क्रिकेटको इकोसिस्टम बनाउन निजी क्षेत्रसँग साझेदारी, चाहिन्छ दीर्घकालीन रणनीति

बिजमाण्डू
२०८१ जेठ ३२ गते १३:४७ | Jun 14, 2024
क्रिकेटको इकोसिस्टम बनाउन निजी क्षेत्रसँग साझेदारी,  चाहिन्छ दीर्घकालीन रणनीति
  • रमेश पराजुली

एक दशकको लामो अन्तराल पछि नेपाल आईसीसी टी-२० विश्वकपमा खेलिरहेको छ। पहिलोपटक विश्वकपमा जाँदा नेपालको जस्तो चर्चा थियो यसपटक त्योभन्दा पृथक छ अवस्था। नेपाली क्रिकेट टोलीको जर्सीले स्टेडियम ‘ब्लू ओसियन’ मा परिणत हुँदा क्रिकेट वृत्तमा नेपालको छुट्टै छाप परेको छ। भलै पहिलो खेलमा नेदरल्याण्ड्ससँग हारेर दोस्रो खेलमा वर्षाका कारण श्रीलंकासँग अंक बाढ्न नेपाल बाध्य नै किन नहोस्।

Tata
GBIME
NLIC

जारी विश्वकपलाई लिएर जति उमंग देशमा छ, त्यति नै नेपाली डायसपोराको प्यासन चाखलाग्दो छ। काठमाडौंको टुँडिखेलमा होस् या मोफसलमा, डल्लासमा होस् की लाउडरहिलमा नेपालीको उपस्थितिले खेल हेर्न पुगेका दर्शकको समर्थनले पक्कै क्रिकेटमा राम्रो सम्भावनालाई उजागर गरेको छ।

उसो त नेपालले विश्वको कुनै पनि देशमा गएर क्रिकेट खेल्दा नेपाली समर्थक हौस्याउन पुग्छन् नै। विश्वकप अघि नेपालले वेस्ट इण्डिजका स्थानीय टिमसँग खेल्दा पनि दर्शक पुगेको देखेर अचम्म लागेको करण केसीले आईसीसीसँग बताएका थिए। तर, ती खेल भन्दा अहिले चलिरहेको विश्वकपको अलग अर्थ छ। र, दर्शकको यो लोभलाग्दो उपस्थितिले नेपाली क्रिकेटको सम्भावनालाई अझ थप स्पष्ट पारेको छ।

भलै हामी यसलाई कोसेढुंगाका रुपमा ‘सेलिब्रेट’ गर्दैछौं तर सरकारले क्रिकेटको विकासमा गर्ने लगानीले यो ‘मोमेन्टम’ कायम रहने वा नरहने भन्नेमा निर्भर गर्छ।

नगन्य लगानी, अव्यवाहारिक अपेक्षा

एसोसिएट स्तरमा संघर्ष गरिरहेको नेपाल विश्वकपमा पुग्दा समर्थकहरू हौसिएका छन्। ओमन, यूएईलगायतका समकक्षी टोलीहरूमा प्रतिस्पर्धा गर्दा नतिजा आफ्नै पक्षमा आओस् भनेर अपेक्षा गर्ने क्रिकेट समर्थकले विश्वकपमा पनि त्यही अपेक्षा राखेका छन्। समर्थक चाहन्छन् : नेपालले त्यही स्तरमा प्रतिस्पर्धा गरोस् जुन स्तरमा अस्ट्रेलिया, भारत, इङ्ग्ल्याण्डजस्ता देशहरूले खेलिरहेका छन्। ती देशहरूसँग क्रिकेट पूर्वाधारदेखि तालिम र ग्रासरुटसम्म लगानीको लामो इतिहास छ।

तस्विर : प्रविण रानाभाट /बिजमाण्डू

जारी विश्वकपमा नेपालले हारसँगै प्रतियोगिताको सुरुवात गर्‍यो। अब, दुईवटा खेल बाँकी छन्। तर यहाँ हार जित भन्दा पनि विश्वकपको मैदानमा नेपालको उपस्थिति नै अहिलेका लागि जित देखिन्छ। तुलनात्मक रुपमा नेपाली क्रिकेटरहरूले हालसम्म हात परेको उपलब्धी सीमित स्रोतसाधन र सरकारको न्यून सहयोगको बावजुत पनि सम्भव भएको छ।

लगानीमा देखिएको यो खाडलले सोझै प्रश्न तेर्सिन्छ : यो धरातलले हामी कसरी अन्य देशहरूको तुलनामा नेपाली टोलीको सफलता अपेक्षा गर्न सक्छौं ?

