
काठमाडौं। जापनिज गाडी निर्माता कम्पनी सुजुकीले थाइल्यान्डको रेयोङ प्रान्तस्थित आफ्नो प्लान्ट बन्द गर्ने भएको छ। सुजुकी मोटर कर्पोरेसनले सन् २०२५ सम्ममा उक्त प्लान्ट बन्द गर्ने घोषणा गरेको हो। यस्तो घोषणा गर्नुको कारण विश्वव्यापी रूपमा कार्बन तटस्थता र विद्युतीकरणलाई बढावा दिनु रहेको बताइएको छ।
कम्पनीले सन् २०११ मा थाइल्यान्डमा आफ्नो प्लान्ट लगाएको थियो। यसले उक्त प्लान्टबाट २०१२ देखि गाडी उत्पादन गर्न थालेको थियो। उक्त प्लान्टमा अहिले पनि ६ वटा मोडलका सुजुकीका गाडीहरु उत्पादन भइरहेका छन्। कम्पनीले गत वर्ष १० हजार ८ सय ७ युनिट थाइल्यान्डमा र १ हजार २ सय ७२ युनिट थाइल्यान्ड बाहिर बिक्री गरेको थियो।
सुजुकीले आसियान क्षेत्रका साथै जापान र भारतका प्लान्टहरूबाट तयारी (सीबीयू)हरू आयात गरेर थाइल्याण्डमा ग्राहकहरूको आवश्यकता पूरा गर्न आफ्नो बिक्री र बिक्रीपछिको सेवालाई जारी राख्ने बताएको छ। साथै, थाई सरकारले प्रवर्धन गरेको कार्बन तटस्थता लक्ष्यहरू प्राप्त गर्न योगदान गर्न कम्पनीले हाइब्रिडसहित विद्युतीकृत मोडेलहरू बढि बिक्री गर्ने जनाएको छ।
यसैबीच, थाइल्याण्डमा सुबारु कर्पोरेसनको स्थानीय निर्माता र वितरकले डिसेम्बर २०२४ को अन्त्यसम्ममा सबै मोडेलहरूको उत्पादन बन्द गर्ने योजना बनाएको घोषणा गरेका छन्। यसले पनि जापानबाट तयारी गाडीहरु आयात गर्नेछ।
थाइल्यान्डमा प्यासेन्जर सेग्मेन्टका गाडीहरुको बिक्री घट्दो क्रममा छ। जसमा २०१२ मा वार्षिक ६ लाख ७२ हजार ४६० युनिट बिक्री भएकोमा अहिले उक्त संख्या घटेर २०२३ मा २ लाख ९२ हजार ३८४ युनिटमा खुम्चिएको छ। यो भनेको १३० प्रतिशत कमी आएको हो। यस्तै फेडेरेसन अफ थाइ इन्डस्ट्रीजको तथ्यांक अनुसार जनवरीदेखि अप्रिलसम्म ८२ हजार ९ सय ३ युनिट मात्रै प्यासेन्जर सवारी बिक्री भएका छन्।
थाइल्यान्ड पनि अरु आसियन देशहरु जस्तै इभीतिर सिफ्ट भइरहेको छ। थाइल्यान्डले आफूलाई इभी उत्पादनको हब बनाउन अबको ४ वर्षभित्र यस क्षेत्रमा २८ अर्ब अमेरिकी डलरको लगानी भित्र्याउने योजना बनाएको छ। यसका लागि थाई सरकारले केही सहुलियतको प्याकेजहरु घोषणा गर्ने तयारी गरिरहेको छ। विद्युतीय सवारीको विश्व बजारमा निकै प्रभावशाली बनेको चिनियाँ कम्पनी बीवाइडी थाइल्याण्डमा आफ्नो प्लान्ट राख्ने योजनामा छ।