बढ्यो डिजिटल बैंकिङको आवश्यकता र महत्त्व, भुक्तानी कारोबारले मार्दैछ फड्को

बिजमाण्डू
२०८१ जेठ ३० गते ०६:२० | Jun 12, 2024
बढ्यो डिजिटल बैंकिङको आवश्यकता र महत्त्व, भुक्तानी कारोबारले मार्दैछ फड्को


साथमा मोबाइल छ भने सामान्य किनमेल र भुक्तानीका लागि न नगद बोक्नुपर्छ, न त पर्स वा पैसा कतै छुट्यो भनेर चिन्ता लिनुपर्छ। बैंकका खाता एप्सका रूपमा हाम्रा मोबाइलमा छन्। इ-बैंकिङ र डिजिटल वालेटका सुविधा छन्। जसबाट सजिलो लाग्छ, भुक्तानी कारोबार गर्न सम्भव छ।

Tata
GBIME
NLIC

हात हातमा बैंकिङ कारोबार झट्टै सहज भएको होइन। प्रविधिले मारेको फड्कोसँगै यो सम्भव भएको हो। नेपालमा डिजिटल बैंकिङको सुरुवात सन् २००२ मा कुमारी बैंकले ई-बैंकिङ सेवा ल्याएपछि भएको हो। समयक्रममा मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ लगायतका सेवा थपिए। कोरोनाको महामारीले डिजिटल बैंकिङको आवश्यकतालाई अझै बढी महत्त्वपूर्ण बनायो।

बैंकहरु बाध्यताले डिजिटल बैंकिङलाई माथि लान प्रेरित भए। आम जनमानसमा पनि यतातिर ध्यान गयो। बैंकिङ सेवामा नयाँ सुविधाको जानकारी लिएर सेवाग्राही डिजिटलतिर विस्तारै जान थाले। बैंकिङ सेवामा डिजिटल भुक्तानी कारोबार जुन रूपमा बढेको छ, यतिकैमा पुग्छ भन्ने ठान्नु हुँदैन।

नेपालको वित्तीय कारोबारको क्षेत्रमा डिजिटल युगको क्रान्तिकारी सुरुवात कोरोनाकाललाई नै भन्न सकिन्छ। आउनुस् डिजिटल बैंकिङको आवश्यकता, चुनौती र अवसरबारे छलफल गरौं।

नेपालमा हालको जनसंख्या लगभग ३.१२ करोड छ।  यहाँका बैंकिङ संस्थाहरू ‘क’ वर्गका वाणिज्य बैंक २०, विकास बैंक १७ र वित्त कम्पनी १७ गरि कुल ५४ वटा छन्। बैंकिङ सेवाको क्षेत्रमा नेपालमा रोचक कुरा, खाताको संख्या भने ५ करोड ४७ लाख ४५ हजार ५ सय ८७ छ। यी खाताहरू पक्कै एकै व्यक्तिको दुई वा दुईभन्दा बढी बैंकमा छन् भन्ने बुझ्न सकिन्छ।

यसरी हेर्दा बैंकिङ पहुँच पुगेको जनसंख्या भने शतप्रतिशतभन्दा बढी देखिन्छ। बैंकिङ सेवाहरूमा शाखा संख्या ६ हजार ४ सय ६५ वटा ‘क,’ ‘ख,’ र ‘ग’ वर्ग का बैंकहरुका शाखा छन्, जुनमा शाखारहित बैंकिङ सेवा शाखाहरू १ हजार १ सय ९५ लाई जोडिएको छैन।

यत्तिका शाखामार्फत बैंकहरुले ३.१२ करोड जनसंख्याको ५ करोड ४७ लाख ४५ हजार खातालाई सेवा दिइरहेका छन्। यति हुँदाहुँदै पनि डिजिटल बैंकिङ सेवाहरूको प्रयोगकर्ता संख्या दिनानुदिन बढ्दै छ, जुन कुरा राम्रो हो र हुनु जरुरी पनि थियो। तर, पनि त्यतिले पक्कै ओहो भनेर आश्चर्य मानिहाल्नुपर्ने भने देखिँदैन।

खाताको तुलनामा मोबाइल बैंकिङ चलाउनेको संख्या ४४ प्रतिशत देखिन्छ। तर, मुलुकको जनसंख्या ३ करोड १२ लाख मान्ने हो भने ७७ प्रतिशतले मोबाइल बैंकिङ प्रयोग गरेको बुझिन्छ, जुन कुरा डिजिटल युगको क्रान्तिभन्दा हुन्छ।

खातावालाका तुलनामा अझै धेरैलाई डिजिटल बैंकिङको बारेमा बुझाउन जरूरी छ भन्ने कुरा यो तथ्यांकले देखाउँछ। नेपालमा हाल मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, डेविट-क्रेडिट कार्ड र प्रिपेड कार्ड प्रयोगकर्ताको संख्या यस्तो छ –

