काठमाडौं। सुनको मूल्य दुई दिनदेखि स्थिर छ। साताको पहिलो दिन तोलामा ४ हजार रुपैयाँले घटेको सुनको कारोबार मूल्यमा त्यसयता घटबढ छैन। अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुनको मूल्य बढेको छ भने चाँदी घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले स्थानीय बजारमा चाँदीको कारोबार मूल्य घटाएको छ भने सुनको बढाएको छैन। अन्तर्राष्ट्रिय बजारको भाउअनुसार मंगलबार सुन तोलामा ४ सय रुपैयाँसम्म बढ्नु पर्नेमा महासंघले त्यसो नगरेको एक पदाधिकारीले बताए।
मंगलबार सुनको कारोबार मूल्य प्रति तोला एक लाख ४१ हजार रुपैयाँ नै कायम छ। यो गत आइतबार कायम मूल्य हो। यसअघि गत शुक्रबार प्रति तोला १ लाख ४५ हजार रुपैयाँ पुगेको थियो। चालु महिनाको प्रारम्भ र हालको मूल्य तुलना गर्दा तोलामा औसत ३ हजार ६ सय रुपैयाँ बढेको छ।
चाँदी तोलामा १० रुपैयाँले घटेको छ। मंगलबार कारोबार मूल्य प्रति तोला १ हजार ८ सय १५ रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सोमबार तोलाको १ हजार ८ सय २५ रुपैयाँ थियो।
चालु महिना सुरुको तुलनामा चाँदी तोलामा ७५ रुपैयाँ बढेको छ। बितेका वर्षको तुलनामा चाँदी पनि निकै महँगिएको हो।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बलियो भएको छ। मंगलबार सुन प्रतिऔंस २३०३.९५ डलर पुगेको छ। सोमबार २२९५.४७ डलरले कारोबार भएको थियो।
चाँदीको मूल्य थोरै घटेको छ। प्रतिऔंस २९.५४ डलरबाट घटेर २९.२६ डलरले कारोबार भइरहेको छ।