सेबोन अध्यक्ष नियुक्तिबारे अर्थमन्त्री : महान्यायाधिवक्ताको राय आएपछि निर्णय हुन्छ

बिजमाण्डू
२०८१ असार १० गते १९:१४ | Jun 24, 2024
सेबोन अध्यक्ष नियुक्तिबारे अर्थमन्त्री : महान्यायाधिवक्ताको राय आएपछि निर्णय हुन्छ
वर्षमान पुन

काठमाडौं। अर्थमन्त्री वर्षमान पुनले महान्याधिवक्ताको कार्यालयबाट कानुनी राय आएपछि नेपाल धितोपत्र बोर्ड (सेबोन)मा अध्यक्ष नियुक्तिबारे सरकारले निर्णय गर्ने बताएका छन्।

Tata
GBIME
NLIC

प्रतिनिधि सभाको बैठकमा सांसदहरुले सोधेका प्रश्नको जवाफ दिने क्रममा उनले सेबोन अध्यक्ष नियुक्तिका लागि गठित सिफारिस समितिले महान्यायाधिवक्ता कार्यालयसँग परामर्श मागेको तर आउन बाँकी रहेको बताए।

‘समितिले सरकारको कानुनी सल्लाहकार महान्यायाधिवक्ता कार्यालयसँग अन्तर्वार्तामा सहभागी दुई जनाको मात्र सिफारिस गर्न मिल्छ कि मिल्दैन वा अन्तर्वार्तामा सहभागी नभएका एक जनाको वा तीनै जनाको नाम थप्न मिल्छ कि मिल्दैन भनेर राय मागेको छ। कानुनी राय आएपछि समितिले काम अघि बढाउँछ र सरकारले आवश्यक निर्णय लिन्छ’ उनले भने।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ नेतृत्वको अध्यक्ष छनोट समितिले सर्टलिस्ट गरेका ५ जना मध्ये असार २ गतेका लागि तय अन्तर्वार्तामा २ जना मात्र सहभागी भएका थिए। अनुपस्थित भएका ३ जनाका लागि असार ५ गतेको समय तोकिएकामा उनीहरु त्यस दिन पनि गयल भएका थिए।

कानुनमा सेबोन अध्यक्ष नियुक्त गर्न कम्तिमा ३ जनाको नाम सिफारिस गर्नुपर्ने व्यवस्था छ।

सांसदहरुका प्रश्नको जवाफ दिने क्रममा मन्त्री पुनले आगामी आर्थिक वर्षको मौद्रिक नीति सेयर बजार अनुकूल आउने बताए।