
काठमाडौं। श्री एयरलाइन्सले नागरिक उड्डयन प्राधिकरणबाट काठमाडौं-भरतपुर नियमित उडानका लागि गर्नुपर्ने ‘प्रुभिङ फ्लाइट’ अनुमति पाएको छ। कम्पनीले आउँदो बुधबार प्रुभिङ फ्लाइट गर्ने तयारी गरेको छ।
प्राधिकरणका प्रवक्ता हंसराज पाण्डेले श्रीलाई प्रुभिङ फ्लाइट अनुमति दिने निर्णय गरिसकेको बताए। ‘हाम्रो तर्फबाट नीतिगत निर्णय भइसकेको छ। अब श्रीले प्रुभिङ फ्लाइट गर्ने दिन निश्चित गर्न बाँकी छ,’ उनले भने,’यसमा प्राधिकरणका प्राविधिकको सहभागिता रहनेछ। त्यहाँबाट आएको रिपोर्टअनुसार नियमित उडान अनुमति दिने/नदिने निश्चित हुनेछ।’
कम्पनीले क्यू-४०० सिरिजको जहाजमार्फत पहिलोपटक भरतपुर उडान गर्न लागेको हो।
मौसमी अनुकूलताका आधारमा बुधबार परीक्षण उडान गर्ने योजना रहेको कम्पनीका प्रवक्ता अनिल मानन्धरले बताए। ‘प्रुभिङ फ्लाइट सफल भएलगत्तै काठमाडौं-भरतपुर नियमित व्यवसायिक उडान गर्ने योजना हो,’ उनले भने।
भरतपुर विमानस्थलमा अहिले बुद्धले मात्र नियमित व्यावसायिक उडान गर्दै आएको छ। बुद्धले प्रयोग गर्दै आएको एटीआर-४२ सिरिजको जहाज फेजआउट हुने चरणमा छ। यसो हुँदा त यो गन्तव्यतर्फको उडान सेवा नै ठप्प हुने देखिएको छ।
हाल बुद्ध एयरले तीन वटा एटीआर-४२-३२० सिरिजको जहाजमार्फत उडान भरतपुर गर्दै आएको छ। यो गन्तव्यमा एकतर्फी भाडादर ४,७३९ रुपैयाँ निर्धारण हुँदै आएको छ।
भरतपुर विमानस्थलको धावनमार्ग करिब १३ सय मिटर लम्बाइको छ, जहाँ एटीआर-७२ जहाजले अवतरण गर्न गाह्रै छ। तर, श्रीसँग भएको बम्बार्डियर कम्पनीको क्यू-४०० सिरिजको जहाजको क्षमताअनुसार यो विमानस्थलमा उडान-अवतरण सहज हुने मानिएको छ।
कम्पनीले ८० सिटे जहाजमार्फत काठमाडौंबाट जाँदा ७० जना र भारतपुर-काठमाडौं उडानमा ६० जना यात्रुलाई सेवा दिन सक्ने क्षमता रहेको जनाइएको छ।
नागरिक उड्डयन प्राधिकरणले यो विमानस्थलको धावनमार्ग क्षमता १७ सय मिटरमा विस्तार गर्ने योजना अगाडि बढाएको छ। यसका लागि नेपाली सेना धावनमार्ग विस्तार क्षेत्रमा पर्न आउने आफ्नो घोडा प्रजनन केन्द्र स्थानान्तरणका लागि तयार भइसकेको छ। तर, सार्ने प्रक्रिया भने सुरु भइसकेको छैन।