उदाहरणका लागि अष्ट्रेलियामा अत्याधुनिक सुविधाहरू र बलियो घरेलु संरचनामा प्रतिस्पर्धा हुँदा क्रिकेट संस्कृति राम्रोसँग स्थापित छ। भारतमा फ्रेन्चाइजी आईपीएल बाहेक पनि रणजीजस्ता घरेलु क्रिकेटको प्रतिस्पर्धाबाट खेलाडी माथि आउँछ। इङ्ग्ल्याण्डको पनि उस्तै कथा छ। ती देशहरू क्रिकेटको शक्ति राष्ट्र एकाएक भएका पनि होइनन्।

उनीहरूको सफलता आकस्मिक होइन तर दशकौंको व्यवस्थित लगानी र विकासको परिणाम हो। यस्तै दर्बिलो आधार बिना नेपालले यो सफलता पाइहाल्नुपर्ने अपेक्षा गर्दा देशको प्रतिनिधित्व गर्ने खेलाडीहरूका लागि पनि अन्याय हुन आउँछ।

तस्विर : क्यान

पूर्वाधारको दयनीय अवस्था

नेपालमा अन्तर्राष्ट्रिय क्रिकेट खेलहरू आयोजना गर्नका लागि रंगशालाको अभाव सबैभन्दा ठूलो समस्या हो। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा खेल हेर्न रुख चढेका दर्शक विश्वभर भाइलर भए। त्यहाँ फ्लडलाइट लगाउने घोषणा भयो, टेण्डर पनि भयो तर कामले अझै गति लिएको छैन।

यता मूलपानी क्रिकेट मैदान निर्माण सुरु भएको दुई दशक बित्दा पनि पूरा भएको छैन। क्रिकेट प्रतिभा र उत्साही फ्यानले भरिपूर्ण देश नेपालसँग अन्तर्राष्ट्रिय खेल आयोजना गर्न आवश्यक पूर्वाधारसमेत छैन। यो अपर्याप्तता देशमा खेलकुदको विकासमा ठूलो बाधा हो।

एउटा स्टेडियमको अभावले खेलकुद पूर्वाधारमा व्यापक उपेक्षा झल्काउँछ। अन्य राष्ट्रसँग प्रतिस्पर्धामा रहन आफ्ना सुविधाहरूको स्तरोन्नति र विस्तार गर्नु नेपालको आवश्यकता हो। रंगशाला निर्माण गर्न वा अत्यावश्यक पूर्वाधारमा लगानी गर्न सरकार असफल हुनु भनेको अवसर गुमाउनु मात्रै होइन; राष्ट्रिय लज्जाकै विषय हो। यो उपेक्षाले नेपाली क्रिकेटको सम्भावनालाई कमजोर मात्र बनाउँछ र क्रिकेटरहरूको भावी पुस्ताको विकासमा बाधा पुर्‍याउँछ।

आन्तरिक राजनीतिको असर

नेपाल क्रिकेट संघ (क्यान) भित्र लामो समयदेखिको आन्तरिक राजनीति र खुट्टा तानेको कारणले देशको क्रिकेटको विकासमा बाधा पुगेको छ। यी आन्तरिक द्वन्द्वहरूले दीर्घकालीन रणनीति र विकास योजना कार्यान्वयन गर्न गाह्रो बनाइरहेको प्रष्ट छ। क्रिकेटमा जति अस्थिर वातावरण सिर्जना हुन्छ त्यसले क्रिकेटको नेतृत्व गरिरहेकाहरूमाथि नै प्रश्न खडा हुने हो।

हालमात्रै क्यानका सचिव पारस खड्काले क्यानभित्रकै पदाधिकारी क्रिकेट बिगार्न लागेको गम्भीर आरोप लगाए। त्यसको अघिल्लो दिन नेपाल खेलकुद महासंघले पत्रकार सम्मेलन नै गर्दै क्यान नेतृत्वमा आर्थिक अपचलन लगायतको आरोपहरू लगाएको थियो। यी त उदाहरण मात्रै हुन्। कयौं अदृश्य राजनीतिले क्रिकेटको विकास रोकिएको छ।

