सजिलो पे र पेवेल वालेटको ९० प्रतिशत कारोबार शंकास्पद, भेटिएन १ खर्बको स्रोत

सविन ढकाल
२०८१ असार ७ गते १२:५८ | Jun 21, 2024
सजिलो पे र पेवेल वालेटको ९० प्रतिशत कारोबार शंकास्पद, भेटिएन १ खर्बको स्रोत

काठमाडौं। सजिलो पे पेमेन्ट र पेवेल वालेटमार्फत गरिएको १ खर्ब रुपैयाँभन्दा बढीको कारोबार शंकास्पद देखिएको छ।

Tata
GBIME

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गरेको अनुसन्धानमा दुई वालेटमार्फत एक वर्षमा १ खर्ब ८ अर्ब रुपैयाँ बराबरको शंकास्पद कारोबार भएको खुलेको हो।

पेवेल मार्फत ८६ अर्ब र सजिलो पे मार्फत २२ अर्बको शंकास्पद कारोबार भएको खुलेको अनुसन्धानमा संलग्न अधिकृतहरुले बताएका छन्।

‘दुवै वालेटको ९० प्रतिशत कारोबार शंकास्पद देखियो। कारोबार पनि अस्वाभाविक भएको देखिन्छ,’ अनुसन्धानमा खटिएका एक प्रहरीले भने।

तस्करीको ६१ किलो सुन प्रकरणमा रकम भुक्तानीका लागि सजिलो पे पेमेन्ट र पेवेल वालेट प्रयोग भएको देखिएको छ। त्यस्तै हुन्डीको रकम पनि कारोबार भएको पाइएको छ। यसमा वालेटका अध्यक्ष र केही कर्मचारीको संलग्नता देखिएको ती अनुसन्धान अधिकृतले बताए।

सीआईबीले पेवेलका अध्यक्षसहित ८ कर्मचारीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। पक्राउ पर्नेमा पेवेलका अध्यक्ष भीमप्रसाद तिमल्सिना तथा कर्मचारीहरू प्रज्वल आचार्य, सुरज जबरा, सुशील बन्जारा, कश्यप मानन्धर लगायत छन्। त्यस्तै  भैरहवाबाट एजेन्ट बलबहादुर कुँवर र बाराबाट अरुणकुमार यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ। सजिलो पेका अध्यक्ष भने फरार छन्।

एक वर्षको अवधिमा दुई वालेटको कारोबार अस्वाभाविकरुपमा बढेको देखिन्छ। एक वर्ष अगाडि १ अर्बको कारोबारमा सीमित यी वालेटमार्फत पछिल्लो एक वर्षमा भने भुक्तानी ह्वात्तै बढेको हो।

‘ठूलो रकमको शंकास्पद कारोबार भएको देखिन्छ। यसमा संलग्न अरुलाई खोजी गरिरहेका छौं,’ सीआईबीका प्रवक्ता एसपी होविन्द्र बोगटीले भने।

दुई वालेट कम्पनीले विभिन्न १८ वटा बैंकमार्फत कारोबार गर्ने गरेको देखिएको छ। अनुसन्धान अधिकृतहरुका अनुसार अवैध कारोबारीले बैंकमा खोलिएको वालेटको खातामा रकम जम्मा गरी तेस्रो पक्षलाई भुक्तानी दिने गरेको देखिएको छ। कारोबार अस्वाभाविक देखिएपछि बैंकहरुले राष्ट्र बैंकमा जानकारी गराएको पनि प्रहरी अनुसन्धानमा देखिएको छ।

‘बैंकहरूले पनि राष्ट्र बैंकलाई खबर गरेको देखियो। तर, समयमा नै एक्सन लिएको देखिएन,’ एक प्रहरी अधिकृतले सुनाए।

६१ किलो सुन प्रकरणमा सीआईबीले अहिले पुनः अनुसन्धान गरिरहेको छ। त्यहीक्रममा वालेटमार्फत भएको शंकास्पद कारोबार खुलेको हो।

सुन तस्करी प्रकरणको दोस्रो अनुसन्धानमा ४ जना भारतीय र २ जना चिनियाँ ( नेपाली नागरिकता पनि लिएका) सहित २० जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।  

गत साउन २ गते हङकङबाट ब्रेक सुमा भित्र्याइएको ६१ किलो सुन भन्सार जाँचपास भएर बाहिरिएको अवस्थामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको थियो। यो प्रकरणमा गत भदौ ३१ गते २९ जनालाई प्रतिवादी बनाएर मुद्दा चलाइएकामा केही पुर्पक्षका लागि थुनामा छन् भने केही प्रतिवादी अझै फरार छन्।

नेपाल राष्ट्र बैंकले हुन्डी लगायत गैरकानुनी कारोबारको आशंकामा दुवै भुक्तानी सेवा प्रदायक कम्पनीका बैंक खाता यसअघि नै रोक्का गरिसकेको छ।

राष्ट्र बैंकले सार्वजनिक सूचना जारी गर्दै नियामकीय अनुपालनासम्बन्धी छानबिनका लागि दुवै भुक्तानी सेवा प्रदायक कम्पनीका बैंक तथा वित्तीय संस्थामा रहेका खाता बन्द गरेको जनाएको छ। प्रहरीले फरार रहेका कर्मचारीलाई खोजी गरिरहेको छ।