  • मोबाइल बैंकिङ ग्राहक संख्या – २,४०,५३,६२९
  • इन्टरनेट बैंकिङ ग्राहक संख्या – १९,०४,७७३
  • डेबिट कार्ड धारकहरू – १,२७,१४,८६१
  • क्रेडिट कार्ड धारकहरू – २,८४,६७२
  • प्रिपेड कार्ड धारकहरू – १,६५,३३२

खाताको तुलनामा मोबाइल बैंकिङ चलाउनेको संख्या ४४ प्रतिशत देखिन्छ। तर, मुलुकको जनसंख्या ३ करोड १२ लाख मान्ने हो भने ७७ प्रतिशतले मोबाइल बैंकिङ प्रयोग गरेको बुझिन्छ, जुन कुरा डिजिटल युगको क्रान्तिभन्दा हुन्छ।

त्यस्तै खाताको तुलनामा डेबिट कार्ड प्रयोगकर्ता २३ प्रतिशत जति देखिन्छ। जुन कुरामा अझै राम्रो गर्न सक्ने ठाउँ छ। तर, यसको प्रयोग विस्तारै कम हुँदै क्युआर सुविधा उपयोग गर्नेहरु ह्वात्तै बढेका छन्। यो माथिको तथ्यांकले क्रेडिट कार्डलाई हामीले बुझाउन नसकेको जस्तो देखिन्छ। उपयोगिता, फाइदा र विश्वसनीयतालाई बुझाउन सके यसमा धेरै गर्न सक्ने देखिन्छ। तर, पनि यसको पनि विस्तार राम्रोसँग नै भएको देख्न सकिन्छ।

यति हुँदाहुँदै पनि डिजिटल बैकको आवश्यकता , चुनौती र अवसरलाई यसरी उल्लेख गर्न सकिन्छ।

क) डिजिटल बैंकिङको आवश्यकता: नेपालमा डिजिटल बैंकिङको आवश्यकता विभिन्न कारणहरूमा आधारित छ। जुन कुरा दिन प्रतिदिन आवश्यक र उपयोगी बन्दै गइरहेको छ । केही प्रमुख कारणहरू यस प्रकार छन्-

  • सहज पहुँच र सुविधा: डिजिटल बैंकिङले कुनै पनि स्थान र समयमा बैंकिङ सेवा प्राप्त गर्न सजिलो बनाउँछ। यसले दुर्गम स्थानका बासिन्दाको पनि बैंकिङ सेवामा पहुँचका लागि मद्दत गर्छ। बैंक शाखामा जाने समय र यात्रा खर्चको बचत गर्न सहयोग पुर्‍याउँछ।
  • समयको बचत: बैंकिङका लागि लामो लाइनमा बस्नुपर्ने झन्झटबाट मुक्ति मिल्छ। अनलाइन भुक्तानी कारोबार छिटो हुन्छ, समय बचत गर्दछ। तत्कालीन भुक्तानी र रकम स्थानान्तरण गर्न सजिलो बनाउँदछ।
  • सुरक्षा र पारदर्शिता: डिजिटल बैंकिङले कारोबारमा पारदर्शिता ल्याउँछ। अनलाइन कारोबारले सुरक्षा व्यवस्थालाई बलियो बनाउँछ र नक्कली नोट तथा चोरीको सम्भावना कम गर्दछ। लेनदेनहरूको डिजिटल रेकर्डले लेखापरीक्षणलाई सजिलो बनाउँछ।
  • आर्थिक समावेशीकरण: डिजिटल बैंकिङले बैंकिङ सेवा प्राप्त गर्न नसक्ने मानिसहरूलाई पनि बैंकिङ प्रणालीमा समावेश गराउन सहयोग गर्दछ।
  • कोरोनाको प्रभाव: माहामारीको समयमा नगद कारोबारको जोखिमबाट बच्न डिजिटल बैंकिङको महत्त्व बढ्यो। यसले सुरक्षित र स्वस्थकर बैंकिङ वातावरण सुनिश्चित गर्‍यो।

डिजिटल बैंकिङको विकासले वित्तीय प्रणालीलाई आधुनिक र प्रभावकारी बनाउँछ। यसका लागि प्रविधि, शिक्षा र साइबर सुरक्षा लगायतका क्षेत्रहरूमा सुधार आवश्यक छ।

