
काठमाडौं। जावलाखेल ग्रुपको जेजीआई डिस्ट्रिब्यूसन प्रालिले ६ महिनामा ५ अर्ब ११ करोड रुपैयाँ (अपरिष्कृत) कारोबार गरेको छ।
अघिल्लो वर्ष २०२३/२४ मा कम्पनीले १३ अर्ब ६२ लाख रुपैयाँको व्यापार गरेको छ। कम्पनीले उत्पादन गर्ने ४० युपी ब्राउन स्पिरिटको बिक्रीबाट धेरै आम्दानी गर्दै आएको छ।
कम्पनी गोल्डेन ओक, ब्ल्याक ओक, रोयल ट्रेजर, हिमालयन ब्राण्डीको बिक्रीबाट ५९ प्रतिशत आम्दानी गरेको छ। यस्तै, भोड्का, जीन र अइलासहितका ह्वाइट स्पिरिटबाट २२ प्रतिशत र बियरबाट १९ प्रतिशत आम्दानी हासिल गरेको छ।
ब्राण्डअनुसार कम्पनीले गोल्डेन ओक र ब्लू डाइमण्ड जीन बिक्रीबाट मात्रै ६२ प्रतिशत आम्दानी गर्न सफल भएको छ।
सन् २०२१/२२ मा कम्पनीले करिब १७ अर्बको व्यापार गरेको थियो। त्यसअघि कम्पनीले २०२०/२१ मा १४ अर्ब ५० करोड र २०१९/२० मा ११ अर्ब ३८ करोड रुपैयाँको कारोबार गरेको थियो।
जेजीआई डिस्ट्रिब्यूसन जावलाखेल ग्रुपले उत्पादन गर्ने सबै मदिराको आधिकारिक वितरक हो। कम्पनीले जावलाखेल समूहका चारवटा डिस्टिलरी विजय, एसियन, हिमालयन, रोलिङ रिभर र राज ब्रुअरीबाट उत्पादित मदिरा बिक्री गर्छ।
कम्पनीमा विजयराज शाहको ५५ प्रतिशत सेयर स्वामित्व रहँदा उनका छोरा राजबहादुर शाहको ४५ प्रतिशत छ। कम्पनीसँग ४ वटा वेयरहाउस छ भने देशभर १८७ डिलर छन्।
कम्पनीले इक्रा नेपालबाट ४ अर्ब ३२ करोड रुपैयाँको बैंकिङ कर्जाका लागि रेटिङ पुन: पुष्टि गराएको छ। ७७ करोड ९२ लाख रुपैयाँको दीर्घकालीन कर्जाका लागि एल डबल बी र ३ अर्ब ५५ करोड रुपैयाँको अल्पकालीन कर्जाका लागि एनपी एफोर प्लस रेटीङ पुन: पुष्टि गराएको छ।