
काठमाडौं। श्री एयरलाइन्सले पोखराबाट मानसरोवरमा चार्टर्ड उडान गर्ने व्यावसायिक योजना बनाएको छ।
सेप्टेम्बरदेखि पोखराबाट मानसरोवरमा चार्टर्ड उडान गर्ने योजना रहेको एयरलाइन्सका प्रवक्ता अनिल मानन्धरले जानकारी दिए। कम्पनीले नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणबाट अनुमति भने लिएको छैन। केही दिनमै प्रक्रिया सुरु गर्ने कम्पनीको तयारी छ।
‘हामीले यसअघि नेपालगंजबाट मानसरोवरमा चार्टर्ड उडान गरिसकेका छौं। पोखराबाट गर्ने उडानमा यात्रुको माग आउने विश्वास लिएका छौं,’ मानन्धरले भने।
कम्पनी पोखराबाट माउन्टेन फ्लाइट पनि गर्ने तयारीमा छ। आउँदो नोभेम्बरबाट पोखरा बेस रही माउन्टेन फ्लाइट गर्ने योजना रहेको मानन्धरले बताए।
एयरलाइन्सले चार्टर्ड र माउन्टेन फ्लाइटका लागि भाडा भने तय गरेको छैन। दुवै उडानमा कम्पनीले आफूसँग भएको जेट इन्जिन र प्रोपेलर दुवै किसिमका जहाज प्रयोग गर्नेछ।
कम्पनीले हाल बम्बार्डियर कम्पनीका दुईवटा सीआरजे-२००, दुईवटा सीआरजे-७०० र ६ वटा क्यू-४०० जहाजमार्फत मुलुकका विभिन्न गन्तव्यमा नियमित व्यावसायिक उडान गर्दै आएको छ।