भएसँगै पौडेलले संविधानको धारा ७६(२) अनुसार नै प्रधानमन्त्रीका लागि दाबी गर्न आइतबारसम्मको समय सीमा दिएका हुन्।
नेपाली कांग्रेस र नेकपा एमालेले यसअघि नै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने सहमति गरिसकेका छन्। ओलीलाई प्रधानमन्त्री बनाउन कांग्रेस र एमालेले दाबी गर्ने तयारी गरेका छन्।
यसअघि राष्ट्रपति पौडेलले संविधानविदहरुसँग कुन धारामा आधारित रहेर सरकार गठन गर्ने भन्नेबारे छलफल गरेका थिए। अधिकांश संविधानविदहरुले संविधानको धारा ७६ को उपधारा २ अनुसार नै नयाँ सरकार गठन अघि बढाउन सुझाव दिएका थिए।
राष्ट्रपतिको आह्वानसँगै कांग्रेस र एमालेले अब ओलीलाई प्रधानमन्त्री बनाउने गरि राष्ट्रपति समक्ष दाबी गर्दैछन्। एमाले उपमहासचिव प्रदीप ज्ञवालीले अहिले नै आफूहरु ओलीलाई प्रधानमन्त्री बनाउन दाबी पेस गर्न गइरहेको बताएका छन्।
‘अहिले नै दाबी गर्ने तयारी भइरहेको छ,’ ज्ञवालीले भने।
कांग्रेस र एमालेले दाबी पेस गरेपछि पौडेलले आजै ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्न सक्ने जनाइएको छ।