गगनलाई सरकारमा लैजान ओलीको जोडबलले पनि भएन, कांग्रेसबाट को-को बन्दैछन् मन्त्री ?

बिजमाण्डू
२०८१ असार २८ गते ११:४८ | Jul 12, 2024
गगनलाई सरकारमा लैजान ओलीको जोडबलले पनि भएन, कांग्रेसबाट को-को बन्दैछन् मन्त्री ?

काठमाडौं। नेपाली कांग्रेसले सरकारमा जाने मन्त्रीको नामलाई थप छलफल गरेर अन्तिम रुप दिने भएको छ। स्रोतका अनुसार प्रकाशमान सिंहको नेतृत्वमा कांग्रेस सरकारमा जाने लगभग सहमति भइसकेको छ।

Tata
GBIME
NLIC

कांग्रेस सभापति शेरबहादुर देउवाले सुरुमा महामन्त्री गगन थापालाई सरकारमा जान प्रस्ताव गरेका थिए। स्रोतका अनुसार गगनले सरकारको नेतृत्व गर्न पाउने भएमात्रै जाने इच्छा देखाएका थिए। संसदीय दलमा चुनाव लडिसकेका गगनले सामान्य पोर्टफोलियो लिएर मन्त्रीमा नजाने जानकारी गराए।

थापालाई सरकारमा ल्याउन नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली समेत इच्छुक थिए। केही दिनअघि ओली र गगनबीच बालकोटमा भेट भएको थियो। काम गरेर देखाउन सक्ने क्षमता भएको र सरकार समेत बलियो बन्ने भन्दै ओलीले गगनलाई ल्याउन खोजेका थिए। तर, गगनले सरकारमा सहभागी हुँदिन भनिदिए। त्यसपछि देउवाले सरकारमा पार्टीको नेतृत्व प्रकाशमानलाई दिन लागेका हुन्। सभापति बनाउन सहयोग गरेका कारण देउवाले प्रकाशमानलाई गुन लगाउनुपर्ने बाध्यात्मक परिस्थिति थियो।

स्रोतका अनुसार प्रकाशमानलाई उपप्रधानसहित रक्षा वा सामान्य प्रशासनमन्त्री दिइनेछ। कांग्रेसबाट आरजु देउवा परराष्ट्रमन्त्री बन्ने निश्चित भइसकेको छ। ओली नेतृत्वको सरकारमा पावरफूल मन्त्रालय गृह रमेश लेखकले पाउँदैछन्।

त्यस्तै देउवा निकट रहेका दीपक खड्काले ऊर्जा वा स्वास्थ्यमन्त्री पाउनेछन्। पर्साबाट चुनाव जितेका अजय चौरसिया पनि मन्त्री बन्ने पक्काजस्तै छ। उनले उद्योग मन्त्रालय पाउने सम्भावना उच्च छ। त्यस्तै चन्द्र भण्डारी पनि मन्त्री बन्ने सूचीमा छन्। स्रोतका अनुसार हृदयराम थानीलाई पनि मन्त्री बन्ने सूचीमा राखिएको छ।