यद्यपि, यी चुनौतीका बावजुद आशाको किरण भने क्रिकेट खेलमा देखिएको छ। क्रिकेटको स्थिति सुधार गर्न र नेपालमा क्रिकेटको लागि बलियो जग बसाल्न केही प्रयास भएका छन्। क्यानले राम्रो सुरुवात पनि चाल्न खोजेको छ। तर आन्तरिक राजनीतिको किचलोबाट माथि उठेमात्रै त्यो सम्भव देखिन्छ।

फ्यानबेसको भूमिका

नेपाली क्रिकेटको सबैभन्दा ठूलो ‘एसेट’ नै हो फ्यानबेस। एसोसिएट राष्ट्रमध्ये बिना कुनै विवाद नेपाल सबैभन्दा राम्रो फ्यानबेस भएको टोली हो। यही वर्ष अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले नेपाललाई फ्यान इन्गेजमेन्ट अफ दी इयरले सम्मानित गरेको थियो।

प्रशंसकहरूको उत्साह र समर्पणले एक जीवन्त क्रिकेट संस्कृति सिर्जना गरेको छ नेपालमा। जसले खेलाडीहरूलाई पनि हौसाएको छ। सँगै सरकार र क्यान लगायतका सरोकारवाला निकायलाई काम गर्न दबाब पनि सिर्जना गरेको छ।

तर यहाँ अब प्रशंसा र समर्थक धेरै भएर मात्रै पर्याप्त हुनेछैन। अपेक्षा र लक्ष्य पूरा गर्न पूर्वाधार विकासमा ठूलो लगानी आवश्यक छ। सरकारले यसलाई बुझेर आवश्यक स्रोत र सुविधा उपलब्ध गराउन तत्काल पहल गर्नुपर्छ।

निजी क्षेत्रको साथ

सरकार आफैले गरे सबै सम्भव हुन्छ। तर सबै आफैले मात्रै गर्नु भन्दा त्यो हितकर पनि हुँदैछ। त्यसैले क्रिकेटको पूर्वाधार विकासमा सरकारले निजी क्षेत्रलाई संलग्न गराउनुपर्ने आजको आवश्यक कदम हो। निजी क्षेत्रको प्रयासले नेपालमा भएका क्रिकेट लिगले यहाँ सम्भावना पनि देखाएको छ। स्थानीय तहहरूले निजी क्षेत्रसँगै मिलेर क्रिकेट कार्यक्रम आयोजना गरिरहेको छ। यसले खेलाडीहरूलाई अवसर सिर्जना गरेको छ।

नेपालमै पनि रुपन्देहीको तिलोत्तममा ३० करोडमाथि लगानी गरेर निजी क्षेत्रबाटै निर्माणाधीन छ। निर्माण सुरु भएको ९ महिनामै यो रंगशालाको मैदानतर्फ निर्माण सम्पन्न गरेर गएको फागुन महिनामै उद्घाटन भयो। जबकी केही क्रिकेट मैदान दशकौँ देखि निर्माणाधीन छन् र अझै पनि निर्माणाधीन नै छन्।

अमेरिकाले भइरहेको विश्वकपमा प्रयोग भइरहेका रंगशाला छोटो समयमा नै निर्माण भएका हुन्। नेपालले यस्ता उदाहरणहरूबाट पाठ सिक्नुपर्छ।

निजी क्षेत्रलाई संलग्न गराएर विश्वभर सफल भएका मोडलहरूबाट नेपाल सिक्न ढिला गर्नु हुँदैन। ‘क्रिकेट इकोसिस्टम’ सिर्जना गर्न दीर्घकालीन दीर्घकालीन रणनीतिको बेजोडले आवश्यकता देखिएको छ।

अन्त्यमा क्रिकेटमा पाएको उपलब्धीमा गर्व गर्दै गर्दा यो क्षेत्रमा रहेका खराबी र समस्या समाधान गर्न पनि सबै लाग्नु पर्छ। सरकारले आवश्यक पूर्वाधारमा लगानी त गर्न पर्छ नै दर्शकहरूले पनि अब सरकारको विरोध मात्र होइन सरकार र सरोकारवाला निकायलाई जिम्मेवारी महसुस गराउन भूमिका खेल्नुपर्छ।