
काठमाडौं। मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षापछि जेठ ६ गते नेप्से परिसूचक ४५.४९ अंकले बढ्दा ५ अर्ब २० करोड ८२ लाख रुपैयाँको सेयर कारोबार भयो।
यो कारोबार रकम माघ १७ पछिको उच्च थियो। बियरिस ट्रेन्डमा रहेको बजारमा मौद्रिक समीक्षाले उत्साह ल्यायो। माघ १७ गते नेप्से २०९७.९३ विन्दुमा हुँदा ५ अर्ब २६ करोड रुपैयाँको सेयर किनबेच भएको थियो।
त्यतिखेर नेप्सेले उचाइ लिएर कारोबार बढेको भने होइन। त्यसअघि ३ दिन लगातार उकालो लागेको बजार माघ १७ गते २१.६७ अंकले घटेको थियो।
अहिले नेप्से २०७३.१९ अंकमा छ। बजार बियरिस ट्रेन्डमा छ। तैपनि उच्च कारोबारको रफ्तारमा भने ब्रेक लागेको छैन।
मौद्रिक नीति समीक्षापछि सेयर बजारमा ४ अर्ब बढीको कारोबारले निरन्तरता पाइरहेको छ। समीक्षापछि लगातार ५ दिन बढेर २१३१ अंकमा पुगेको नेप्से त्यसपछि ओरालो लागेको छ। तर, कारोबार रकम निरन्तर एउटै लयमा छ।
आइतबार नेप्से ४.५९ अंकले घट्दा ५ अर्ब १८ करोड ९० लाख रुपैयाँको सेयर कारोबार भयो। एनआरएन इन्फ्रास्ट्रक्चर सर्वाधिक ३२ करोड २ लाख, सीईडीबी हाइड्रोपावर २१ करोड १३ लाख र सिटी होटल १३ करोड ९७ लाख रुपैयाँको सेयर कारोबारसहित शीर्ष तीन कम्पनीको सूचीमा रहे।
राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो समीक्षामार्फत बैंक तथा वित्तीय संस्थाले सेयर बेच्न पाउने सीमा १ प्रतिशतबाट बढाएर २० प्रतिशत पुर्याएको छ। त्यस्तै, प्रोभिजनिङ रकम घटाएको छ। जसले बैंकहरुको खुद नाफा वृद्धि हुनेछ।
राष्ट्र बैंकले आगामी वर्षको मौद्रिक नीतिमार्फत कर्जा प्रवाहमा लचक नीति लिने लगानीकर्ता र निजी क्षेत्रको अपेक्षा छ।
अर्थन्त्री वर्षमान पुनले सार्वजनिक रुपमै बजेट र माौद्रिक नीतिको तालमेल मिल्ने बताउँदै आएका छन्। दुई वर्षदेखि शिथिल बनेको अर्थतन्त्र चलायमान बनाउन खुकुलो मौद्रिक नीति लिन उनले गभर्नर महाप्रसाद अधिकारीमाथि दबाब दिइरहेका छन्।
अधिकारीको पनि अर्थमन्त्री पुनसँग ट्युनिङ मिलेको देखिन्छ। उनले बजेटको प्रतिरक्षामा अभिव्यक्ति दिएर पुनले चाहेजस्तै मौद्रिक नीति ल्याउने संकेत गरिसकेका छन्। आगामी वर्षको मौद्रिक नीति अधिकारीको कार्यकालको अन्तिम हो।
वित्तीय क्षेत्रका जानकारहरु राष्ट्र बैंकले आगामी मौद्रिक नीति खुकुलो बनाउने संकेत देखाएका कारण लगानीकर्तामा उत्साह देखिएको बताउँछन्।
‘अर्थमन्त्री र गभर्नरले सार्वजनिक रुपमै मौद्रिक नीति खुकुलो आउने बताइरहेका छन्,’ वित्तीय क्षेत्रका जानकार अनलराज भट्टराईले भने, ‘कारोबार भोलुम निरन्तर एकैरुपमा अघि बढ्नु भनेको बजारमा त्यसकै प्रभावको हो। अहिले सेलिङ प्रेसर देखिंदैन।’
बजारमा माग र आपूर्ति उच्च रहेका कारण कारोबार भोलुमले उचाइ लिएको हो। लगानीकर्ता आशावादी देखिएका कारण डिमान्ड र सप्लाई बढेको सन सेक्युरिटीजका अध्यक्ष कृष्ण गिरीले बताए। ‘मौद्रिक समीक्षापछि लगानीकर्ता आशावादी देखिन्छन्। त्यही भएर अहिले माग बढ्दा सप्लाई बढेको छ,’ उनले भने।
सूचकहरु अहिले बजार अनुकूल छन्। बैंकिङ प्रणालीमा पर्याप्त तरलता छ। ब्याजदर एकल अंकमा आएको छ। तर, पनि बजार उकालो लाग्न भने सकेको छैन।
राष्ट्र बैंकले आगामी वर्षको मौद्रिक नीतिको तयारी थालेको छ। आर्थिक गतिविधि र मागमा देखिएको संकुचनका कारण राष्ट्र बैंक यस पटक नीतिगत अंकुश खुकुलो बनाउनुपर्ने दबाबमा छ।
दुई वर्षअघि सेयर धितो कर्जामा लगाएको सीमा हटाइएको छैन। सेयर धितो कर्जामा गरेको कडाइका कारण बजारले उचाई लिन नसकेको लगानीकर्ताहरुको तर्क छ।
चालु वर्षदेखि नीतिगत कडाइ किस्ता किस्तामा खुकुलो बनाइरहेको राष्ट्र बैंकले सेयर धितो कर्जामा अहिले १५/२० करोडको क्याप कायम राखेको छ।