बिङ एआईबाट जेनेरेट गरिएको तस्बिर।

ख) डिजिटल बैंकिङका अवसरहरू

नेपालमा डिजिटल बैंकिङका अवसरहरू निम्न प्रकारका छन्-

  • आर्थिक वृद्धि: डिजिटल बैंकिङले आर्थिक क्रियाकलापलाई गति दिन्छ र देशको समग्र आर्थिक वृद्धिमा योगदान पुर्याउँछ। वित्तीय प्रविधिको विकासले नयाँ लगानीका अवसरहरू सिर्जना गर्दछ।
  • नयाँ सेवाहरूको विकास: डिजिटल बैंकिङको माध्यमबाट नयाँ-नयाँ वित्तीय सेवाहरूको विकास गर्न सकिन्छ। यो वित्तीय नवप्रवर्तनको लागि राम्रो अवसर हो। क्रिप्टोकरेन्सी र ब्लकचेन प्रविधिहरूको उपयोग गर्न सम्भव बनाउँछ।
  • व्यवसायको प्रवर्धन: डिजिटल बैंकिङले साना तथा ठूला व्यवसायहरूको कारोबार सजिलो र छिटो बनाउँछ। यसले व्यवसायिक गतिविधिहरूमा सकारात्मक प्रभाव पार्छ। ई-कमर्स र अन्य अनलाइन व्यापारहरूको विस्तार गर्न मद्दत गर्दछ।
  • रोजगारीका अवसर: डिजिटल बैंकिङको विस्तारसँगै नयाँ-नयाँ रोजगारीका अवसरहरू सिर्जना हुन्छन्। प्रविधि, सुरक्षा, सेवा विकास जस्ता क्षेत्रहरूमा दक्ष जनशक्तिको माग बढ्छ।  आईटी, साइबर सुरक्षा, र डिजिटल मार्केटिङ जस्ता क्षेत्रमा रोजगारीका अवसरहरू बढाउँछ।
  • वैदेशिक लगानी आकर्षण: आधुनिक वित्तीय प्रणालीले वैदेशिक लगानीकर्ताहरूलाई आकर्षित गर्न सक्छ। यसले देशको आर्थिक अवस्थालाई सुधार गर्न मद्दत गर्दछ।  नेपाललाई अन्तर्राष्ट्रिय वित्तीय मानचित्रमा स्थान दिन सक्छ।

ग) डिजिटल बैंकिङका चुनौती

नेपालमा डिजिटल बैंकिङका केही चुनौतीहरू निम्नानुसार छन्-

  • प्रविधि र पूर्वाधार: नेपालमा अझै पनि प्रविधि र पूर्वाधारको अभाव छ। इन्टरनेटको पहुँच र गतिको समस्याले डिजिटल बैंकिङमा चुनौती पैदा गर्दछ। उच्च गतिका इन्टरनेट सेवाहरूको अभावले ग्रामीण क्षेत्रका जनतालाई सेवामा पहुँच पुर्‍याउन कठिनाइ हुन्छ।
  • शिक्षा र सचेतना: अझै पनि धेरै मानिसहरूलाई डिजिटल बैंकिङको प्रयोगबारे जानकारी छैन। डिजिटल साक्षरताको कमीले पनि चुनौती थपेको छ। ग्रामीण क्षेत्रका जनतालाई डिजिटल बैंकिङको उपयोगबारे जानकारी गराउन कठिनाइ हुन्छ।
  • साइबर सुरक्षा: डिजिटल बैंकिङसँगै साइबर अपराधको जोखिम पनि बढेको छ। यो समस्यालाई सम्बोधन गर्न सशक्त साइबर सुरक्षा नीति र व्यवस्थापन आवश्यक छ।  व्यक्तिगत जानकारी चोरी, ह्याकिङ र अन्य साइबर अपराधहरूबाट सुरक्षाको आवश्यकता हुन्छ।
  • वित्तीय साक्षरता: वित्तीय साक्षरताको कमीले मानिसहरूलाई डिजिटल बैंकिङको फाइदा र जोखिमबारे जानकारी गराउन समस्या हुन्छ। जनतालाई डिजिटल बैंकिङ सेवाहरूको उपयोगमा सक्षम बनाउन थप शिक्षाको आवश्यकता छ।

चुनौतीका बाबजुद प्रवर्धन जरूरी

डिजिटल बैंकिङको विकासले वित्तीय प्रणालीलाई आधुनिक र प्रभावकारी बनाउँछ। यसका लागि प्रविधि, शिक्षा र साइबर सुरक्षा लगायतका क्षेत्रहरूमा सुधार आवश्यक छ। डिजिटल बैंकिङको सही उपयोगले मुलुकको समृद्धिमा योगदान पुर्‍याउन सक्छ।

त्यसकारण बैंकिङमा राम्रो लगानी गरि उपयोगी तरिकाले डिजिटल बैंकिङलाई उपयोग गर्न सकिन्छ। अत: डिजिटल बैंकिङलाई प्रवर्धन गर्नु आजको आवश्यकता हो।

(लेखमा उल्लिखित तथ्यांकहरू नेपाल राष्ट्र बैंकको चैत अन्तिम २०८० (अप्रिल २०२४) का सार्वजनिक डेटा तथा अन्य विश्वसनीय स्रोतहरूबाट संकलन गरिएका हुन्।)