सरकार फेरिन लागेपछि सेयर बजार एक वर्षअघिको विन्दुमा, सकारात्मक ट्रेन्ड कति स्टेबल?



सुनिल कुँवर
२०८१ असार २७ गते २२:०३ | Jul 11, 2024
सरकार फेरिन लागेपछि सेयर बजार एक वर्षअघिको विन्दुमा, सकारात्मक ट्रेन्ड कति स्टेबल?

काठमाडौं। नेप्से परिसूचक बिहीबार २९.२१ अंकले बढेर २२०४.६१ को विन्दुमा पुग्यो। नेप्सेले लिएको यो उचाइ २०८० साउन ७ पछिकै धेरै हो।

Tata
GBIME
Zonsen

गत साउन ७ गते नेपाल राष्ट्र बैंकले चालु वर्षको मौद्रिक नीति सार्वजनिक गर्नुअघि नेप्से ६३ अंकले बढेर २२२७ विन्दुमा पुगेको थियो। त्यसपछि निरन्तर ओरालो लागेको बजार कात्तिक १९ मा १८२६ अंकमा झर्‍यो।

यो बीचमा नेप्सेले चार पटक २१०० अंक पार गर्‍यो। पुस ४ गते २१४१, माघ ३ गते २१७५, फागुन २९ मा २१११ र जेठ ९ गते २१३१ विन्दुमा पुगे पनि नेप्सेले २२०० विन्दु भने छुन सकेको थिएन।

असार १७ गते सबैभन्दा ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेले सत्तापलट गर्ने गरी नयाँ समीकरण बनाएपछि नेप्से उकालो लागिरहेको छ।

असार १८ गते नेप्सेमा दुई पटक सकारात्मक सर्किट लागेर नेप्से ४७.०४ अंकले वृद्धि भयो। कांग्रेस र एमालेबीच नयाँ सरकार गठनको सहमति हुन अघिल्लो दिन नेप्से २०५३ अंकमा थियो। यही विन्दुलाई आधार मान्ने हो भने बिहीबारसम्म नेप्से १५१ अंकले बढेको छ।

दुई दलबीचको सहमति अनुसार एमालेले सरकारको नेतृत्वसहित अर्थ मन्त्रालय सम्हाल्नेछ। सेयर बजारमैत्री मानिने एमाले उपाध्यक्ष विष्णु पौडेल अर्थमन्त्री हुने हल्लाले पनि अहिले काम गरेको छ।

पौडेल अर्थ मन्त्रालयमा दोहोरिने धेरैको आकलन भए पनि उनलाई अर्थमन्त्री बनाउनु हुँदैन भन्न आवाज एमालेभित्रै छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार प्रतिनिधि सभामा विश्वासको मत लिन असफल भएपछि नयाँ सरकारको नेतृत्व गर्ने तयारीमा रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले अर्थमन्त्रीको उम्मेदवारबारे मुख खोलिसकेका छैनन्।

मौद्रिक नीतिमा फेरबदल र सत्ता राजनीतिमा परिवर्तन भएको अवस्थामा बाहेक पछिल्लो एक वर्ष बजारमा नाटकीय उथलपुथल भएको देखिँदैन।

स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालका अध्यक्ष धर्मराज सापकोटा आधारभूत सूचक सकारात्मक रहेका बेला लगानीकर्तामा कन्फिडेन्स देखिएकाले राजनीतिक स्थायित्व कायम रहे बजारले दिगो रूपमै उचाइ लिने बताउँछन्।

‘वित्तीय सूचक अनुकूल भए पनि यसअघि लगानीकर्तामा कन्फिडेन्स थिएन। अहिले दुई ठूला दल मिलेपछि राजनीतिक स्थिरता हुन्छ भन्ने विश्वासमा लगानीकर्तामा कन्फिडेन्स बढेको छ,’ उनले भने।

राजनीतिक उतारचढाव र नीतिगत रूपमा फेरबदल हुँदा त्यसको असर सेयर बजारमा प्रतिबिम्बित हुने गरेको छ। ‘लगानीकर्ताले कन्फिडेन्स खोजिरहेका थिए। त्यो राजनीतिक समीकरणले संकेत गरेको छ,’ एक लगानीकर्ताले भने, ‘अब बजार बढ्नुको विकल्प पनि छैन।’

पछिल्लो समय बैंकबाट ऋण लिएर सेयर किन्ने लगानीकर्ता बढ्न थालेका छन्। माग नभएर अन्य क्षेत्रमा कर्जा विस्तार सुस्त रहेको अवस्थामा बैंक तथा वित्तीय संस्थाबाट ११ महिनामा सेयर धितो कर्जा लगानी १४.२० प्रतिशतले बढेको छ।

चालु वर्षमा मात्रै लगानीकर्ताले १० अर्ब ८० करोड रुपैयाँ सेयर कर्जा लिएका छन्। गत असार मसान्तसम्म ७६ अर्ब ३० करोड रुपैयाँ सेयर धितो कर्जा रहेकामा जेठ मसान्तमा आइपुग्दा बढेर ८७ अर्ब ११ करोड पुगेको छ।

बैंकहरुको ब्याजदर एकल अंकमा आएको छ। ब्याजदर पछिल्ला केही महिनायता निरन्तर घट्दो क्रममा छ। ब्याजदर घट्नु सेयर बजार अनुकूल मानिन्छ।

त्यसो भए के अब नेप्सेले २२०० बाट तल नझरी उकालो यात्रा तय गर्ला त?

‘फेरि राजनीतिक रूपमा ठूलै फेरबदल नभए बजारको गति रोकिंदैन। बुम नै हुन्छ। किनभने फन्डामेन्टल रूपमा सूचकहरू अनुकूल छन्,’ सापकोटाले भने।